Logo

सिजनमै सुनको मूल्यमा प्रत्येक दिन नयाँ रेकर्ड, यस्तो छ मूल्य बढ्नुको कारण !

सिजनमै सुनको मूल्यमा प्रत्येक दिन नयाँ रेकर्ड, यस्तो छ मूल्य बढ्नुको कारण !



काठमाडौं । मंसिर महिना बिहेको सिजन हो । यो महिना साविककोभन्दा बढी नै सुन विक्री हुने भएपछि यसलाई सुन व्यापारीहरुले सिजनको महिना मान्छन् । तर, यहि अवधिमा सुनको मूल्यले भने लगातार प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो २ हप्ताकै अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले बढिसकेको छ । अर्थात गत मंसिर ५ गतेसम्म प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार मात्रै नेपाली बजारमा हालसम्मकै उच्च १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

गएको कार्तिकमा र यो मंसिरमा नेपाल र भारत गरी दुई खासगरी हिन्दु धर्मालम्बी बढी भएका देशमा सुनको उच्च कारोबार हुने गरेको छ । यी दुई देशमा मंसिर महिनामै बिहेका बढी नै लगन हुन्छ । बिहे हुनेभएपछि सुनको व्यापार पनि अन्य समयको तुलनामा बढी नै हुन्छ । तर, यसपल्ट सुनको मूल्यले लगातार उचाई चुम्दा व्यापारमा पनि केहि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

उनका अनुसार गत बर्षकै तुलनामा पनि यो बर्ष सुनको व्यापार घटेको छ । खासगरी नेपाली बजारमा तीज, कार्तिक, र बिहेको सिजनमा सबैभन्दा बढी सुन व्यापार हुने गरेको छ । तर, यसपाली सुनको मूल्यमा उच्च वृद्धि र आर्थिक मन्दीको पनि केहि असर यसमा देखिएको सुन व्यापारीहरु बताउँछन् । अघिल्ला बर्षहरुमा प्रतिदिन ३० देखि ३५ किलोसम्म हुने सुनको व्यापार हाल सुकेर १५ देखि २० किलो पनि धौधौ हुनेगरेको व्यापारीहरु बताउँछन् ।

मूल्य बढ्नुको कारण

खासगरी अघिल्लो महिना अर्थात असोजदेखि नै विश्वबजार र नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न सुरु गरेको हो । ईजरायलविरुद्ध हमास समुहले युद्ध छेडेपछि लगानीकर्ताले लगानीको सुरक्षित उपाय नै सुनलाई लिए । जसका कारण विश्वबजारमै एकाएक सुनको माग उच्च भयो र यसले सुनको मूल्यमा रकेट बुस्ट गर्याे ।

यसैको प्रभावले सोमबार मात्रै विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ७२ डलर पुगेको थियो । यसअघि गत अक्टोबरमा प्रतिऔंस १८ सयको आसपासमा कारोबार भईरहेको सुनको मूल्य त्यसयता लगातार उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । जसका कारण नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्दा बिहेकै सिजनमा प्रतिदिन नयाँ रेकर्ड कायम हुँदै आएको छ ।

यति मात्रै होईन यसै अवधिमा अमेरिकी केन्द्रिय बैंक (फेड)ले आफ्नो ब्याजदरमा केहि कसिकसाउ गर्दा पनि डलरको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ । यसले एशियाली मुलुकहरुको मुद्रामा अवमूल्यन बढिरहेका कारण एशियाली मुलुकमा सुनको मूल्य लगातार उकालो लाग्दो छ । यता नेपालमा भने भारतीय मुद्रा नेपाली मुद्रासँग स्थिर विनिमयका कारण भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रा पनि अवमूल्यन हुन्छ । जसका कारण पनि यसको असर सुनको मूल्यमा परेको विज्ञहरु बताउँछन् ।

मंगलबार भने सुनको मूल्यमा गिरावट

अन्तरराष्ट्रिय बजारमा मंगलबार बिहानैदेखि सुनको मूल्य ओरालो लागेपछि नेपालमा पनि मूल्य घटेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ३३ को आसपासमा भईरहेको छ । जसका कारण नेपाली बजारमा पनि सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL