काठमाडौं । सधै तनावपूर्ण सम्बन्धमा रहेका नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत र अर्को मित्र देश पाकिस्तानबीच अहिले युद्धको अवस्था सृजना भएको छ । गएको अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा आतंकवादीहरुबाट घटाइएको त्रासदीपूर्ण घटनापछि भारत–पाकिस्तान तिक्तता यष्ुद्धमा परिणत भएको छ ।
पाकिस्तानी आतंकवादी समुह लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद समूहले २५ भारतीय र एक नेपाली नागरिकको हत्या गरेपछि यो घटना पछिल्लो समय उत्कर्षमा पुगेको हो । भारतीय गुप्तचर निकायले यो हमलाको योजनाकार पाकिस्तानका पूर्व विशेष सेवा समूहका कमान्डर हाशिम मूसा भएको आरोप लगाउँदै गएको मंगलबार मध्यराति ‘अपरेशन सिन्दूर’ नामक सैन्य अभियान सुरु गर्याे । यसरी अपरेशन सुरु गर्दा पाकिस्तानतर्फ ४५ बढी पाकिस्तानीहरुको मृत्यु भइसकेको विभिन्न अन्तरराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
त्यसको जवाफी हमलामा पछिल्लो समय पाकिस्तानले पनि भारतीय वायुयान, ड्रोनलगायत निष्क्रिय पार्ने काम गरिरहेको छ । बुधबार राती पाकिस्तानले पनि भारतीय क्षेत्रमा जवाफी हमला गरेपछि १५ जनाको हताहत भएको बताइएको छ । यसरी हेर्दा पछिल्लो समय भारत र पाकिस्तानबीच युद्ध छेडिएको आभास हुन्छ । यो अवस्था कहिलेसम्म लम्बिने हो भन्ने भन्न सकिने अवस्था भने छैन । तर, यसले नेपालको अर्थतन्त्र र नेपालीको भान्छामा प्रत्यक्ष प्रभाव पार्ने निश्चितप्राय छ ।
यो तनावले दीर्घकालीन र तात्काकिल प्रभावहरू पार्न सक्ने अर्थविद्हरु बताउँछन् । नेपालको अर्थतन्त्र भारतसँग गहिरोरूपमा जोडिएको छ । नेपालले आफ्नो कुल अन्तरराष्ट्रिय व्यापारको करिब दुई तिहाइ भारतसँग गर्छ । चामल, गहुँ, दाल, चिनी, खाने तेल, मसला र अन्य आधारभूत खाद्यवस्तुहरूको ठूलो हिस्सा भारतबाट आयात हुन्छ । पछिल्लो तनावले सीमा व्यापारमा अवरोध निम्त्यायो या सीमा बन्द वा कडा सुरक्षा जाँचलगायत भएको खण्डमा यी वस्तुहरूको आपूर्ति शृंखला प्रभावित हुने निश्चित छ । विगतमा, २०१५ को भारत–नेपाल नाकाबन्दीले खाद्यवस्तु र इन्धनको मूल्यमा भारी वृद्धि भएको थियो । हालको तनावले पनि यस्तै परिदृश्य सिर्जना गर्न सक्ने निश्चित छ । जसले नेपाली भान्सामै ठूलो चाप पार्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।
इन्धन आपूर्तिमा सम्भावित समस्या नेपालको प्रमुख चिन्ता हो । नेपालले पेट्रोल, डिजेल र खाना पकाउने ग्यास पूर्ण रूपमा भारतबाट आयात गर्छ । भारत–पाकिस्तान तनावले भारतको आन्तरिक सुरक्षा प्राथमिकताहरू परिवर्तन गर्न सक्छ, जसले इन्धन निर्यातमा कमी वा ढिलाइ हुन सक्छ । खाना पकाउने ग्यास नेपाली भान्साको प्रमुख इन्धन हो । भारतमा हुने सुरक्षा चूनौतिका कारण यसको मूल्य बढ्ने देखिन्छ । इन्धनको मूल्यवृद्धिले भान्सा मात्रै नभई ढुवानी खर्च पनि बढाउँछ, जसले खाद्यवस्तुसँगै अन्य अत्यावश्यक वस्तुकोसमेत बजार मूल्यमा थप दबाब दिने थापा बताउँछन् ।
खासगरी नेपालको तराई र भारतीय सीमावर्ती बजारहरूबाट आउने तरकारी र फलफूलको आयात पनि प्रभावित हुन सक्ने उनी बताउँछन् । ‘युद्धले आन्तरिक बजारमा वस्तु अभावको डरले यत्तिकै पनि वस्तुको मूल्य केहि उकालो लाग्छ नै,’ उनले भने, ‘त्यसमाथि भारतको आन्तरिक बजारमै बढेको मूल्यको वस्तु नेपालमा भित्रिँदा झन् महंगो पर्ने र कतिपय वस्तुहरु अभावै हुने अवस्था आउन सक्छ ।’ प्याज, आलु, टमाटर र हरियो तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा कमी आएमा, बजारमा मूल्यवृद्धि उकालो लाग्ने उनी बताउँछन । सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था वा व्यापार अवरोधले यी वस्तुहरूको ढुवानीमा ढिलाइ हुन सक्छ । विशेषगरी निम्न र मध्यम आय भएका परिवारहरूले यस्तो मूल्यवृद्धिको मार खेप्नुपर्ने हुन्छ ।
रेमिट्यान्समा पर्न सक्ने प्रभाव पनि उत्तिकै चिन्ताजनक छ । नेपालको अर्थतन्त्र कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत रेमिट्यान्समा निर्भर छ । धेरै नेपालीहरू भारतमा निर्माण, सेवा, र अन्य क्षेत्रमा काम गर्छन् । यदि भारतको अर्थतन्त्रमा तनावको अवस्था सिर्जना भएको अवस्थामा यी कामदारहरूको रोजगारी गुम्ने वा आय घट्ने जोखिम छ । रेमिट्यान्समा कमी आएमा भारत निर्भर केहि नेपाली नागरिकहरुको क्रयशक्ति कमजोर हुने निश्चित छ । यो तनावले व्यापारिक कोटा र निर्यातमा पनि असर गर्न सक्छ । नेपालले भारतमा गलैंचा, जुट, र कृषिजन्य वस्तुहरू निर्यात गर्छ । यदि भारतले आफ्नो आर्थिक नीतिमा कडाइ ग¥यो भने, नेपालको निर्यातमा कमी आउन सक्ने चिन्ता थापा गर्छन् ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपालको भूमि आतङ्कवादी गतिविधिका लागि प्रयोग हुन सक्ने जोखिम औंल्याएका छन् । यस्तो अवस्थाले बजारमा अनिश्चितता र डरको वातावरण सिर्जना गर्छ, जसले उपभोक्ताहरूलाई आवश्यक वस्तुहरू जोहो गर्न उक्साउँछ र यसले मागको वृद्धि गरी मूल्यवृद्धिलाई थप प्रश्रय दिन्छ । अझ कतिपय अवस्थामा नेपालकै व्यापारीहरुले पनि भारत र पाकिस्तानको युद्धलाई देखाएर आन्तरिक बजारमा हाल समस्या नभएको अवस्थामा पनि वस्तुको मूल्यमा कृत्रिम अभाव गराई मूल्य बढाउनसक्ने जोखिम पनि उत्तिकै रहेको उनी बताउँछन् । यस्तै हाल भारतको एयरस्पेस पाकिस्तानले र पाकिस्तानको एयरस्पेस भारतले प्रयोग गर्न नपाईरहेको अवस्था छ । कालान्तरमा युद्ध बढ्दै जाँदा नेपालले पनि एयरस्पेस प्रयोग गर्न नपाएको अवस्थामा हवाईमार्गबाट आउने वस्तुहरुको मूल्य पनि सोही अनुसार बढ्ने उनी अनुमान गर्छन् । नेपाल दुई ठुला देशबीचको भूपरिवेष्ठित राष्ट्र भएकैले छिमेकी देशमा युद्ध हुँदा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । अझ नेपालले पछिल्लो समय स्वदेशी उत्पादन बढाउनुको सट्टा आयात बढाइरहेको अवस्थामा अर्थतन्त्रमा झन ठुलो प्रभाव देखापर्ने थापा बताउँछन् ।
समाधानको उपाय के ?
छिमेकी मुलुकमा युद्ध हुँदै गर्दा नेपालले भने यसबाट आइपर्नसक्ने प्रभावहरुको सुक्ष्म अध्ययन गरी सोहीअनुसार भविष्यको तयारी गर्नुपर्ने थापाको सुझाव छ । नेपाल सार्कको चेयर भएकाले दुबै देशबीचको युद्धका कसैको पक्ष विपक्ष नलिई सन्तुलित सम्बन्ध राख्नुपर्ने उनी सुझाउँछन् । अहिलेकै अवस्थामा ठूलो असर नपरिसकेको भएपनि भोलि युद्ध लम्बिएको अवस्थामा नेपाललाई गाह्रो पर्ने निश्चित भएको छ । त्यसैले नेपालले तत्काल अत्यावश्यक वस्तुको आयात छिटो छरितो र गर्न एलसी जारी गरी कम्तीमा पनि आगामी ३ महिनालाई आवश्यक वस्तु भण्डार गरिराख्नुपर्ने उनले बताए । यसले गरिब नागरिकलाई विशेष मार पर्ने भएकाले सरकारले चाँडोभन्दा चाँडो यसको तयारी गर्नुपर्नेबेला भएको उनको भनाई छ ।
युद्ध भईरहेको छ सामान आईरहेपनि केहि कालोबजारीहरुले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउन सक्छन् त्यसमा सरकार चनाखो हुनुपर्नेमा उनी जोड दिन्छन् । ‘अहिलेसम्म नेपालमा भारत–पाक युद्धको असर परेको छैन,’ उनले भने, ‘तर, त्यसको हल्लामा लागेर नेपालमा केहि विचौलिया तत्वहरुले फाईदा कमाउने समयको रुपमा प्रयोग गर्ने कुरामा सरकारले सुक्ष्म अनुसन्धान गर्नुपर्छ ।’ आफु धेरैभन्दा धेरै वस्तुमा आत्मनिर्भर हुने कुरामा जोड दिनैपर्ने अवस्था अब आएको उनले बताए । कतिपय खाद्यवस्तुहरुमा नेपाल युक्रेन, ब्राजिल, अर्जेन्टिना, भारतलगायतका देशमा निर्भर हुँदा समस्या छ । यस्तो समस्याबाट बाहिर निस्कन नेपालमै उत्पादन बढाउन सरकारले नै सहजीकरण गर्ने विदेशी लगानी भित्र्याउनेलगायतका कार्य गर्नुपर्ने उनी सुझाउँछन् ।