Logo

अर्थको ढिलाईले नाकामा रोकिए चीनबाट आएका ३५ कन्टेनर, उपकरण रोकिदा पेट्रोलियम अन्वेषणमा ढिलाई

अर्थको ढिलाईले नाकामा रोकिए चीनबाट आएका ३५ कन्टेनर, उपकरण रोकिदा पेट्रोलियम अन्वेषणमा ढिलाई



काठमाडौं । अर्थमन्त्रालयले भन्सार कार्यालयलाई एउटा पत्र पठाउन ढिलाई गरिदिँदा पछिल्लो १ हप्तादेखि नेपालगंजको जमुनाहा नाकामा चीनबाट आएका ३५ कन्टनेर रोकिएका छन् । दैलेखको श्रीस्थान, नाभिस्थानमा पेट्रोलियम अन्वेषणका लागि चाइना जिओलोजिकल सर्भेले ल्याएको ड्रिलिङ उपकरणहरु भन्सारमै अड्किएका हुन् ।

laxmi

खानी तथा भूगर्भ विभागले गएको माघ २१ गते अर्थमन्त्रालयमा उक्त सामान विभागको नाममा आयात गर्नका भन्सार छुटको निर्णय गरिदिन आग्रह गरेको थियो । विभागले मन्त्रालयमा उक्त पत्र पठाएको १ महिना बढी बितिसक्दा पनि मन्त्रालयले उक्त भन्सार छुटको निर्णय नगरिदिँदा समस्या निम्तिएको छ ।

खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितका अनुसार अर्थमन्त्रालयले निर्णय गरिदिन ढिलाई गरिदिँदा भन्सार नाकामै सामान रोकिएको र पेट्रोलियम अन्वेषणमै ढिलाई भईरहेको छ । खासगरी परियोजनाले मार्च अन्तिसम्ममा सबै उपकरणहरु जडान गरी दैलेखमा पेट्रोलियमको ड्रिलिङ सर्भे सुरु गर्ने योजना बनाएको थियो ।

परियोजनामा ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरणका करिव १ सय ५ गाडी चीनबाट भारतीय बाटो हुँदै नेपाल आइरहेका छन् । त्यसमध्ये मंगलबार बिहानसम्म जमुनाहा नाकामा ३५ कन्टेनर आइपुगेको र कागजी प्रक्रिया अझै नमिलेकाले नाकाको यार्डमै सामान सुरक्षित राखिएको नेपालगंज भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए । उनका अनुसार खानी विभागले पत्र पठाएर आग्रह गरेसँगै भन्सार कार्यालयले आइसीपी र भन्सार यार्डमा सुरक्षित साथ राखिएको छ ।

खासगरी गत असोज २२ गते अर्थमन्त्रालयले गरेको निर्णयमा चाइना जियोजिकल सर्भेका नाममा उपकरण आयात हुँदा भन्सार छुटको पत्र पठाएको थियो । तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनुपर्ने भन्दै अर्थ मत्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो । तर खानी विभागले पछिल्लो समय भने यस्तो भन्सार छुटको पत्र पठाउनुपर्ने भन्दै आग्रह गरेको थियो । उक्त नाम परिवर्तनको पत्र मात्रै मन्त्रालयले भन्सारलाई पठाएको खण्डमा सामान भन्सारबाट छुट्ने देखिन्छ । यद्यपि मन्त्रालयले हालसम्म भन्सार विभागमा समेत उक्त पत्र पठाइनसकेको विभागका प्रवक्ता पुण्यविक्रम खड्का बताउँछन् ।

यता अर्थमन्त्रालयमा भने निवर्तमान मन्त्री प्रकाशशरण महतकै समयमा निर्णय हुन केही ढिलाई भएकोमा उनी पदबाट हटेसँगै थप ढिलाई भएको छ । त्यसपश्चात आएका नयाँ अर्थमन्त्री वर्षमान पुनले भने हालसम्म यसमा चासो नदेखाएको खानी विभागले जानकारी दिएको छ । परियोजनामा ड्रिलिङको कार्यमात्रै करिव ५ महिना हुने बताइएको छ । त्यसैका लागि भन्दै चिनियाँ अन्वेषणकर्ताहरुले चीनबाटै उपकरणहरु नेपाल ल्याएका हुन् । उक्त अन्वेषणपश्चात दैलेखमा पेट्रोलियम उत्खननका लागि परिमाण, आर्थिक रुपले फिजिबल छ या छैनलगायतका कुराहरुको यकिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL