Logo

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत



sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् ।

laxmi

सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका छन् । उनी सुहाङ भन्दा ५,८३० मतले पछि परे । त्यस्तै , स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४५७ मत प्राप्त गरेका छन् । उनी तेस्रोमा बने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो ।

एमालेले इलाममा सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको थियो । सुवास जस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन् । सुहाङ पेसाले अधिवक्ता पनि हुन् । बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ । उनी एमालेका कानुन विभाग सदस्य पनि हुन् ।

उनले यसलाई आफ्नो र पार्टीको मात्रै नभई सिङ्गो इलामेलीको जितको रुपमा लिएको बताएका छन् । ४२ वटा वडामा पुगेर मतदातासँग कुरा गर्दा पटक–पटक बुवालाई सम्झिएका सुहाङले जितपछि उनले भनेका छन्, ‘बुवाले जसरी इलामेली जनताको मनमा बसेर काम गर्नुभयो, म त्यसलाई कम हुन दिन्नँ ।’

रास्वपाका मिलन लिम्बूको जमानत जफत

इलाम क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ । लिम्बूले पाँच हजार ५० मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार इलाममा खसेको कूल मतको ६८ हजार ४७२ मत सदर भएको छ । यो अनुसार मिलनले ७.३७ प्रतिशत मात्रै मत पाए । इलाममा जम्मा एक लाख १५ हजार ८८९ मतदाता छन् । जसमध्ये गत शनिबार (वैशाख १५) भएको उपनिर्वाचनमा ६९ हजार ३७४ मत खसेको थियो ।

त्यसमध्ये ९०२ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL