Logo

साकार होला देशमै पेट्रोलियम उत्पादनको सपना ? अन्तिम ड्रिलिङका लागि अर्को साता मेसिन आइपुग्ने

साकार होला देशमै पेट्रोलियम उत्पादनको सपना ? अन्तिम ड्रिलिङका लागि अर्को साता मेसिन आइपुग्ने

पेट्रोल खोज्न प्रतिदिन ४ हजार लिटर डिजेल लाग्ने, पाँच महिनामा साढे ९ करोड खर्च हुने



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ उत्खननको सम्भावना पत्ता लागउन लामो समयदेखि अध्ययन भइरहेको छ । देशका विभिन्न भागमा पेट्रोलियम पदार्थ रहेको भनिएपनि उच्च सम्भावना देखिएको दैलेखको पादुकास्थान श्रीस्थानमा चीनको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम लामो समयदेखि चलिरहेको छ । उक्त स्थानमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ भूगर्भविदहरुको टोलीले मार्चको अन्तिमदेखि ड्रिलिङको काम गर्दैछ । त्यही ड्रिलिङका लागि मात्रै पनि प्रतिदिन करिव ४ हजार लिटर डिजेल आवश्यक पर्ने देखिएको छ । करिव ५ महिनासम्म प्रतिदिन ३ हजारदेखि ४ हजार लिटरसम्म डिजेल आवश्यक हुने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

laxmi

विभागका अनुसार हालसम्म प्रथम चरणका सबैजसो अन्वेषण सम्पन्न भइसकेको उक्त स्थानमा अब अन्तिम चरणको ड्रिलिङ सर्भेमात्रै गर्न बाँकी छ । सोही सर्भेका लागि चीनबाट ड्रिलिङ उपकरण भारतको कलकत्तासम्म आइपुगेको र अर्काे हप्तासम्म नेपाल आइपुग्ने निश्चित भएको छ । ड्रिलिङ मेशिन अन्वेषण स्थानमा पुर्याई स्थापना र जडान गरिसकेपछि मार्च अन्तिमदेखि ड्रिलिङ कार्य सुरु गर्ने बताइएको छ ।

ड्रिलिङ सर्भेका लागि भन्दै आयोजनामा करिव ४ किलोमिटर गहिरो कुवा (वेल) खनिनेछ । जसका लागि करिव ५ महिनाको समयावधि लाग्ने आँकलन गरिएको छ । सो क्रममा ५ महिनासम्म लगातार मेशिन चलाएको खण्डमा करिव १६ लाख लिटर डिजेल ड्रिलिङका लागि मात्रै आवश्यक पर्ने देखिन्छ । उक्त डिजेल आपुर्तिका लागि विभागले नेपाल आयल निगमको नेपालगंज डिपोसँग सम्झौतासमेत गरिसकेको विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापित बताउँछन् । उनका अनुसार हालसम्म पहिलो चरणको करिव सबैजसो अन्वेषण सम्पन्न भइसकेको छ । त्यसमध्ये बाँकी रहेको अन्तिम अर्थात ड्रिलिङ सर्भे पनि मार्च अन्तिमदेखि सुरु गर्न लागिएको हो । त्यसको लागि ड्रिलिङ उपकरण भारतको कलकत्ता बन्दरगाहबाट नेपालका लागि हिँडिसकेको उनले बताए ।

‘सडकको साँघुरोपन र जग्गाको मुआब्जाका कारण चीनबाट ड्रिलिङ मेशिन आउन केहि ढिलाई भईरहेको थियो,’ उनले भने, ‘अबको करिव ५ दिनमा उक्त मेशिन नेपालमा आइपुग्नेछ र मार्च अन्तिमदेखि ड्रिलिङको काम सुरु हुनेछ ।’ उनले चीनको सीएनपीसी सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दैलेखको पादुकास्थानमा पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङको काम गर्ने बताए ।

यसका लागि सोही कम्पनीले डिजेलबाट संचालन हुने उपकरण चीनबाटै मगाएको हो । कम्पनीसँग विद्युतबाट चल्ने ड्रिलिङ उपकरण भएपनि दैलेखको पादुकासम्म आवश्यक बिजुलीको लाईन नपुगेको र गुणस्तरीय बिजुली नपुगेका कारण डिजेलबाट संचालित उपकरण आयात गरिएको नापित बताउँछन् । ‘हुन त चिनियाँ कम्पनीसँग विद्युतबाट संचालन हुने ड्रिलिङ उपकरण पनि रहेछ तर, पेट्रोलियम अन्वेषण गर्ने स्थानसम्म उच्च भोल्टेजको र गुणस्तरीय बिजुली नपुगेकाले डिजेलबाटै संचालन हुने उपकरण ल्याउनुपरेको हो,’ उनले भने, ‘यसरी यो मेशिनले आगामी ५ महिनासम्म लगातार संचालन भएको खण्डमा झण्डै साढे ९ करोड रुपैयाँ बराबरको १६ लाख लिटर डिजेल खपत गर्ने देखिन्छ ।’

पहिलो चरणका सबै प्रकारका सर्भे सम्पन्न भइसकेको दैलेख पादुकाको श्रीस्थान र नाभिस्थानमा यसअघि चीनबाट ड्रिलिङ गर्नुपर्ने उपकरण ल्याउने बाटो पर्याप्त चौडा नभएपछि यसको काम धकेलिँदै आएको थियो । एक बर्ष अघि नै गर्ने भनिएको ड्रिलिङ सर्भे दैलेखमा आवश्यक जग्गा अधिग्रहण, बाटो मर्मत, साइट क्लियरिङ र क्याम्प निर्माणमा ढिलाई हुँदा हालसम्म लम्बिएको थियो । तर, अब भने यी सबै कामहरु सम्पन्न भइसकेको आयोजना प्रमुख नापितले बताए । उनका अनुसार चीनबाट आउने करिव १५ मिटर लामो उपकरणका लागि आवश्यक बाटो चौडा गर्ने काम सम्पन्न भएको छ ।

चीनबाट आएको ड्रिलिङ मेसिन चीनको तियान्जिन बन्दरगाहबाट भारतको कलकत्ता बन्दरगाहमा पानी जहाजमार्फत आएको थियो । त्यसपश्चात भने दैलेखसम्मै यो उपकरण बाइरोड पुर्याईनेछ । यसका लागि विभागले भन्सारमा हुने अवरोध खुलाउन प्रयाससमेत गरिसकेको छ । २०७२ सालमा भारतले अघोषित नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालमा पेट्रोलियम अन्वेषणसम्बन्धी द्विपक्षिय सम्झौता गरेका थिए ।

सम्झौता भएपनि सोहीअनुसार काम भने अघि बढ्न सकेको थिएन । तर, पुनः २३ अगस्ट, २०१७ मा नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब रुपैयाँ सहयोगको घोषणासमेत गरेको थियो । जसको सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो । त्यसपश्चात चिनियाँ भूगर्भविदहरुको टोलीले नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो । उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोलीले दैलेखमा भने गहन अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL