Logo

पुँजी कोष व्यवस्थापनमा सकसमा रहेका बैंकहरुलाई के हुन सक्छ विकल्प ?

पुँजी कोष व्यवस्थापनमा सकसमा रहेका बैंकहरुलाई के हुन सक्छ विकल्प ?



काठमाडौं । नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई पुँजी कोष व्यवस्थापन गर्न सकस परिरहेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म तीन वाणिज्य बैंकको पुँजी कोष नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि तल रहेको छ । आर्थिक वर्ष २०८१–०८२ मा बैंकहरुले प्राथमिक पुँजी कोष ८.५ प्रतिशत, ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर र त्यसमा २.५ प्रतिशत पुँजी पर्याप्त अनुपात ११.५ प्रतिशत कायम गर्नुपर्ने हुन्छ ।

laxmi

बैंकहरुले पुँजी कोष ८.५ मा ०.५ प्रतिशत बउन्टर साइक्लिकल बफर थपेर ९ प्रतिशत प्राथमिक पुँजीकोष व्यवस्थापन गर्न सकेन्न भने आगामी आर्थिक वर्षमा आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्न सक्दैनन् । यस्तो अवस्थामा बैंकहरुका लागि पुँजी कोष व्यवस्थापन अहिले चुनौती बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाले पुँजीकोष व्यवस्थापनलाई सहज गर्नको लागि प्राथमिक पुँजी (एफपीओ) र हकप्रद सेयर जारी गर्न सक्छन । तर, बैंकहरुलाई एफपीओ र हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले कडाई गरेको छ ।

यसैगरी बैंकहरुले आफ्नो पुँजी कोष व्यवस्थापन गर्न अग्राधिकार सेयर पनि जारी गर्न सक्ने बैंकर भुवन दाहाल बताउँछन । संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर (प्रिफेरेन्स सेयर) भनिन्छ । जुन बैंकहरुले जारी गर्न सक्ने व्यवस्था रहेको छ । नबिल बैंकले यस्तो सेयर निष्कासन गर्ने तयारी पनि गरिसकेको छ । अग्राधिकार सेयरमा सेयरपुँजी तथा ऋण दुवैको मिश्रित विशेषता हुने गर्दछ ।

अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नुपर्ने हुन्छ भने यो समूहको सेयरधनीले साधारण सेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्ने हुन्छ । अग्राधिकार सेयर संस्थाको पुँजीको रूपमा रहने भएतापनि सेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुँदैन । तर, यसमा निश्चित दरमा लाभांस प्राप्त गर्ने अधिकार यस प्रकारको सेयरधनीलाई हुने दाहाल बताउँछन ।

कस्तो छ बैंकहरुको अवस्था ?

हाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल प्राथमिक पुँजी कोष भएका ३ वटा बैंक रहेका छन । कुमारी बैंक, एनआईसी एसिया बैंक र प्रभु बैंकको प्राथमिक पुँजी कोष ८.५ प्रतिशतभन्दा तल रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुमारी बैंकको प्राथमिक पुँजी कोष ८.०३ प्रतिशतमात्र छ । यसैगरी, एनआईसी एसिया बैंकको प्राथमिक पुँजी कोष ८.०४ प्रतिशत र प्रभु बैंकको प्राथमिक पुँजी कोष ८.१२ प्रतिशत रहेको छ । बैंकको प्राथमिक पुँजी कोष पुगेन भने बैंकले आफ्ना लगानीकर्तालाई लाभाँश बाँड्न पाउँदैन ।

यसैगरी, बैंकले पुँजी कोष व्यवस्थापन गर्न नसक्दा कर्जा विस्थार पनि गर्न सक्दैन । बैंकको व्यवसाय नै कर्जा दिएर ब्याज आम्दानी गर्नु हो । तर, नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरु पैसा भएर पनि कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेको छ । बैंकहरुले निक्षेपको (सीडी रेसियो) ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । तर, नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार हाल त्यस्तो कर्जा निक्षेपको ७९.९९ प्रतिशतमात्रै छ । यसरी वित्तीय क्षेत्रमा निक्षेप र तरलताको थुप्रो लाग्दा पनि पुँजी कोष पर्याप्त नहुँदा बैंकहरु ऋण दिनसक्ने अवस्थामा छैनन् ।

पछिल्लो केहि समय यता बैंकहरुले ऋण असुलीमा समस्या भोगिरहँदा निष्क्रिय कर्जा बढेर पूँजीकोषमा दबाब बढ्दै गएको हो । निष्क्रिय कर्जा बढ्दै जाँदा सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन रकम बढ्दै गएको छ । यस्तै उठ्नुपर्ने ब्याज उठाउन नसक्दा बैंकहरु सञ्चित नोक्सानीमा पुगेका छन् । सोही कारण बैंकहरु पुँजी पर्याप्तता अनुपातको प्राथमिक पँुजीकोष निर्धारितभन्दा पनि तल झरेको हो ।

बैंकहरुको प्राथमिक र पुरक पुँजी कोष तथ्यांकमा

प्रतिक्रिया दिनुहोस्
MBL