Logo

फेरि काठमाडौं आइपुग्यो मेलम्चीको पानी, प्रधानमन्त्रीले पानी पिएर गरे पुनः वितरण शुरु

फेरि काठमाडौं आइपुग्यो मेलम्चीको पानी, प्रधानमन्त्रीले पानी पिएर गरे पुनः वितरण शुरु



काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी पुनः वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

laxmi

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए । ‘मलाइ गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिएँ, तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद, अब वितरणको काम दिगो हुने छ, १२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छु’, उनले भने । उनले जटिल समस्या आए सरकारले तत्कालै सम्बोधन गर्ने पनि बताए । ‘बाढीको कारण १२ महिना पानी ल्याउन सकिएन,अब यसलाई सरकारले पहिलो प्राथमिकता दिएको छ’, उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताएका छन् । सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए ।

प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

“काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भने ।

आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनःनिर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए । उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

“सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ”, प्रधानमन्त्री दाहालले भने । सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL