Logo

सरकार परिवर्तनसँगै चक्रपथ विस्तारको काममा तीव्रता दिँदै चिनियाँ पक्ष, अर्थमन्त्रालयलाई कुटनीतिक नोट

सरकार परिवर्तनसँगै चक्रपथ विस्तारको काममा तीव्रता दिँदै चिनियाँ पक्ष, अर्थमन्त्रालयलाई कुटनीतिक नोट



काठमाडौं । विभिन्न कारणले अलपत्र परेको चक्रपथ विस्तार अन्तर्गत कलंकी–बसुन्धारा क्षेत्रको काम अब सुरु हुने भएको छ । सो सडक विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले करिव पाँच वर्षदेखि कोरोनालगायतका बहानामा काम नगरिरहेको सन्दर्भमा नेपालमा सत्ता समीकरण परिवर्तन भएसँगै भने चिनियाँ पक्ष सक्रिय भएको बताइएको छ ।

laxmi

यससँगै बहुप्रतिक्षित चक्रपथ विस्तारको दोस्रो खण्डको काम चाँडै सुरु हुने छाँटकाँट देखिएको चक्रपथ विस्तार आयोजना स्रोतले जानकारी दिएको छ । खासगरी यो आयोजनामा नेपाली पक्षले गर्नुपर्ने सबैजसो काम अन्तिम चरणमा पुर्याइसकेपछि काम सुरु गर्न आग्रह गरिरहँदा पनि नसुनेझैँ गरेको चिनियाँ पक्षले यसको कामका लागि पछिल्लो समय तीव्रता स्रोतको दाबी छ । नयाँ सत्ता समीकरणमार्फत आएका नयाँ भौतिक व्यवस्था मन्त्री रघुवीर महासेठलाई चैत ५ गते चिनियाँ राजदूतसहितको टोलीले भेट्दै चक्रपथ विस्तारको काम अब सुरु हुने प्रतिवद्धता जाहेर गरेका थिए ।

सोहीअनुसार चिनियाँ पक्षले केहिदिन अघिमात्रै अर्थमन्त्रालयमा कुटनीतिक नोट पठाएको छ । चिनियाँ पक्षले सडक विस्तार गर्ने प्रयोजनका लागि डिप्लोमेटिक नोट पठाएको जानकारी आएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीले बताए । ‘चिनियाँ पक्षले अर्थमन्त्रालयमार्फत हामीलाई कुटनीतिक नोट पठाएको जानकारी हामीले पाएका छौं,’ उनले भने, ‘यद्यपि त्यो नोट हामीकहाँ आइपुगेको छैन नोट आएको खण्डमा त्यसमा अध्ययन गरी राय दिएर पठाउने कार्य गर्नेछौं ।’

यता अर्थमन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव मुक्तिराम आचार्यले पनि केहिदिन अघि अर्थमन्त्रालयमा आएको उक्त डिप्लोमेटिक नोट आवश्यक राय सुझावका लागि भौतिक मन्त्रालयमा पठाएको बताए । ‘खासगरी चक्रपथ विस्तार चिनियाँ अनुदान रकममा निर्माण हुने भएकाले अनुदान सम्बन्धी डिप्लोमेटिक नोट हामीकहाँ आएको थियो,’ उनले भने, ‘हामीले उक्त नोट भौतिक मन्त्रालयमा पठाएका छौं ।’ उनका अनुसार चिनियाँ पक्षले चक्रपथ विस्तारका लागि आवश्यक दोस्रो चरणको काम सुरु गरेको छ । अर्थात नेपाली पक्षले उक्त क्षेत्रमा साइट क्लियर गरिसकेपछि चिनियाँ पक्षले काम सुरु गर्नुपर्ने भएपनि हालसम्म मौन रहेको चिनियाँ पक्ष अब भने सक्रिय भएको देखिन्छ । सामान्य फिजिविलिटी रिपोर्टको आधारमा पठाइएको लेटर अफ नोट भौतिक मन्त्रालय हुँदै सडक विभाग पुग्ने उनले बताए । त्यसपश्चात सम्बन्धित निकायबाट आवश्यक राय आईसकेपछि अर्थमन्त्रालयले उक्त नोटलाई परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई बुझाउने उनको भनाई छ ।

यता भौतिक मन्त्रालयका सचिव केशव शर्मा चिनियाँ पक्षसमक्ष मन्त्रालयले सकेसम्म चालु आवमै निर्माणको काम सुरु गर्न आग्रह गरेको बताउँछन् । ‘यसमा केही कुटनीतिक विषय पनि हुने भएकाले के कारणले ढिलाई भएको हो भन्न सकिने अवस्था अझै छैन,’ उनले भने, ‘तर, हामीले सकेसम्म चालु आवमै काम सुरु गरौं भनेका छौं ।’ नेपाल पक्षबाट चिनियाँ पक्षले पठाएको नोटमा राय सुझावपछि चीनले नै चक्रपथ विस्तारको दोस्रो खण्डको डिपीआर तयार पार्ने सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीले बताए । खास नेपालबाट राय गइसकेपछि चिनियाँ पक्षले डिपीआर निर्माणका लागि कन्सल्ट्यान्ट हायर गर्ने र सोही अनुसार डिपिआरको काम हुने उनले बताए । यसका लागि न्यूनतम ६ महिनाको समय लाग्ने र त्यसपश्चात मात्रै निर्माण कम्पनी छनोट गरी काम सुरु हुने उनले बताए । तर, कोरोना महामारी, साइट क्लियरिङको लफडालगायतमा झमेला गरिरहेको चिनियाँ पक्षले पछिल्लो समय यसको निर्माणमा सक्रियता भने देखाएको अधिकारीहरु बताउँछन् ।

चिनियाँ सरकारको अनुदान रकममा अघि बढाउन लागिएको चक्रपथ दोस्रो खण्डको विस्तारमध्ये साइट क्लियरिङको सबै काम र सर्भिस ट्रयाकको काम भने नेपाली पक्षले केही स्थानमा गरिसकेको छ । यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारलगत्तै चिनियाँ टोलीले दोस्रो खण्ड (कलंकी–बसुन्धारा) को काम सुरु गर्ने बताएको थियो । तर, त्यसका लागि नेपाली पक्षले पहिले उक्त क्षेत्रमा देखिएका समस्या सल्टाउने, साइट क्लियर गर्ने र सर्भिस लेन बनाईदिनुपर्ने शर्त राखेको थियो । दायाँबायाँको सर्भिस लेनबाहेक बीचको ६ लेन अर्थात २५ मिटर खण्डका लागि साइट क्लियर गर्नुपर्ने शर्त राखेको चिनियाँ पक्षले साइट क्लियर हुँदापनि काम सुरु गर्ने छाँटकाँट देखाएको थिएन ।

चिनियाँ पक्षको शर्तअनुसार नै नेपाली पक्षले साइट क्लियर गरेको १ बर्ष वितिसकेको छ । तसर्थ नेपाली पक्षले गर्नुपर्ने कामका लागि बजेट अभाव र चिनियाँ पक्षको मौनताले चक्रपथको ८.४ किलोमिटरमा पर्ने कलंकी बसुन्धारा क्षेत्र धुलाम्य र हिलाम्य हुने गरेको छ । यो सडकमा गुड्ने यात्रुले धुलो र हिलोको सास्ती खेप्नुपरेको देखिन्छ । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो परेपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कल्भर्टसम्म पुर्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL