काठमाडौं । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को नौ महिनाका अवधिमा ४५ करोड ६६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ८ लाख ७१ हजार तीन सय १४, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय ९९, यातायात क्षेत्रको आम्दानीबाट ७ करोड १५ लाख ७६ हजार नौ सय ९२, सङ्घीयता तर्फ ३ करोड १४ लाख ९१ हजार ९ सय ५३ तथा बेरुजुबाट ८ हजार दुई सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो/ई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दत्र्ता गरेको थियो ।