Logo

नक्कली लाइसेन्स प्रकरणले सक्कली लाइसेन्स वितरण प्रभावित : कर्मचारी हिरासतमा, सेवाग्राहीलाई दुःख

नक्कली लाइसेन्स प्रकरणले सक्कली लाइसेन्स वितरण प्रभावित : कर्मचारी हिरासतमा, सेवाग्राहीलाई दुःख



काठमाडौं । नक्कली लाइसेन्स प्रकरणले सक्कली लाइसेन्स वितरण प्रभावित भएको छ । देशका विभिन्न स्थानमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) भेटिएसँगै अनुसन्धानका क्रममा कर्मचारी पक्राउ पर्न थालेपछि हाल विभिन्न कार्यालयमा दैनिक काम कारवाही प्रभावित भएको छ । जसका कारण लाखौंको संख्यामा पेन्डिङ रहेको लाइसेन्स वितरणको काम प्रभावित भएको छ ।

laxmi

सो प्रकरणमा हाल यातायात कार्यालयहरु र यातायात व्यवस्था विभागमा कार्यरत करिव १५ जना कर्मचारी हाल हिरासतमा छन् । अर्कै व्यक्तिको नाममा भएको लाइसेन्सलाई मोटो रकम लिएर नयाँ व्यक्तिको नाममा लाइसेन्स निकाल्ने गिरोह नै हाल प्रहरीको जिम्मामा छ । उनीहरुले नेपालभर करिव १ लाख नक्कली सवारी लाइसेन्स वितरण गरिसकेको हुनसक्ने आँकलन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले गरेको छ ।

यसरी नक्कली लाइसेन्स बनाएर वितरण गर्ने कर्मचारीको सूचीमा यातायात व्यवस्था विभागकै कर्मचारीहरुको पनि मिलेमतो रहेको पाइएपछि विभागमा पनि हाल असहज अवस्था छ । नक्कली लाइसेन्स लिने गिरोहमा विभागकै पूर्व महानिर्देशकका आफन्तदेखि नातेदारसम्मको संलग्नता रहेको सीआइबीले जानकारी दिएको छ । पूर्व महानिर्देशकका भान्जी, भाईलगायतलाई विभागमै करारमा जागिर लगाइएपछि यस्तो अवस्था निम्तिएको देखिन्छ ।

यसरी हेर्दा पछिल्लो महिना मात्रै विभागका करिव ८ करारका कर्मचारीहरु सीआइबीको फन्दामा परिसकेका छन् । हाल उनिीहरुमाथि सिआईबीले छानविन गरिरहेको छ । तर, यता विभाग र यातायात कार्यालयहरुबाट हुने काम हुन नसक्दा लाखौं सेवाग्राहीले दुःख भोग्नुपरेको छ ।

गत हप्ता मात्रै यातायात कार्यालय चावहिलले धेरै सेवाग्राहीहरुलाई सिस्टममा समस्या भएको र केही समय लाग्ने भन्दै सयौं सेवाग्राहीलाई पुनः प्रयोगात्मक परिीक्षा (रिट्रायल) दिनबाट बन्चित गर्याे । हाल कर्मचारीहरुमाथि छानविन भइरहेको र सिस्टममा केही समस्या भएका कारण रिट्रायलको राजस्व १५ दिनपछि मात्रै दिन आउनुभन्दै धेरै सेवाग्राहीलाई फकाईएको थियो । अर्थात सेवाग्राहीको काम नै १५ दिन धकेलिएको छ ।

यता यातायात व्यवस्था विभागले भने आफ्नो सिस्टममा कुनै समस्या नरहेको र यसरी सेवाग्राहीलाई मर्का पर्नेगरी काममा अवरोध हुने समस्या नआएको बताएको छ । ‘हाल हाम्रा इन्जिनियरहरु काममै हुनुहुन्छ, कसैलाई केही आरोप पनि लागेको छैन, केही करारका कर्मचारीहरु समातिनुभएको हो,’ विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले भने, ‘सिस्टममा गडबडी भएको भन्दै सेवाग्राही फर्काउनुपर्नेगरी केहि समस्या आएको जस्तो लाग्दैन ।’ उनका अनुसार यातायात कार्यालयहरुले बहाना बनाएर सेवाग्राहीहरु फर्काउन नमिल्ने हो । तर, चावहिल लगायतका धेरैजसो कार्यालयहरुले सोही कुरालाई देखाउँदै सेवाग्राहीहरु फर्काउने गरेको पाइएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल सिआइवीले छानविन गर्ने क्रममा केही लाइसेन्सको विवरणमा त्रुटी देखिएपछि ‘माइग्रेटेड एप’ प्रणालीमा भण्डारण भएका तर इडीएलएण्डभीआरएस प्रणालीमा एप्लिकेन्ट आइडी समान नरहेका केहि विवरणहरु भने हाल खारेज गरिएको छ । यस्तै विभागले बायोमेट्रिक लिन बाँकी १५ हजार ६ सय १५ वटा विवरण पनि हाल खारेज गरिएको बताएको छ । यसले पुनः प्रयोगात्मक परीक्षा दिन बाँकी रहेका र सक्कली निवेदनकर्ताहरुलाई भने कुनै असर नगर्ने देखिन्छ । तर, विवरण तलमाथि भएका सेवाग्राहीको विवरण खारेज गरिँदा सही विवरण प्रविष्ट गरेका सेवाग्राहीले समेत दुःख पाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL