Logo

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य, ७० दिन चलेको अधिवेशनमा तीनवटा विधेयकमात्रै पारित

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य, ७० दिन चलेको अधिवेशनमा तीनवटा विधेयकमात्रै पारित



काठमाडौँ । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

laxmi

सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी बैठक अन्त्य गरिएको घोषणा गरे । ७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएका थिए । प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भएको थियो । दोस्रो भन्दा तेस्रो अधिवेशन कानून निर्माणका हिसाबले राम्रो भए पनि पर्याप्त नभएको सभामुख घिमिरेले बताए ।

सङ्घीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । सभामुख देवराज घिमिरेले सो अधिवेशनमा भएको कामको आइतबार प्रतिनिधि सभा बैठकमा संक्षिप्त जानकारी गराउँदै सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित भएको बताउनु भयो । अन्य ६ वटा विधेयकहरु भने सम्बन्धित समितिमा विचाराधीन रहेका छन् ।

यसैगरी, सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको सामान्य छलफल सकिएपछि सो पारित हुन सकेको छैन । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८० र बैंक तथा वित्तिय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० प्रतिनिधि सभामा सभामा प्रस्तुत भएको र अर्को महत्त्वपूर्ण विधेयक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० दर्ता मात्र भएको स्थितिमा रहेको बताए ।

जम्मा ७० दिन चालु रहेको सो अधिवेशनमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनका लागि पेश मात्रै गरिएको छ । सभाको यस अवधिमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम दुई पटक भएका छन् । यसैगरी, दुई वटा सन्धि सम्झौताहरु मध्ये बिमस्टेक बडा पत्रलाई मिति २०८० चैत्र २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धी सम्झौता सम्बन्धी सामान्य छलफल प्रारम्भ गरिएका छन् ।

यसैगरी, मिति २०८० फागुन १४ गतेको बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकमाथि २०८० चैत्र १, ५ र ६ र ७ गतेको सभाको बैठकमा छलफल गरिएको पनि सभामुख घिमिरेले जानकारी दिए । अधिवेशनमा प्रतिनिधि सभाका सांसद मञ्जु अन्सारी र संविधानसभा सदस्य केशवबहादुर बुढाथोकीको निधनमा शोक प्रस्ताव समेत पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL