Logo

बजेट अभावले रोकियो चक्रपथ विस्तारको काम, थप ६० करोड चाहिने

बजेट अभावले रोकियो चक्रपथ विस्तारको काम, थप ६० करोड चाहिने



काठमाडौं । काठमाडौंको चक्रपथ विस्तारमा बजेट अभाव देखिएको छ । सरकारी बजेट अभावका कारण चक्रपथ विस्तारको काम रोकिएको हो । काठमाडौंको कलंकीदेखि बसुन्धारासम्म चक्रपथ विस्तारअन्तर्गतको सर्भिस लेनको काम बजेट अभावकै कारण रोकिएको सडक विभागले जानकारी दिएको छ ।

laxmi

चिनियाँ सरकारको अनुदान रकममा अघि बढाउन लागिएको चक्रपथ दोस्रो खण्डको विस्तारमध्ये सर्भिस ट्रयाकको काम भने नेपाली पक्षले गर्नुपर्ने थियो । त्यसमध्ये हालसम्म कलंकदेखि स्वयम्भुसम्मको सर्भिस ट्रयाक पिच गर्ने काम सम्पन्न भईसकेपनि स्वयम्भुदेखि बसुन्धारासम्मको बाँकी काम भने रोकिएको चक्रपथ सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए ।

उनका अनुसार सर्भिस लेन विस्तार, कालोपत्रे गर्ने, फुटपाथ बनाउनेलगायतका काम उक्त क्षेत्रको साइट क्लियरिङसँगै सुरु गरिएको थियो । तर, हालसम्म केहि मात्रामा काम भएपनि बजेट अभावका कारण हाल काम रोकिएको जस्तै भएको छ । ‘काम हुँदाहुँदै बजेट सकिएपछि ठेकेदारले काम रोकेका छन्,’ उनले भने, ‘केहि स्थानमा फाट्टफुट्ट काम भएपनि धेरैजसो स्थानमा काम रोकिएको छ ।’

चालु आर्थिक बर्षको बजेटमार्फत सरकारले चक्रपथको सर्भिस लेन विस्तारका लागि मात्रै ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । हालसम्म चालु आवमा विनियोजन गरेको रकम भुक्तानी गरेर सकिसकेको उनले बताए । केहि ठेकेदारलाई भुक्तानी दिन बाँकी भएपछि काम रोकिएको उनको भनाई छ । उनले हाल सडक विभागमा ठेकेदारले भुक्तानीको बिल पठाएको तर भुक्तानी गर्न नसकेको उनले जानकारी दिए । ‘चालु आवमा विनियोजन गरेको बजेट रकम सकिएको छ बाँकी भुक्तानी गर्न हामीसँग पर्याप्त बजेट छैन,’ उनले भने, ‘विभागमा भुक्तानीका लागि आएका बीललाई जोड्दा उक्त क्षेत्रको सर्भिस लेन विस्तार गर्न थप ६० करोड चाहिने देखिएको छ ।’

यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारलगत्तै चिनियाँ टोलीले दोस्रो खण्ड (कलंकी–बसुन्धारा) को काम सुरु गर्ने बताएको थियो । तर, त्यसका लागि नेपाली पक्षले पहिले उक्त क्षेत्रमा देखिएका समस्या सल्टाउने, साइट क्लियर गर्ने र सर्भिस लेन बनाईदिनुपर्ने शर्त राखेको थियो । सोहीअनुसार नेपाली पक्षले उक्त खण्डको साइट क्लियर गरेर सर्भिस लेनको काम अघि बढाइरहेको थियो । तर, बजेट अभावका कारण यसको काम नै रोकिने अवस्था आएको आयोजना प्रमुख ओझाले बताएका छन् ।

चिनियाँ पक्षको मौनताले यात्रुलाई सास्ती

यता चिनियाँ पक्ष भने नेपाली पक्षले साइट क्लियर गरिसकेपछि पनि मौनजस्तै देखिएको छ । यसअघि दायाँबायाँको सर्भिस लेनबाहेक बीचको ६ लेन अर्थात २५ मिटर खण्डका लागि साइट क्लियर गर्नुपर्ने शर्त राखेको चिनियाँ पक्षले साइट क्लियर हुँदापनि काम सुरु गर्ने छाँटकाँट देखाएको छैन ।

चिनियाँ पक्षको शर्तअनुसार नै नेपाली पक्षले साइट क्लियर गरेको १ बर्ष पुग्न लागिसक्दा पनि चिनियाँ पक्ष सडक विस्तारका लागि उपस्थित भइसकेको छैन । तसर्थ नेपाली पक्षले गर्नुपर्ने कामका लागि बजेट अभाव र चिनियाँ पक्षको मौनताले चक्रपथको ८.४ किलोमिटरमा पर्ने कलंकी बसुन्धारा क्षेत्र धुलाम्य र हिलाम्य हुने गरेको छ । यो सडकमा गुड्ने यात्रुले धुलो र हिलोको सास्ती खेप्नुपरेको देखिन्छ ।

चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी चावहिलको गोपीकृष्णसम्मै विस्तार गर्ने योजना थियो । तर, महाराजगंजमा १९ घर हटाउन नेपाल सरकारलाई अप्ठ्यारो परेपछि हाल यसलाई छोट्याएर कलंकीदेखि बसुन्धाराको कल्भर्टसम्म पुर्याइएको छ । चिनियाँ पक्ष आएर हाल कलंकीदेखि बसुन्धारासम्म मात्रै विस्तार गर्ने सडक विभागले जानकारी दिएको छ । त्यसबीचमा महाराजगंजको समस्या समाधान भएमा महाराजगंजबाट पूर्वतिर पनि सडक विस्तारको काम अघि बढाउन सकिने सडक विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL