Logo

बजेटको अर्धबार्षिक समीक्षा बुझाउन अर्थमन्त्रीको प्रेश ब्रिफिङ, भने – ‘हामीले बजेट कटौती गरेका छैनौं’

बजेटको अर्धबार्षिक समीक्षा बुझाउन अर्थमन्त्रीको प्रेश ब्रिफिङ, भने – ‘हामीले बजेट कटौती गरेका छैनौं’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक बर्षको बजेट कटौती नगरेको स्पष्टिकरण दिएका छन् । चालु आवको बजेटको अर्धबार्षिक समीक्षामा माओबादीले फरक मत राखेपछि अर्थमन्त्री डा. महतले प्रेस ब्रिफिङ नै गरेर बजेट कटौती नगरेको बताएका हुन् ।

laxmi

गत सोमबार चालु आर्थिक बर्षको बजेटको समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्चको अनुमान २ खर्ब २१ अर्ब रुपैयाँले घटाएर कुल बजेटको ८७ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसैलाई बजेट कटौतीको संज्ञा दिँदै पछिल्लो समय माओवादीका नेताकार्यकर्ताले यसको आलोचना गर्दै आईरहेका थिए ।

सोही कुरालाई मध्येनजर गर्दै अर्थमन्त्री डा. महतले बजेट खर्चको संशोधन बजेट कटौती नभएको स्पष्टीकरण दिएका हुन् । ‘बजेट खर्चको संशोधित अनुमान भनेको बजेट कटौती गर्नु होईन,’ शुक्रबार आयोजना गरिएकाे पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो त कुल विनियोजित बजेटको यति मात्रै खर्च हुन्छ भन्ने अनुमान पाे हो ।’

अर्थमन्त्री डा. महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वमा उल्लेखित व्यवस्था बमोजिम अर्धबार्षिक मूल्याकंन प्रतिवेदन सार्वजनिक गरिएको र सोही अनुसार समीक्षा गरिएको बताए ।

‘प्रतिवेदनमा राजस्वका लक्ष्य राखेका थियाैँ के कारणले कठिनाई भए , लक्ष्य निर्धारण अनुसार कठिनाइ भएको उल्लेख भएको हो’, उनले भने, ‘कार्यान्वयनको सवालमा पनि चालू, पुँजीगतमा कति प्रतिशत खर्च गर्यौँ खर्च गर्ने कति सम्भावना कति छ सोही अनुसार अनुमान गरिएको हो ।’

उनले पुनः बजेट कटौती नगरेको बताउँदै जति सम्भव हुन्छ बढी खर्च गर्ने कोशिष गरिरहेको बताए । ‘संसदले पारित गरेको बजेटलाई हामीले कटौती गर्न सक्दैनौ,’ उनले भने, ‘तर खर्च र आम्दानी कति गर्न सक्छौ भनेर अनुमान मात्र गर्ने हो, बजेट नै कटौती गरियो वा राजस्व नै घटाईयो भन्ने कुरा गलत हुन् ।’

प्रधानमन्त्री र अर्थमन्त्रीबीचको समीक्षा नगरिएको भन्दै दुईबीच कुनै मतभेद नभएको उनले स्पष्ट पारे । ‘हामीबीच निरन्तर सवाद हुन्छ, प्रधानमन्त्री र अर्थ मन्त्रीबीच बिवाद छ भनेर हुँदै नभएको प्रचार भएको छ,’ उनले भने, ‘भ्रम सम्प्रेषण गर्नुको अर्थ छैन ।’
बजेट सिलिङको बिषयमा कुरा राख्दै उनले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र प्रधानमन्त्रीबीच छलफल भएरै १८ खर्ब रुपैयाँ तोकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL