Logo

एयरलाईन्स कम्पनीको सिण्डिकेटले वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा, २५ हजारमा पाईने टिकटको मूल्य ७० हजार

एयरलाईन्स कम्पनीको सिण्डिकेटले वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा, २५ हजारमा पाईने टिकटको मूल्य ७० हजार



काठमाडौं । एयरलाईन्स कम्पनीहरुले सिण्डिकेट गरी आफुखुशी भाडादर तोक्दा वैदेशिक रोजगारीमा जाने कामदारहरु समस्यामा परेका छन् । पछिल्लो समय एयरलाईन्स कम्पनीले सीमित ट्राभल कम्पनीसँगको मिलेमत्तोमा टिकट बुकिङ गर्दै सिण्डिकेट गरेर वैदेशिक रोजगारीमा जाने कामदारलाई दोब्बरभन्दा बढी मूल्यमा बिक्री गर्दै आएका छन् ।

laxmi

सामान्यतया खाडी मुलुकमा जाँदा २५ हजारदेखि ३५ हजासम्ममा टिकट पाईन्छ भने अहिले पनि कतार, साउदी अरबलगायत मुलुकबाट फर्कँदा सोही दरमा हवाई टिकट पाइदै आएको छ । तर, नेपालबाट कामदार लैजादा हवाई कम्पनीहरुले सिण्डिकेट गरेर प्रतिटिकट ७० हजार रुपैयाँभन्दा बढी शुल्क लिन थालेका छन् ।

पछिल्लो समय हवाई कम्पनीहरुले सिमित ट्राभलसँग मिलेर टिकेटमा सिण्डिकेट गरेपछि नेपाल वैदेशिक रोजगारी व्यवसायी संघले विज्ञप्ती नै जारी गरेर विरोधमा उत्रिएको छ । ‘नेपालबाट वैदेशिक रोजगारीमा मलेसियालगायत खाडीका मुलुकहरुमा जाने श्रमिकहरु न्यून आय भएकाहरु रहेको अवगत नै छ । नेपाली श्रमिक लिने रोजगारदाताहरुले महँगीका कारण हवाई टिकट दिन नसक्ने अवस्था आएकाले एकातिर नेपालीले पाउने रोजगारी गुम्ने डर भएको छ भने आफैले टिकट काटनु पर्दा न्यून आय भएका श्रमिक मर्कामा परेका छन्,’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘पछिल्लो समय एयरलाईन्स कम्पनीले विना आधार भाडादर उच्च बनाएर श्रमिकमाथि शोषण गर्नुका साथै कालाबजारी गर्दै आएको छ ।’ पछिल्लो समय नेपालबाट दैनिक रुपमा १५ सयको हाराहारीमा कामदार वैदेशिक रोजगारीमा जाँदै आएका छन् ।

तर, एयरलाईन्स कम्पनी र ट्राभल कम्पनीहरुले त्यसैलाई मौकाको रुपमा प्रयोग गर्दै हवाई भाडा दोब्बरभन्दा बढीले वृद्धि गरी कालाबजारी गर्दै आएका छन् । ‘केही ट्राभल एजेन्सीको मिलेमतोमा एयरलाइन्सहरुले कृत्रिम अभाव खडा गरी अस्वभाविकरुपमा टिकटको मूल्य वृद्धि गरेर टिकटमा सिण्डिकेट गर्ने र टिकटको मूल्य दोब्बर बनाएर कामदारलाई अनावश्क रुपमा आर्थिक भार थुपार्दै आएका छन्,’ उक्त विज्ञप्तीमा भनिएको छ, ‘सरकारले उक्त कालोबजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमित टिकटको मूल्यमा कामदार जान पाउने व्यवस्था गराउने पहल गर्न अनुरोध गर्दछौं ।’

नेपालबाट जसरी पनि दैनिक १५ सयभन्दा बढी कामदार जाने भएकाले सिण्डिकेट गरी सिमित ट्राभल कम्पनीले पहिलै टिकट बुक गरेर ब्ल्याकमा बिक्री गर्दै आएको समेत सम्बद्ध व्यवसायीहरु बताउँछन् । सिण्डिकेट गरी अनियन्त्रितरुपमा हवाई भाडा वृद्धि गर्ने कार्यलाई रोकेर सुलभ दरको हवाई टिकट उपलब्ध गराउने व्यवस्था नगरिएमा श्रमिकहरु विदेश जान नपाउने हुँदा वैदेशिक रोजगारीको अवसर गुम्ने र यसले विदेशी मुद्राको सञ्चिति साथै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘यदि साच्चै महङ्गिएको हो भने के आधारमा महंगो भयो सो विषयमा जानकारी गराउनुपर्छ,’ उनले भने, ‘तर अहिले नियमित रुपमा टिकट काट्न खोज्दा सिस्टममा देखाउँदैन तर महंगो शुल्क तिर्न तयार भयो भने जतिपनि टिकट दिन्छन ।’

पछिल्लो समय सिमित व्यक्तिले सिण्डिकेट गर्दा मलेशिया तथा खाडिको रोजगारीमा जाने कामदारहरु समस्यामा परेको उनले जानकारी दिए । साथै संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई सुलभ मूल्यमा हवाई टिकट, खाना तथा पानी उपलब्ध गराउन आवश्यक पहल गरिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् । विशेषगरी मलेशिया र अरबमा अति न्यून आयस्तर भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

त्यसरी जाने कामदारलाई अधिकांश हवाई कम्पनीले पानी तथा खाना उपलब्ध नगराउने, एयरलाइन्सले विक्री गर्ने खाना पनि अत्यन्त महँगो हुने तथा रोजगारीमा जाने श्रमिकले ५ देखि ८ घण्टासम्म भोकभोकै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण मधुमेह तथा उच्च रक्तचाप भएका श्रमिकलाई यात्रा कठिन भइ स्वास्थ्यमा गम्भीर असर परिरहेको हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना तथा पानीको व्यवस्था गर्ने पहल गर्न मन्त्री समय आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL