Logo

मेलाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, संयोजक उमेश डालमियासँगको अन्तरवार्ता

मेलाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, संयोजक उमेश डालमियासँगको अन्तरवार्ता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आज (मंसिर १४) देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । महासंघले कोभिड–१९ का कारण केही वर्ष देखि रोकिएको मेलालाई निरन्तरता दिन लागेको हो । मेला आज १४ गतेदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने र अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताको एकै ठाउँमा भेट हुने माध्यम बन्ने गरी उधोग वाणिज्य महासंघले यो मेलाको आयोजना गरेको बताएको छ । मेलाको तयारी, आकर्षण, मेलाबाट उधोग वाणिज्य महासंघले गरेको अपेक्षालगायतका विषयमा महासंघको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका संयोजक उमेश डालमियासंग बिजखबर डकटकमले गरेको कुराकानी :

laxmi

नेपाल उधोग वाणिज्य महासंघको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदैछ, तयारी कस्तो छ ?

मेलाका लागि हाम्रो तयारी पूर्णरुपमा सम्पन्न भइसकेको छ । देश विदेशका सबै स्टलहरु पनि हामीले मिलाईसकेका छौं । २ सय १० वटा स्टलहरु राखेका छौं । बिहीबारबाट सुरु हुने मेलाको लागि चीनकोतर्फबाट ५५ वटा स्टलहरु राखिएको छ । यसैगरी, भारतबाट ३० वटा स्टलहरु छन् । बंगलादेशले ८ वटा र पाकिस्तानबाट ८ वटा स्टलहरु राखिएको छ । बाँकी स्वदेशी स्टलहरु रहेका छन । ‘मेड इन नेपाल’ भनेर युवाहरुले राखेको स्टलहरु पनि छन । यसमा ४० वटा जुत्ताको स्टलहरु रहेका छन् । यसैगरी, अन्य नेपाली मौलिक उत्पादन र कृषिजन्य उत्पादनहरु रहेका छन । घरेलु तथा साना उधोगलाई हामीले निशुल्क १० वटा स्टलहरु राख्न दिएका छौं । घरेलु तथा साना उधोग र नेपाली उत्पादनलाई प्रोत्साहन गर्नको लागि यी १० वटा स्टललाई निशुुल्क गरिएको हो । समग्रमा मेलामा हुनुपर्ने पुर्ण तयारी हामीले गरिसकेका छौं । बिहीबार ११ः३० मा यसको उद्घाटन हुनेछ ।

अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ को मुख्य आकर्षण के–के छन् ?

यो मेलाको मूख्य आर्कषण केन्द्र ‘मेड इन नेपाल’ भनेर हामीले छुट्टै स्टलहरु राखेका छौं । त्यो नै २०३२ को उधोग वाणिज्य महासंघको अन्तराष्ट्रिय ब्यापार मेलाको मूख्य आर्कषण हो । अन्तराष्ट्रिय ब्यापार मेला उधोग वाणिज्य महासंघले हरेक वर्षमा गर्दै आएको थियो । तर, कोरोनाको कारण पछिल्लो केहि वर्ष यता यो मेला गर्न सकेका थिएनौं । अहिले हुन गइरहेको २०२३ को मेला नवौं संस्करण हो । यसको मूख्य आकषर्ण नै नेपाल र अन्तराष्ट्रिय बजारको ब्यापारको सम्बन्ध सुमधुर बनाउनु हो ।

अन्तराष्ट्रिय बजारमा हामीले हाम्रो सामानको बारेमा प्रचार गर्नु र अन्य देशको सामान नेपालले खरिद गर्नको लागि दोहोरो सम्बन्ध कायम गर्न पनि यो मेलाको आयोजना गरिएको हो । यसले नेपालको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा मार्केटिङ गर्ने काम पनि गर्दछ र अन्य देशले पनि आफ्नो आफ्नो देशको उत्पादनको बजार विस्तार गर्न यस्तो मेलाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । बाहिरबाट आउने हाम्रो अतिथिलाई नेपाली प्रडक्टको स्याम्पलिङ गरेर यो मेलामा बेच्ने गरेका छौं । यसले हाम्रो निर्यातमा सुधार गर्ने अपेक्षा छ । यो मेलामा विदेशी स्टलले आफ्नो बस्तुको पनि प्रचार गर्न सक्ने हामीले पनि हाम्रो बस्तुको बारेमा उनीहरुलाई बुझाउन सक्छौं । विदेशी स्टलवालाले हाम्रो सामान विदेशमा लगेर त्यसको मार्केटिङ गर्न सक्छन । यसले दोहोरो सम्बन्ध कायम गर्न सकिन्छ ।

मेलाबाट एफएनसीसीआईको अपेक्षा के छ ?

आर्थिक मन्दीको बेलामा उधोग बाणिज्य महासंघले आफु घाटामा रहेर पनि यस्तो मेला आयोजना गरेको छ । अहिलेको आर्थिक समस्या हटोस अर्थतन्त्र चलायमान बनाउन टेवा पुगोस भन्ने उधोग वाणिज्य महासंघको मुख्य अपेक्षा रहेको छ । यसैगरी, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो । यसमा हामीले १० देखि १२ करोडको कारोबार गर्ने हाम्रो लक्ष्य छ । १ लाख अबलोकनकर्तालाई मेलामा भित्र्याउने हाम्रो उद्देश्य छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने एक माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएका छौं । मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच कृषि, जडीबुटी, औषधि, हस्तकलाका वस्तुहरुको विषयमा छलफलसमेत हुनेछ ।

यस्तो मेलाले अहिलेको आर्थिक अवस्थामा कस्तो सहयोग पुर्याउला ?

अर्ततन्त्रलाई चलायमान गर्न टेवा पुगोस भनेर नै हामीले आफ्नो फाइदा नहेरी यस्तो बेलामा पनि मेला सञ्चालनमा ल्याएका हौं । अर्थतन्त्रमा देखिएको सबै समस्या त समाधान हुँदैन । तर, अर्थतन्त्र चलायमान बनाउन यस्तो मेलाको महत्वपूर्ण भुमिका रहन्छ । अहिले हजारौं युवा स्वदेशमा रोजगारी नपाएर खाडी मुलुकमा गएर आफ्नो रगत र पसिना बेच्न तयार भएका छन । यस्ता युवालाई स्वदेशमा रोजगार दिन उनीहरुलाई उत्पादनशिल क्षेत्रमा जोड्नुपर्ने आवश्यकता छ । यसको लागि पनि यस्तो मेला आयोजना गरेर सामान्यभन्दा सामान्य व्यक्तिको उत्पादनलाई प्रोत्साहन गर्न सकिन्छ । यसको लागि पनि यो मेला आयोजना गरिएको हो ।

यो मेलाले आर्थिक क्षेत्र चलायमात्र बनाउने आधार भनेको निर्यातलाई प्रोत्साहन गर्नु हो । नेपालमा भएका उत्पादनलाई अन्तराष्ट्रिय बजारलाई देखाएर त्यसको निर्यातमा टेवा पुर्याउन सकिन्छ । अहिले नेपालमा जतिपनि स्टल राख्न विदेशीहरु आएका छन । तिनीहरुलाई त्यहाँको सरकारले सरकारको खर्चमा नेपाल पठाइरहेको छ । तर, नेपालले भने नेपालमा नै हुन लागेको यस्तो मेलाको लागि धेरै खर्च दिनसकेको छैन । सरकारको तर्फबाट निजी क्षेत्रले राखेको अपेक्षा नै पुरा हुन सकेको छैन । मेला भनेको आफ्नो उत्पादन चिनाउने ठाउँ हो । कम खर्चमा मेला सञ्चालन गर्नको लागि सरकारको सहयोग चाइन्छ । तर, सरकारले सहयोग नै गर्दैन ।

अर्थतन्त्रमा यस्ता मेला तथा प्रदर्शनहरुको भूमिका कत्तिको रहन्छ ?

यसको महत्वपूर्ण भूमिका रहन्छ । नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउनको लागि यो मेला एकदमै उपयोगी मेला हो । नेपाललाई नेपाली बस्तु विदेशमा बेच्नको लागि विदेशी खरिदकर्ता चाइएको छ । हामीले यस्तो मेलाबाट खरिदकर्ता पहिचान गरेर आफ्नो बस्तुको मार्केटिङ गर्न सक्छौं । त्यसैले यस्ता मेलाहरु निरन्तर हुनुपर्छ ।

सरकारी भूमिका कस्तो हुनुपर्छ ?

सरकार र निजी क्षेत्र सधैं एकअर्काका परिपुरक हुन् । त्यसैले यस्ता मेला आयोजना गर्दा देशलाई नै फाइदा पुग्ने भएकाले सरकारले सबै पक्षमा सहकार्य गर्नुपर्छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको छ र निजी क्षेत्रले सरकारलाई विभिन्न ढंगले आर्थिक संकट हल गर्न सघाइरहेको छ । अर्थतन्त्रको समस्या के हो ? यसको समाधान गर्न निजी क्षेत्रले के गर्न सक्छ ? सरकारले के–के नीतिगत कुरामा सुधार गर्नुपर्छ ? लगायतका विषयमा उधोग वाणिज्य महासंघले सरकारलाई नै सुझाब दिइसकेको छ । त्यो कुरालाई सरकारले लागु गर्यो भने अर्थतन्त्र चलायमान हुन्छ । निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउको लागि काम गरिहेको छ । यसमा सरकारको पनि साथको आवश्यकता छ । पहिलो कुरा त सरकारले ल्याउने नीतिहरु स्थिर खालको हुनुपर्यो । सरकारको अस्थिर नीतिको कारण पनि निजी क्षेत्रले काम गर्न नसक्ने अवस्था बनेको छ । यसकारण सरकारले निजी क्षेत्र, अर्थसास्त्री लगायत अर्थतन्त्रसंग जोडिएका बिभिन्न क्षेत्रसंग बृहत कार्यक्रम गरेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने आवश्यकता छ । यसमा निजी क्षेत्रले पनि साथ दिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL