Logo

सञ्चारमन्त्री शर्माले गरिन पदभारग्रहण, पहिलो निर्णय-नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

सञ्चारमन्त्री शर्माले गरिन पदभारग्रहण, पहिलो निर्णय-नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को संभावना अध्ययनका लागि समिति गठन गर्न सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन् । उनले पहिलो निर्णयमा हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी छन् ।

laxmi

पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले एक वर्षको बीचमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन् गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनःसंरचनामा ध्यान केन्द्रित गर्ने बताइन । मन्त्रालयका काम सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षासहित जिम्मेवारी दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आभार व्यक्त गर्दै मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको लक्ष्यलाई आफ्नो मन्त्रालयको तर्फबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन । ‘अब हामीलाई कुनै पनि बहानामा काम नगर्ने छूट छैन’– मन्त्री शर्माले भनिन–‘म सम्पूर्ण जिम्मेवार अधिकारी र निकायहरुलाई यो अवसरमा विशेष निर्देशन दिन चाहन्छु ।’

यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन । उनले विसं २०७२ कार्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीको रुपमा भूमिका निर्वाह गरेकी थिइन । विसं २०७९ मंसिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेकी थिइन । उनी समानुपातिक प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित गरेकी थिइन ।

विसं २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी शर्माले विसं २०४२ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको इकाई समितिबाट राजनीति सुरु गरेकी शर्माले विसं २०४७ मा अखिलको जिल्ला उपाध्यक्ष, विसं २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, विसं २०५० मा महिला संगठनको केन्द्रीय सदस्य, विसं २०५१ मा वाइसिएल केन्द्रीय सदस्य, विसं २०५३ सालदेखि विसं २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन ।

विसं २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी शर्मा काठमाडौँ उपत्यका उपब्यूरोको इन्चार्जको भूमिकामा रहेको बेलामा विसं २०५८ चैतमा पार्टी केन्द्रीय सदस्य रहेका श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परकेी थिइन । तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा लामो कष्टकर यातनापछि सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ गते दुवैजना जेलमुक्त गरेकी थिइन ।

लामो जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय शर्मा हाल नेकपा माओवादी केन्द्रमा स्थायी समिति सदस्यको भूमिकामा रहेकी छन् । विसं २०७० देखि विसं २०७२ सम्म संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेकी शर्माले विसं २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन । मन्त्री शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । शर्माका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL