Logo

नेपालमा पेट्रोलियम खानीको खोजी : पूर्वमा पनि सकियो पहिलो चरणको सर्भे, दैलेखमा २ महिनापछि ड्रिलिङ

नेपालमा पेट्रोलियम खानीको खोजी : पूर्वमा पनि सकियो पहिलो चरणको सर्भे, दैलेखमा २ महिनापछि ड्रिलिङ



काठमाडौं । सरकारले नेपालका अन्य स्थानमा पनि पेट्रोलियम खानी अन्वेषण सुरु गरेको छ । त्यसमध्ये पूर्वको मोरङदेखि ओखलढुंगासम्म पहिलो चरणको अन्वेषण हालै मात्रै सम्पन्न भएको हो । दैलेखमा अन्तिम चरणको अन्वेषण गर्न लागिरहेको खानी तथा भूगर्भ विभागले पूर्वमा पनि करिव १ सय पोइन्टमा पहिलो चरणको म्याग्नेटो टेल्युरिक (एमटी) सर्भे गरेको हो ।

laxmi

दैलेखमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ भूगर्भ विदको टोलीले मोरङ र ओखलढुंगाका विभिन्न क्षेत्रमा पेट्रोलियम अन्वेषण गरेको हो । ती क्षेत्रहरुमा अन्वेषणको काम सकाएर आईतबार मात्रै टोली काठमाडौं फर्किएको खानी विभागअन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजना प्रमुख दिनेश कुमार नापितले बताए । उनका अनुसार दैलेखसँगै पाल्पा र बराहक्षेत्रमा पनि अन्वेषण गरिसकेको उक्त टोलीले पूर्वमा पनि सोही लाइनमा पहिलो चरणको अन्वेषण गरेको हो ।

नेपालको चुरे पर्वत क्षेत्रमा पेट्रोलियमको खानी रहेको सम्भावना रहेको बताइन्छ । सोहीअनुसार नेपालको चुरे क्षेत्रमा पर्ने पूर्व देखि पश्चिमको रेखामा विभागले पेट्रोलियम अन्वेषण गरिरहेको हो । हालसम्म विभागले यो क्षेत्रको करिव ५ सय किलोमिटरसम्मको क्षेत्रमा प्रथम चरणको अन्वेषण गरिसकेको छ ।

यसरी गरिएको अन्वेषणमा भने पेट्रोलियम अन्वेषण गर्नुपर्ने स्थानमुनिको जमिनको अवस्था, चट्टानको अवस्थालगायतको बारेमा अध्ययन गरिन्छ । यसले जमिनको सतहबाट २० देखि २५ किलोमिटरसम्मको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गर्न सघाउँछ । यसअघि गरिएका एमटी सर्भेको तथ्यांक विश्लेषणका लागि चिनियाँ भूगर्भविदहरुले चीनमै स्याम्पल लगेका छन् । त्यसको नतिजा भने अझै आउन बाँकी छ । नतिजा आएपश्चात सरकारले चाहेको खण्डमा उक्त स्थानमा सेस्मीक सर्भे र ड्रिलिङ सर्भेको काम अघि बढ्छ ।

दैलेखमा २ महिनापछि ड्रिलिङ

सबै प्रकारका पहिलो चरणका सर्भे सम्पन्न भईसकेको दैलेख पादुकाको श्रीस्थान र नाभिस्थानमा अब २ महिनापछि मात्रै ड्रिलिङ सर्भेको काम अघि बढ्ने भएको छ । यसअघि चीनबाट ड्रिलिङ गर्नुपर्ने उपकरण ल्याउने बाटो पर्याप्त चौडा नभएपछि यसको काम धकेलिँदै आएको थियो । एक बर्षअघि नै गर्ने भनिएको ड्रिलिङ सर्भे दैलेखमा आवश्यक जग्गा अधिग्रहण, बाटो मर्मत, साइट क्लियरिङ र क्याम्प निर्माणमा ढिलाई हुँदा हालसम्म लम्बिएको छ । तर, अब भने यी सबै प्रकारका कामहरु सम्पन्न भइसकेकाले आगामी दुई महिनाभित्र ड्रिलिङका काम अघि बढ्ने परियोजना प्रमुख नापित बताउँछन् । उनका अनुसार चीनबाट आउने करिव १५ मिटर लामो उपकरणका लागि आवश्यक बाटो चौडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । यसका लागि बाटोको भित्तातर्फ पर्खाल लगाउने काम मात्रै बाँकी रहेको छ । तर, चीनबाट उपकरण हिँडेपछि बाटोको काम सकिने उनको भनाई छ ।

चीनबाट यसैहप्ता ड्रिलिङ उपकरण नेपाल ल्याइने उनले बताए । ‘चीनबाट यसै हप्ता उक्त उपकरण हिँड्ने कुरो छ,’ उनले भने, ‘यसका लागि हामीले बाटो चौडा गर्ने काम सकाएका छौं अब करिव १ देखि डेढ महिनासम्म उक्त उपकरण साइटमै पुग्नेछ ।’ चीनबाट आउने ड्रिलिङ मेसिन यसै हप्ता चीनको तियानजिन बन्दरगाहबाट भारतको कलकत्ता बन्दरगाहमा पानी जहाजमार्फत आउनेछ । त्यसपश्चात भने दैलेखसम्मै यो उपकरण बाइरोड पुर्याईनेछ । त्यसभन्दा अघि दैलेखसम्म पुग्ने बाटोसम्म त्यो उपकरण लैजान बाधा हटाउने गरी एउटा लामो गाडी त्यो बाटोमा चलाएर जाँच गर्ने योजना आयोजनाले गरेको छ ।

चिनियाँ टोलीको म्याद १ बर्ष थप्न मन्त्रिपरिषदमा प्रस्ताव

कोरोना महामारी र नेपालमा पूर्वाधार निर्माणको कमीका कारण समयमै काम गर्न नसकिएपनि चिनियाँ टोलीको म्याद १ बर्ष थपिने भएको छ । आगामी फेब्रुअरी २ सम्म मात्रै रहेको चिनियाँ भूगर्भ विद्हरुको नेपाल बसाई अझै लम्बिने भएपछि आयोजना अन्वेषणको म्याद पनि १ बर्ष थप्नेगरी मन्त्रिपरिषदमा खानी विभागले प्रस्ताव पठाएको छ । उक्त थपिएको एक बर्षभित्र चिनियाँ टोलीले दैलेखमा पेट्रोलियम अन्वेषणको अन्तिम सर्भे ड्रिलिङको काम सकाउनुपर्नेछ ।

२०७२ सालमा भारतले अघोषित नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालमा पेट्रोलियम अन्वेषणसम्बन्धी द्विपक्षिय सम्झौता गरेका थिए । सम्झौता भएपनि सोही अनुसार काम भने अघि बढ्न सकेको थिएन । तर, पुनः २३ अगस्ट, २०१७ मा नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब रुपैयाँ सहयोगको घोषणासमेत गरेको थियो । जसको सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो । त्यसपश्चात चिनियाँ भूगर्भविदहरुको टोलीले नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो । उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोलीले दैलेखमा भने यसको गहन अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL