Logo

प्राधिकरणले हटाएन फुटपाथ छेकेका संरचना : पैदल यात्रुलाई सास्ती, के गर्दैछ काठमाडौं महानगर ?

प्राधिकरणले हटाएन फुटपाथ छेकेका संरचना : पैदल यात्रुलाई सास्ती, के गर्दैछ काठमाडौं महानगर ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फुटपाथ छेकेर राखिएका डिस्ट्रिव्युसन प्यानल प्रस्थिापनमा ढिलाई गरेको छ । प्राधिकरणले पैदल यात्रुलाई हिँड्नै मुस्किल हुनेगरी काठमाडौंका सडकका दायाँबायाँ फुटपाथ नै ओगटेर धेरैजसो स्थानमो डिस्ट्रिव्युसन प्यानल राखेको छ । जसका कारण फुटपाथ नै छेकिदा पैदलयात्रुहरुलाई फुटपाथबाट हिड्न नमिल्ने अवस्था छ । अहिले धेरैजसो स्थानमा फुटपाथमा हिँडिरहेका पैदल यात्रुहरु प्राधिकरणले राखेका प्यानलसम्म पुगेपछि सडकमा ओर्लेर हिँड्न बाध्य छन् ।

laxmi

पैदल यात्रु प्राधिकरणले राखेका डिस्ट्रव्युसन प्यानलका कारण सडकमै ओर्लेर हिँड्नुपर्दा सडक दुर्घटनाको जोखिम बढिरहेको छ । यस्तै समस्याका कारण गत बर्षको अन्त्यतिर यसको बिषयमा बहस पनि भएको थियो । त्यसपश्चात प्राधिकरणले फुटपाथ नै छेकिनेगरी राखिएका प्यानलाई प्रतिस्थापन गरेर पातला प्यानल राख्ने निर्णय गरेको थियो । हाल प्राधिकरणले फुटपाथमा राखेका कतिपय डिस्ट्रिव्युसन प्यानलहरु १ मिटरसम्म चौडाई भएका छन् । जसका कारण धेरैजसो स्थानमा फुटपाथ नै पुरै छेकिएको छ ।

काठमाडौंका सडकका फुटपाथहरु यसैपनि साँघुरा रहेकामा त्यसमाथि प्राधिकरणले फुटपाथमा प्यानल राख्दा पैदलयात्रुहरुलाई थप सकस भएको छ । यसैलाई मध्यनजर गरेर प्राधिकरणले हटाउने निर्णय गरेको ७ महिना वितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा पैदलयात्रुलाई सडकमा ओर्लेर हिँड्नुपर्ने बाध्यता ज्युँकात्युँ छ ।

पैदलयात्रुले प्राधिकरणका प्यानलकै कारण फुटपाथमा दुःख पाउँदा काठमाडौं महानगरपालिका भने पर्ख र हेरको अवस्थामा छ । यसअघि फुटपाथलाई पैदलयात्रुमैत्री बनाउनुपर्छ भन्दै फुटपाथमा रहेका पसल, प्रहरी विटलगायत अन्य सामग्री हटाईरहेको काठमाडौ महानगरपालिका विद्युत प्राधिकरणका डिस्ट्रिव्युसन प्यानलका बारेमा भने बेखबरजस्तै छ । प्राधिकरणलाई आधार मान्ने हो भने रत्नपार्क महाराजगंज वितरण केन्द्र अन्तर्गत१ सय २० ओटा डिस्ट्रिव्युसन प्यानलले फुटपाथ नै छेकेका छन् । यि प्यानल परिवर्तन गर्नुपर्ने भएपनि सरकारी झन्भटिलो प्रक्रियाका कारण नयाँ प्यानल आउन नसक्दा ढिलाई भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् ।

गत बर्ष नै बाटो छेकेका प्यानलहरुलाई पातला प्यानलले प्रतिस्थापन गर्ने निर्णय भएपनि पुरानो ठेक्कामा थप काम लगाउन र उत्पादित वस्तु भारतबाट ल्याउन समय लागेको उनको भनाई छ । ‘सरकारी झन्झटिलो प्रक्रिया, भन्सारमा सामान छुटाउन लाग्ने समयलगायतका कारण पातला प्यानल नै आउन सकेका छैनन्,’ उनले भने, ‘पातला प्यानल आउनेवित्तिकै मोटा प्यानलहरु प्रतिस्थापन गरिनेछ ।’ प्राधिकरणले पातला प्यानल बनाउन हाल तार भूमिगतको कार्य गरिरहेको भारतीय कम्पनीसँग गत बर्ष नै अर्डर गरिसकेको थियो ।

प्राधिकरणले पुराना अर्थात ठूलो चौडाई भएका प्यानलहरु झिकेर नयाँ पातला प्यानल राख्दा प्राधिकरणलाई भने कालान्तरमा विद्युत वितरणमा केहि झन्झट हुने जानकारी दिएको छ । पातला र मोटा प्यानलका कारण ग्राहकहरुलाई केहि अप्ठ्यारो नभएपनि प्राधिकरणका लागि भने केही चुनौती रहेको प्राधिकरणको भनाई छ । पातला प्यानलमा ग्राहकहरुको ग्रुप छुट्याउन केहि अप्ठ्यारो हुने बताईन्छ । यता मोटो डिस्ट्रव्युसन प्यानलमा कुन क्षेत्रमा कुन लाइन पठाउनेलगायतका ग्रुपिङ गर्ने कार्य धेरै सजिलो हुन्थ्यो । यसले उपभोक्तालाई भने केही असर नगर्ने प्राधिकरणको भनाई छ ।

प्राधिकरणले काठमाडौंमा तार भूमिगत गर्ने काम लगभग अन्तिम चरणमा पुर्याएपनि मुख्य सडकमा भने सडक विभागले तार विछ्याउने अनुमति दिएको छैन । जसका कारण पुतलीसडक, दरवारमार्ग, माइतीघर, एयरपोर्टलगायतका सडकहरुमा हालसम्म तार भूमिगत गरिएको छैन । यी मुख्य सडकबाहेक अन्य क्षेत्रमा भने तार भूमिगत गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL