Logo

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा कडाई गर्ने क्यानडाको घोषणा, नेपाली विधार्थी पनि प्रभावित हुने

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा कडाई गर्ने क्यानडाको घोषणा, नेपाली विधार्थी पनि प्रभावित हुने



क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा दिने सीमा तोकेको छ । सोमबार सरकारले थोरै संख्यामा दुई वर्षका लागि भिसा दिने घोषणा गरेको थियो । काठमाडौं । क्यानडाले आगामी दुई वर्षका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्रै भिसा दिने जनाएको छ । धेरै पाठ्यक्रममा स्नातकोत्तर गरेपछि उपलब्ध हुने श्रम स्वीकृति पनि अब बन्द हुने भएको छ । क्यानाडा सरकार ठूलो संख्यामा आप्रवासीहरूको कारणले गर्दा आवास संकटसँग संघर्ष गरिरहेको छ ।

laxmi

अध्यागमन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नयाँ सीमाअनुसार सन् २०२४ मा करिब ३ लाख ६० हजार विद्यार्थीलाई मात्रै भिसा दिइनेछ । यो संख्या २०२३ को तुलनामा ३५ प्रतिशत कम हो । अध्यागमन मन्त्री मार्क मिलरले शिक्षा मामिला राज्य सरकारहरुको नियमनमा रहेकाले संघीय सरकारले सीमा निर्धारण गर्न प्रान्तीय सरकारहरुसंग परामर्श गर्ने बताएका छन् ।

उनले यो निर्णयको पछाडि दुईवटा कारण बताए । पहिलो कुरा विद्यार्थीहरूलाई नक्कली कलेज र शोषणबाट जोगाउनु हो । उनले धेरै विद्यार्थी निजी–सार्वजनिक साझेदारीमा सञ्चालित कलेजमा अध्ययन गर्ने, सेवा सुविधा राम्रो नभएको र शुल्क अत्याधिक रहेको बताए ।

पत्रकारसँग कुरा गर्दै उनले भने, ‘केही निजी संस्थाले सीमित स्रोतसाधनमा क्याम्पस सञ्चालन गरेर अन्तर्राष्ट्रिय विद्यार्थीको फाइदा उठाउँदै आएका छन् । विद्यार्थीका लागि सुविधा नभएको र चर्को शुल्क लिइएको छ र अझै पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या बढाइरहेका छन् । मिलरले दोस्रो कारण जनसंख्या वृद्धिका कारण सेवा र घरमा परेको दबाबलाई बताए । उनले भने, “बढ्दो संख्या (विद्यार्थी) ले आवास, स्वास्थ्य र अन्य सेवामा पनि दबाब परेको छ, बिधार्थीको संख्या घट्यो भने भाडा घटाउन मद्दत पुग्छ ।”

बढ्दो आप्रवासनको प्रभाव

आप्रवासीहरूको आगमनका कारण क्यानडाको जनसंख्या द्रुत गतिमा बढेको छ । जसका कारण स्वास्थ्य, शिक्षा र अन्य अत्यावश्यक सेवाको भार निकै बढेको छ । घरको भाउ पनि ह्वात्तै बढेको छ । यसले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री जस्टिन ट्रुडोको लोकप्रियतामा पनि असर गरेको छ । हालका महिनाहरूमा सर्वेक्षणहरूमा उनको समर्थन उल्लेखनीय रूपमा घटेको छ र यदि अहिले चुनाव भयो भने उनको हार्ने सम्भावना उच्च छ ।

गत वर्षको अन्तिम त्रैमासिकमा क्यानडाको जनसंख्या छ दशकयताकै तीव्र गतिमा बढेको थियो । तीमध्ये सबैभन्दा ठूलो वृद्धि अस्थायी नागरिक विशेषगरी विद्यार्थीहरूको थियो, जुन पाँच दशकयताकै उच्च थियो । अस्थायी आप्रवासीको संख्या तीन लाख १२ हजार ७५८ ले बढेको छ । क्यानेडियन एलायन्स अफ स्टुडेन्ट एसोसिएसनले विद्यार्थी भिसाको संख्या सीमित गर्ने निर्णयको आलोचना गरेको छ । कासाका अधिकारी माटुस सालमासीले भने, ‘सबैभन्दा ठूलो समस्या भनेको आवास संकटको प्रतिक्रियामा यो सीमा घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवास र अन्य मामिलाहरूमा मद्दत प्रदान गर्नु अहिलको आवश्यकता हो ।’

अर्कोतर्फ, टोरन्टो विश्वविद्यालयले यस घोषणाको स्वागत गर्दै विभिन्न सरकारी विभागहरूसँगको सहकार्यमा विद्यार्थीहरूलाई अनुमति दिइने बताएको छ । एक विज्ञप्तिमा, विश्वविद्यालयले भनेको छ, “यी परिवर्तनहरू हामीजस्ता विश्वविद्यालयहरूलाई हानि पु¥याउने उद्देश्यले होइन तर केही व्यक्तिहरूले प्रणालीको दुरुपयोग रोक्नको लागि हो ।’

क्यानाडा सरकारको यो निर्णयले सबैभन्दा बढी भारतीय विद्यार्थीलाई असर गर्ने अपेक्षा गरिएको छ किनभने त्यहाँ पढ्न जाने विद्यार्थीमध्ये सबैभन्दा बढी भारतीय विद्यार्थी छन् । २०२२ मा जारी गरिएको कुल विद्यार्थी भिसामध्ये २ लाख २५ हजार ८ सय ३५ अर्थात ४१ प्रतिशत भारतीय थिए । यी अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडाली विश्वविद्यालयहरूको आम्दानीको प्रमुख स्रोत हुन् । तिनीहरूले देशमा वार्षिक रूपमा लगभग १६.४ बिलियन डलरको राजश्व ल्याउँछन् र तिनीहरूको संख्यामा गिरावट क्यानाडाको लागि ठूलो धक्का हुनेछ ।

सन २०२३ मा करिब नौ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानडामा अध्ययन गरिरहेका थिए, जसमध्ये लगभग २०प्रतिशत भारतीयहरू थिए । गत वर्ष समग्रमा भारतीय विद्यार्थीको संख्या चार प्रतिशतले घटे पनि एउटै देशबाट बाहिरिने विद्यार्थीको संख्यामा उनीहरू शीर्ष स्थानमा रहेका थिए । तर, क्यानडाले गत वर्ष भारतीयहरूलाई कम अध्ययन भिसा जारी गरेको छ ।

सन् २०२२ को तुलनामा गत वर्षको चौथो त्रैमासिकमा ८६ प्रतिशत कम विद्यार्थी भिसा जारी भएको थियो । २०२२ को चौथो त्रैमासिकमा १ लाख ८ हजार ९ सय ४० भिसा जारी भए पनि २०२३ को सोही अवधिमा १४ हजार ९ सय १० भिसा मात्र जारी भएका थिए । यसमा क्यानडा र भारतबीच पछिल्लो समय बढेको विवाद पनि एक कारण थियो ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा कडाई गर्ने क्यानडाको घोषणाले नेपाली विधार्थी पनि प्रभावित हुनेछन् । पछिल्लो समय नेपाली विधार्थीको प्रमुख आकर्षण बनेसँगै क्यानडा जाने विधार्थीको चाप निकै बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL