Logo

दुई महिनामा पौने १८ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १ अर्ब ९ करोड लगानी फिर्ता

दुई महिनामा पौने १८ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १ अर्ब ९ करोड लगानी फिर्ता



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो २ महिना साउन र भदौमा नेपालमा पौने १८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार यस अवधिमा १ सय २३ परियोजनामार्फत १७ अर्ब ८५ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो ।

laxmi

विभागका अनुसार यस अवधिमा नयाँ १ सय ११ परियोजनामार्फत मात्रै १४ अर्ब ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ बराबरको परियोजनामा लगानी प्रतिवद्धता आएको छ । यस्तै यसै अवधिमा नेपालमै संचालित १२ परियोजनामा भने विदेशी लगानीकर्ताहरुले सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्क्रिप्सन एग्रिमेन्टमार्फत ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी भित्र्ययाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

तर, चालु आवकै साउनको तुलनामा भने भदौमा वैदेशिक लगानी प्रतिवद्धतामा ठूलो गिरावट आएको देखिन्छ । दुई महिनामा आएको कुल पौने १८ अर्ब रुपैयाँ लगानी प्रतिवद्धतामध्ये करिव १३ अर्ब रुपैयाँ साउनमै आएको थियो । तर, भदौमा भने जम्मा ५ अर्ब रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको हो । यसरी हेर्दा भदौमा साउनको तुलनामा १३ अर्ब रुपैयाँ कम विदेशी लगानी प्रतिवद्धता आएको हो ।

पछिल्लो २ महिनामा आएको लगानीमध्ये २ ओटा ठुला, ५ मझौला र १ सय ४ ओटा साना परियोजना नेपालमा दर्ता भएका हुन् । यस्तै यसै अवधिमा आएका विदेशी लगानीका परियोजनामध्ये ५३.४८ प्रतिशत परियोजना पर्यटन क्षेत्रका, ९.८ प्रतिशत परियोजना उत्पादनमुलक क्षेत्रका र सूचना तथा संचार र पूर्वाधार क्षेत्रका समान २.२ प्रतिशत परियोजना दर्ता भएका हुन् । उद्योग विभागका अनुसार साउन र भदौ महिनामा विभागले उक्त अवधिमा ५ सय ४ जना लगानीकर्ता, ५४ जना प्रतिनिधि र १ सय ३४ जना तिनका परिवारहरुलाई व्यवसायीक भिसा स्वीकृत गरेको छ ।

१ अर्ब ९ करोड लगानी फिर्ता

यसै अवधिमा नेपालबाट विदेशी लगानीकर्ताहरुले करिव १ अर्ब ९ करोड रुपैयाँ बढी लगानी फिर्ता लगेका छन् । विभागका अनुसार रोयल्टी र लाभांस गरी उक्त रकम बराबरको लगानी उनीहरुले फिर्ता लिएका हुन् । जसअनुसार नेपालमा संचालित विदेशी लगानीका परियोजनाबाट रोयल्टीवापत विदेशी लगानीकर्ताहरुले ६० करोड ६१ लाख ११ हजार नेपाली रुपैयाँ, ३ लाख ६ हजार अमेरिकी डलर र १२ करोड २९ लाख भारतीय रुपैयाँ रोयल्टीका लागि सिफारिस लिएका हुन् । यसपल्ट युरोमा भने विदेशी लगानीकर्ताले लगानी फिर्ता लिएका छैनन् । यस्तै यसै अवधिमा २५ करोड रुपैयाँ बराबरको लाभांसका लागि सिफारिस दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL