Logo

नेपालमै पेट्रोलियम निकाल्ने चटारो, अन्वेषणका लागि साइटमा उपकरण पुर्याउन एस्काभेटरदेखि क्रेनसम्म तैनाथ

नेपालमै पेट्रोलियम निकाल्ने चटारो, अन्वेषणका लागि साइटमा उपकरण पुर्याउन एस्काभेटरदेखि क्रेनसम्म तैनाथ



काठमाडौं । केही वर्षयता चिनियाँ सहयोगमा नेपालमा पेट्रोलियम अन्वेषणको काम भइरहेको छ । दैलेखको श्रीस्थान, नाभिस्थानस्थान, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेलगायतका स्थानमा पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा विभिन्न चरणमा अन्वेषणको काम भइरहेको छ । जसमा चिनियाँ सरकारको अनुदान सहयोगमा दैलेखको श्रीस्थान, नाभिस्थानस्थानमा पेट्रोलियम अन्वेषणको अन्तिम चरणको काममात्रै बाँकी छ ।

laxmi

अन्वेषण्कै क्रममा सडक विभागले दैलेखको श्रीस्थान, नाभिस्थानसम्म ठूला उपकरण लैजान सडकको स्तरोन्नतिमा हेलचेक्र्याईँ गरिदिँदा पेट्रोलियम अन्वेषणको काम नै अल्झिदा ढिलाई हुँदै आएको थियो । यसअघि गत बर्ष नै आयोजनासम्म पुग्नका लागि आवश्यक सडक चौडा गर्ने काम सुरु गरेको विभागले सडक चौडा बनाएको भनिएपनि हालसम्म पनि सडक भनेबमोजिम स्तरोन्नति नगरिदिँदा उपकरण साइटसम्म पुर्याउन सकस भइरहेको छ ।

चाइना जिओलोजिकल सर्भेले पेट्रोलियम अन्वेषण गरिरहेको उक्त स्थानमा साना करिव १ सय र ठूला ४० बढी गाडीमार्फत उपकरण पुग्दैछन् । सोमबारसम्म मात्रै नेपालगञ्ज भन्सारबाट अन्वेषण हुने स्थानसम्म ६० ओटा साना गाडी र ७ ओटा ठूला गाडीमा उपकरण पुगिसकेको छ । साना गाडीहरुका लागि बाटो ठिकै भएपनि ठूला गाडी अर्थात ४२ फुट गाडीका लागि बाटो अत्यन्तै जोखिमयुक्त रहेको आयोजना प्रमुख दिनेश कुमार नापित बताउँछन् ।

उनका अनुसार साना गाडीहरुबाट सामान ओसार्ने काम केहि दिन सकिन्छ । तर, ठूला उपकरणहरुका लागि भने अझै त्यो बाटो जोखिमयुक्त नै छ । ‘हामीले नेपालगंजबाट साइटसम्म अझै करिव ३५ ठूला गाडी पुर्याउन बाँकी छ,’ उनले भने, ‘हालसम्म आइपुगेका गाडी निकै सकसका साथ आइपुगेका छन्, बाँकी आउनका लागि केहि स्थानमा सडक चौडा गर्दैछौं ।’

खासगरी डेढ बर्ष अघि नै सडक विभागलाई सडक चौडा गर्न अह्राएपनि भनेबमोजिम काम नगरिदिँदा यो समस्या आएको उनी बताउँछन् । ठूला गाडीहरु आउँदै गर्दा बाटोमा आइपर्ने जोखिम न्यूनीकरणका लागि चिनियाँ पक्षले नै सडक चौडा गर्ने काम गरिरहेको उनी बताउँछन् । सडक विभागको जिम्माको काम पनि चिनियाँ पक्षको खर्चमा भइरहेको उनले बताए ।

हाल यस्ता ठूला गाडीहरु साइटसम्म पुर्याउनका लागि बाटोमा गाडीसँगै एस्काभेटर र क्रेन पनि संगै तैनाथ गरिएको उनी बताउँछन् । ‘नेपालगंजदेखि सुर्खेतको बड्डीचौरसम्म बाटो राम्रो छ त्यसपछि भने जोखिमयुक्त छ,’ उनले भने, ‘सबैभन्दा बढी जोखिम पादुका खोलाको मोडहरुमा छ, यहाँ धेरै मोडहरु साँघुरो र त्यसमाथि कच्ची बाटो हुँदा ठूला गाडीहरुलाई मोड्न नै अप्ठ्यारो हुने गरेको छ ।’ केहिदिन अघि मात्रै एउटा ठुलो ट्रक पनि पादुकाको मोडमा कोल्टे परेको उनले बताए ।

प्रथम चरणका सबैजसो अन्वेषण सम्पन्न भइसकेको उक्त स्थानमा अब अन्तिम चरणको ड्रिलिङ सर्भे मात्रै बाँकी छ । सोही सर्भेका लागि भन्दै चीनबाट ड्रिलिङ उपकरण भारतको कलकत्ता हुँदै नेपालगञ्जको भन्सारसम्म गत महिना नै आइपुगेका थिए । खासगरी गत बर्ष नै यस्तो उपकरणहरु ल्याएर ड्रिलिङ सर्भेको काम अघि बढाउन चाहेको चिनियाँ पक्षका लागि साइटसम्म पुग्ने सडक तगारो बनिरहेको थियो ।
आयोजनाले सडक विभागसँग सडक चौडा गरिदिन आग्रह गरेसँग चौडा गर्ने काम सुरु भएपनि डेढ बर्षसम्म विभागले यसको काम नसकेको हो । तर, चिनियाँ पक्षले भने सामान नेपालसम्म ल्याइपुयाइसकेपछि साइटसम्म पुर्याउने काम हाल भईरहेको छ । ड्रिलिङ सर्भेका लागि भन्दै आयोजनामा करिव ४ किलोमिटर गहिरो कुवा (वेल) खनिनेछ । जसका लागि करिव ५ महिनाको समयावधि लाग्ने बताइएको छ । त्यसैका लागि भन्दै चिनियाँ पक्षले चीनबाट १ सय ५० बढी गाडी उपकरण नेपाल ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL