Logo

भारतले यसरी दिन्छ जनतालाई सहुलियत, नेपालमा २११० पुग्दा भारतीयले पाउँछन् १४४५ मै ग्यास

भारतले यसरी दिन्छ जनतालाई सहुलियत, नेपालमा २११० पुग्दा भारतीयले पाउँछन् १४४५ मै ग्यास



काठमाडौं । नेपालमा शनिबार रातिदेखि (अक्टोबर १ गतेदेखि) सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो । यसपटकको मूल्यवृद्धिमा सबैभन्दा ठूलो झट्का खाना पकाउने ग्यास प्रयोगकर्ताले बेहोनुपर्ने देखिएको छ । किनकी नेपाल आयल निगमले एकैपटक प्रतिसिलिण्डर ग्यासको मूल्यमा २१५ रुपैयाँ वृद्धि गरेको छ र अब सर्वसाधारण उपभोक्ताले एक सिलिण्डर ग्यासका लागि २११० रुपैयाँ खर्च गर्नुपर्नेछ ।

laxmi

निगमले सेप्टेम्बर १ मा पनि ग्यासको मूल्य बढाएको थियो । सो समयमा स्वचालित मूल्य प्रणाली भन्दै आयल निगमले २३५ रुपैयाँले खाना पकाउने ग्यासको मूल्य बढाएको थियो । सो मूल्य वृद्धिपछि ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको थियो । यसअघि ग्यास सिलिन्डरको मूल्य १ हजार ६६० थियो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले अन्य पेट्रोलियम पदार्थमा पनि मूल्य बढाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि भएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । त्यस्तै, पेट्रोलिल १८२ रुपैयाँबाट १८४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ६ वृद्धि भएर १७९ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, हवाइ इन्धनमा ४ रुपैयाँ मूल्य वृद्धि भएको आयल निगमले जनाएको छ ।

भारतमा यस्तो छ मूल्य

यता भारतमा पनि अक्टोबर महिना महँगीको झटकासंग सुरु भएको भारतीय सञ्चार माधयमहरुले उल्लेख गरेका छन् । भारतमा पनि तेल कम्पनीहरूले ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि गरेका छन् । अक्टोबर १ गतेदेखि व्यावसायिक एलपी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । भारतमा आइतबार अर्थात अक्टोबर १ गतेदेखि १९ किलोको व्यावसायिक ग्यास सिलिण्डरको मूल्य २०९ भारतीय रुपैयाँ (३३५ नेपाली रुपैयाँ) ले बढेको छ ।

एलपीजी सिलिन्डरको मूल्य बढेपछि दिल्लीमा १९ किलोको ग्यास सिलिन्डरको मूल्य १७३१.५० रुपैयाँ (२७७० नेपाली रुपैयाँ) पुगेको छ । भारतका अन्य सहरमा पनि ग्यासको मूल्य बढेको छ । भारतमा यसअघि सेप्टेम्बर १ मा तेल कम्पनीहरूले कमर्शियल ग्यास सिलिन्डरको मूल्य १५८ रुपैयाँ घटाएका थिए । सेप्टेम्बरअघि अगष्टमा पनि व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा एक सय रुपैयाँ घटेको थियो । तर, यो राहत धेरै दिन टिक्न सकेन ।

सर्वसाधारणलाई भने सहुलियतमा ग्यास

भारतले व्यवसायिक र घरेलु प्रयोगका लागि ग्यासको छुट्टाछुटटै मूल्य तय गरेको छ । जसका कारण व्यवसायिक प्रयोगका लागि ग्यासको मूल्यमा ठूलो मूल्यवृद्धि भएपनि सर्वसाधारणले भने अहिले पनि सहुलियत मूल्यमै ग्यास पाउँछन् । आइतबारदेखि भारतमा कमर्शियल ग्यासको मूल्य बढेपनि घरेलु ग्यास सिलिन्डरको मूल्यमा कुनै परिवर्तन भएको ।

यसअघि भारत सरकारले गत अगस्त ३० मा घरेलु ग्यास सिलिण्डरको मूल्य दुई सय रुपैयाँ (३२० नेपाली रुपैयाँ) घटाएर जनतालाई ठूलो राहत दिएको थियो । भारत सरकारले १४.२ केजी सिलिण्डरको मूल्य २ सय रुपैयाँ घटाएको थियो । यो कटौतीपछि दिल्लीमा सिलिन्डरको मूल्य ९०३ (१४४५ नेपाली) रुपैयाँ पुगेको छ । यसरी नेपालमा ग्यासको मूल्य २११० पुग्दा भारतीयले भने १४४५ रुपैयाँमै ग्यास पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL