Logo

चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्ष पुनः सुस्तायो, धूलोमैलोको सकस कहिलेसम्म ?

चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्ष पुनः सुस्तायो, धूलोमैलोको सकस कहिलेसम्म ?



काठमाडौं । लामो समयदेखि अलपत्र चक्रपथको दोस्रो खण्ड विस्तारको कामले अझै शुरु हुन सकेको छैन् । सो सडक विस्तानरको काममा तीव्रता दिनेभन्दै जुर्मुराएको चिनियाँ पक्ष पुनः सुस्ताएको छ । नेपाल कांग्रेस र नेकपा माओवादी गठबन्धनको सरकार ढलेर नयाँ नेकपा एमाले र माओवादीसहितका ५ दलीय गठबन्धनको सरकार बनेसँगै जुर्मुराएको चिनियाँ पक्ष पुनः एकाएक सेलाएको हो ।

laxmi

करिव ५ बर्षयता अलपत्र रहेको चक्रपथको दोश्रो खण्ड (कलंकीदेखि बसुन्धारासम्म) विस्तारको काम पुनः सुरु गर्ने प्रतिवद्धता गएको चैतमा चिनियाँ पक्षले गरेको थियो । सरकार गठन भएसँगै नयाँ आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेट्दै अब काम सुरु हुने प्रतिवद्धता जाहेर गरेका थिए । गत चैत ५ गते चिनियाँ राजदूतसहितको टोलीले मन्त्री महासेठलाई भेट्दै चक्रपथ विस्तारको काम अब सुरु हुने प्रतिवद्धता जाहेर गरेका थिए ।

सो भेटपछि चिनियाँ पक्षले अर्थमन्त्रालयमार्फत अनुदान कार्यान्वयनका विषयमा आफ्नो कुटनीतिक नोट पठाएको थियो । उक्त नोट अर्थमन्त्रालय हुँदै भौतिक मन्त्रालय र सडक विभागसँग पुगेर यसको राय दिने कामसमेत भइसकेको छ । त्यसमा सम्पूर्ण अध्ययन गरी अर्थमन्त्रालयमार्फत पुनः चिनियाँ पक्षलाई बुझाइसकेको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीले बताए ।

उनका अनुसार उक्त नोटमा राय दिएर पठाएपनि हालसम्म यसको निर्णय वा जवाफ भने आइसकेको छैन । नेपाली पक्षले चक्रपथ दोस्रो खण्डको सबै क्षेत्रमा साइट क्लियर गरिसकेपछि चिनियाँ पक्षले काम सुरु गर्नुपर्ने भएपनि हालसम्म मौन रहेको चिनियाँ पक्ष नयाँ सरकारसँग सक्रिय देखिएको थियो । कोरोना महामारी, साइट क्लियरिङको लफडालगायतमा झमेला गरिरहेको चिनियाँ पक्ष पुनः पुरानै अवस्थामा फर्किएको छ । चिनियाँ सरकारको अनुदान रकममा अघि बढाउन लागिएको चक्रपथ दोस्रो खण्डको विस्तारमध्ये साइट क्लियरिङको काम सबै र सर्भिस ट्र्याकको काम भने नेपाली पक्षले केही स्थानमा गरिसकेको छ ।

यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारलगत्तै चिनियाँ टोलीले दोस्रो खण्ड (कलंकी–बसुन्धारा) को काम सुरु गर्ने बताएको थियो । तर, त्यसका लागि नेपाली पक्षले पहिले उक्त क्षेत्रमा देखिएका समस्या सल्टाउने, साइट क्लियर गर्ने र सर्भिस लेन बनाईदिनुपर्ने शर्त राखेको थियो । दायाँबायाँको सर्भिस लेनबाहेक बीचको ६ लेन अर्थात २५ मिटर खण्डका लागि साइट क्लियर गर्नुपर्ने शर्त राखेको चिनियाँ पक्षले साइट क्लियर हुँदापनि काम सुरु गर्ने छाँटकाँट देखाएको थिएन ।

चिनियाँ पक्षको शर्तअनुसार नै नेपाली पक्षले साइट क्लियर गरेको १ बर्ष वितिसकेको छ । तसर्थ नेपाली पक्षले गर्नुपर्ने कामका लागि बजेट अभाव र चिनियाँ पक्षको मौनताले चक्रपथको ८.४ किलोमिटरमा पर्ने कलंकी बसुन्धारा क्षेत्र धुलाम्य र हिलाम्य हुने गरेको छ । यो सडकमा गुड्ने यात्रुले धुलो र हिलोको सास्ती खेप्नुपरेको देखिन्छ ।

चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो परेपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कल्भर्टसम्ममा सीमित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL