Logo

माधव नेपाल फकाउन प्रचण्ड र ओलीपछि देउबापनि नेपाल निवासमा, भने-प्रचण्डले धोका दिए, सँगै मिलेर जाऔं

माधव नेपाल फकाउन प्रचण्ड र ओलीपछि देउबापनि नेपाल निवासमा, भने-प्रचण्डले धोका दिए, सँगै मिलेर जाऔं



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

laxmi

बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब १० बजेतिर अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार साँझ नै देउवा आउन लागेको सन्देश पठाएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतले जानकारी दिएका छन् ।

‘बिहान ९ बजे आउने भनेर खबर आएको थियो, स्वास्थ्य लाभको कामना गर्न आउन लागेको बताउनु भएको थियो,’ उनले सुनाए । राजनीतिक समीकरण बदलिएसँगै शीर्ष नेताहरूको दौडधुप बढेको छ । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल भेट्न कोटेश्वर पुगेका थिए ।

धबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिए, अब हामी सँगै मिलेर अगाडि जाउँ’ भनेर प्रस्ताव राखेको स्रोतले जानकारी दिएको छ ।

देउवाको प्रस्तावमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जवाफ दिएको जनाइएको छ । माधव नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसबारे आजको बैठकमा कुरा राखेर छलफल गर्छौं । के हुन्छ अनि मात्रै भन्न सकिन्छ ।’

अध्यक्ष नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक रहेको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिएका छन् । आजै एकीकृत समाजवादीको सचिवालय बैठक पनि बस्दैछ । बिहान ११ बजे सचिवालय बैठक बोलाइएको महासचिव भूसालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL