Logo

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी



काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा– पानाबगर– रणवाङको सिमानासम्म सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस विछ्याएर कालोपत्र गर्न लागिएको हो ।

laxmi

विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्ने तयारी भएको जानकारी दिए । ‘विसं २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो’, उनले भने, ‘संरचना निर्माण, सब बेस राखिएको सडकमा केही दिनमा प्राइम कोट विछ्याउने तयारी भएको छ ।’

सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो । १८ महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आवमा रु चार करोड बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयका सडक इञ्जिनीयर सञ्जय सुवेदीले बताए ।

थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा विसं २०६३ मा सडक पुगेको थियो ।

बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलब ५ किलोमिटर दुरीको बेनी–सिमखण्डमा दुई वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने सुस्ताएको छ ।

विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रहेका प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले रणबाङ–दरवाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजीकरण गरिरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL