Logo

तराइदेखि दुर्गम गाउँसम्म आलम, जसले दुर्गमको विद्यालयमा तीन दशक बिताए

तराइदेखि दुर्गम गाउँसम्म आलम, जसले दुर्गमको विद्यालयमा तीन दशक बिताए



काठमाडौँ । शिक्षणको शिलशिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नु पर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको शिलशिलामा यहाँ आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गरेका उनलाई फरक भूगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो । तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा विस्तारै घुलमिल हुँदै जाँदा आलम यही दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराएनन् जीवनको महत्वपूर्ण समय यही गाउँलाई सुम्पिन पुगे ।

विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गरेका आलमले २३ पर्षदेखि निरन्तर प्रधानध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हाले । तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका आलम अनिवार्य अवकास भएपछि सिङ्गो वडा र गाउँले अभिनन्दन गरेका छन् । यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुन् । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजासहित फूल, माला लगाएर अभिनन्दन गरेका हुन् ।

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिङ्गो गाउँवासीले उनलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए । एउटै विद्यालयमा तीन दशक बढी समय खर्चिएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिए ।

बिदाइमा सिङ्गो गाउँवासी र विद्यार्थीहरु सहित शिक्षक आलम समेत भावुक बनेका थिए । विदाईमा सबैका आँखा रसाएका थिए । विदाई भएर जाँदै गरेका शिक्षक आलमले आफू सेवा निवृत्त भएर घर जान लागेकोमा खुशी भन्दा जीवनको तीन दशक समय विताएका गाउँ छाडेर जानुपरेकोमा आफू भावुक भएको बताए । शिक्षणबाट अवकाश लिएपछि आफूलाई पारिवारिक रुपमा घरपरिवा सँगसँगै बस्ने वातावरण भए पनि जीवनको उर्जावान समय विताएको गाउँसंग टाढिन परेकोमा आफू दुःखी भएको उनले बताए ।

‘हिजोका ती सबै दुःख आज तपाईहरुले देखाउनुभएको मायाले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईहरुको मुल्यांकनको बिषय हो, तर तपाईहरुले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाईलाई सरल, सहज र स्मरणीय बनाइ दिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यबाद’, आलमले भने ।

यही असोज ३ गते नियमित अवकास लिएका शिक्षक आलमलाई गाउँमा विदाई गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरिएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गरेका थिए । रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा विस २०५० मा म्याग्दी आएका थिए । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त गरेका थिए ।
आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले विसं २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारी समेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो ।

विसं २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पिएका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यस अघि नगद रु एक लाख सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL