Logo

मुग्लिन-पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने

मुग्लिन-पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने



काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ ।

laxmi

adउक्त खण्डको करिब छ ठाउँमा वर्षाअघि कालोपत्र नगरिने मुग्लिन–पोखरा सडक विस्तार आयोजना पूर्वी खण्ड प्रमुख श्यामकुमार यादवले जानकारी दिए । “पूर्वी खण्डको अन्तिम विन्दुबाट म्याग्देको जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको छ,” उनले भने, “उक्त स्थानमा करिब तीन किलोमिटर कालोपत्र गरिसकिएको छ ।”

उनका अनुसार एकतर्फी २८ किमी र दुईतर्फी करिब १५ किमी कालोपत्र भइसकेको छ । कालोपत्र कार्यलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको छ । यस खण्डको हालसम्म करिब ५५ प्रतिशत कार्य प्रगति भएको छ । अहिले वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३-२३ मिटर सडक विस्तारको कार्य भइरहेको छ ।

दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ । पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको अन्तिम म्याद विसं २०८१ वौशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ । पृथ्वी राजमार्ग सडक विस्तार कार्य पूर्वी र पश्चिम गरी दुई खण्डमा भइरहेको छ ।

पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

उक्त सडक खण्डको हालसम्म करिब १९ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । यस खण्डमा दुई लेनको साढे सात किमी सडक कालोपत्र भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL