Logo

विद्युतीय सवारी किन्नेलाई नाडामा बैंकहरुको प्रोत्साहन : बेसरेटमा कर्जा, कुन बैंकले कति लिन्छन ब्याज ?

विद्युतीय सवारी किन्नेलाई नाडामा बैंकहरुको प्रोत्साहन : बेसरेटमा कर्जा, कुन बैंकले कति लिन्छन ब्याज ?



काठमाडौं । पछिल्लो समयम बजारमा विधुतीय सवारी (इलेक्ट्रिक भेहिकल) प्रति आकर्षण बढ्दो छ । यो आकर्षणलाई बैंकहरुले पनि आफ्नो व्यवसाय वृद्धिमा उपयोग गर्दै विधुतीय सवारी खरीदमा सहज र सुलभ दरमा कर्जा प्रदान गरिरहेका छन् । राजधानीमा मंगलबारदेखि शुरु भएको १५ औं संस्करणको ‘नाडा अटो शो’ मा इलेक्ट्रिक गाडी किन्न चाहनेहरुलाई लक्षित गरेर बैंकहरुले विभिन्न योजना प्रस्तुत गरेका छन् ।

laxmi

इलेक्ट्रिक गाडी किन्नेलाई बेसरेटमा नै कर्जा दिएर बैंकहरुले प्रोत्साहितसमेत गरेका पाइन्छ । गाडी किन्ने पर्खाइमा बसेकाहरुका लागि नाडा अटो शो उपयुक्त गन्तब्यका रुपमा रहँदै आएको छ । विभिन्न कम्पनीहरुले नयाँ–नयाँ मोडलका गाडी लञ्च गर्ने, आकर्षक छुट प्रदान गर्ने, एकै थलोमा ब्राण्ड छनौटका साथै फाइनान्सको सुविधाजस्ता कारणले नाडा अटो शो नयाँ सवारी खरीदकर्ताका लागि सधै आकर्षण बन्दै आएको छ । यसमा बिभिन्न बैंकले सस्तो ब्याजदरमा सुलभ रुपमा कर्जा प्रदान गरेर थप उत्साह भरिरहेका छन् ।

न्यूनतम मूल्यदेखि एक करोडभन्दा बढी पर्ने गाडी खरीदको लागि बैंकहरुले अटो शो भित्र नै स्टल लगाएका छन । अटो शो मा कर्जा लिन र कर्जाको बारेमा बुझाउनको लागि वाणिज्य बैंकहरु नबिल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराईज बैंक, हिमालयन बैंक र प्रभु बैंकको स्टल रहेको छ । यसैगरी, विकास बैंकमा महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंकले कर्जा दिन र कर्जाको बारेमा बुझाउन अटो शो मा स्टल राखेका छन ।

गाडी खरीद गर्नको लागि बैंकहरुले व्यक्तिगत खरिकर्ता तथा संस्थागत खरीदकर्तालाई ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म डाउन पेमेन्टमै कर्जा दिने छन् । बैंकहरुले विशषस गरेर इलेक्ट्रिक सवारी खरीद गर्नेलाई ८० प्रतिशतसम्म डाउन पेमेन्टमा कर्जा दिइरेका छन् । यता, पेट्रोलियम इन्धनबाट चन्ले सवारी खरीद गर्ने ग्राहकको लागि बैंकहरुले ५० प्रतिशतसम्म डाउन पेमेन्टमा कर्जा दिएका छन । बैंकले प्याकेजमा एक वर्षदेखि जति कर्जाको अवधि छ त्यो अवधिभर उतारचढाव नहुने स्थिर कर्जासमेत प्रवाह गर्ने स्किम ल्याएका छन् ।

कुन बैंकले कतिमा दिन्छन अटो कर्जा ?

नबिल बैंकले ५ वर्षको लागि १०.४९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी खरीद गर्न ८० प्रतिशतसम्मको अटो लोन सुविधा दिने जनाएको छ । बैंकले कर्जाको अवधि लम्ब्याएर ७ वर्ष पुर्याउँदा ब्याजदर १०.९९ प्रतिशत पुग्ने बैंकले जनाएको छ । यस अतिरिक्त बैंकले गाडीका लागि कर्जा लिने ग्राहकलाई दुई लाखसम्मको लिमिट भएको क्रेडिट कार्ड सुविधा पनि दिएको छ । अटो शोमा गाडी किनेर नबिल बैंकको कर्जा लिने ग्राहकले उक्त कार्ड सुबिधा पाउने छन् ।

यसैगरी, ग्लोबल आइएमई बैंकले प्राइभेट र कमर्सियल सवारीसाधनलाई छुट्टाछुट्टै ब्याजदरमा अटो लोन दिने योजना ल्याएको छ । बैंकले व्यक्तिगत रूपमा विद्युतीय गाडी किन्न खोज्नेहरुका लागि १०.४९ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । यस्तै इन्धनबाट चल्ने गाडी किन्ने ग्राहकलाई १०.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने योजना ल्याएको छ । व्यवसायिक प्रयोजनका लागि खरीद गरिने विद्युतीय गाडीमा ११.४९ प्रतिशत र इन्धनबाट चल्ने गाडी किन्दा १२.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने अटो शो स्टकका बैंक प्रतिनिधीले जानकारी दिए ।

दुवै प्रकारका विद्युतीय गाडीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने योजना बैंकको छ । यसको सेवा शुल्क भने ०.५ प्रतिशतसम्म छ । इन्धन गाडीका लागि कुल मूल्यको ५० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको हो । यसका लागि बैंकले ०.७५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ । कर्जाको अवधिभर ब्याजदर परिवर्तन नहुँने बैंकले जानकारी दिएको छ ।

यसैगरी, प्रभु बैंकले भने हुन्डाइका विद्युतीय गाडी खरीद गर्दा बेस रेटभन्दा कममा कर्जा दिने जानकारी दिएको छ । हुन्डाइ कम्पनीको विद्युतीय गाडि खरीद गर्दा बैंकले ९.९९ प्रतिशत मै कर्जा दिने योजना छ । यसबाहेक जुनसुकै ब्राण्डका विद्युतीय गाडी खरीद गर्दा बेस रेटमा एक प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा दिने बैंकको योजना छ । हाल बैंकको बेस रेट १०.१५ प्रतिशत छ ।

सानिमा बैंकले गाडी किन्न १०.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । बैंकले कर्जाको ७ वर्ष अवधिभर ब्याजदर स्थिर रहने जानकारी दिएको छ । बैंकले यस कर्जाको सेवा शुल्क पनि ०.५ प्रतिशत राखेको छ । यसैगरी, हिमालयन बैंकले पनि विद्युतीय गाडी खरीद गर्दा ११.९९ प्रतिशतमा कर्जा दिने भएको छ । बेस रेटमा १.१२ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने अफर ल्याएको छ । बैंकको बेस रेट १०.८७ प्रतिशत छ । बैंकले ८ वर्षसम्मका लागि स्थिर हुने कर्जाको योजना ल्याएको हो । बैंकले उक्त ब्याजदरमा ०.५ प्रतिशत सेवाशुल्क जोड्ने छ ।

लक्ष्मी सनराइज बैंकले विद्युतीय गाडी खरीदका लागि कर्जा दिँदा बेस रेटमा एक प्रतिशत र इन्धन गाडीका लागि १.५ प्रतिशत प्रिमियम लगाउने योजना ल्याएको छ । यदि स्थिर प्रकृतिको कर्जा लिने हो भने, बैंकले ५ वर्षसम्म दुवै प्रकारको गाडीमा १२.५० प्रतिशत स्थिर कर्जा लिनेछ । सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै तय गरेको छ ।

अटो शोमा कर्जाको अफरसहित दुई विकास बैंकले पनि स्टल राखेका छन् । कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले अटो शोमा कर्जा दिनको लागि स्टल राखेका छन । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधनका लागि वार्षिक ११.९५ प्रतिशत ब्याजदरमा कर्जा दिन योजना ल्याएको छ । बैंकले बेस रेटमा ०.१४ प्रतिशत जोडेर अटो कर्जा दिन लागेको हो । बैंकले विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिने जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंकले विद्युतीय गाडी र इन्धन गाडीका खरीददारहरुलाई लागि छुट्टाछुट्टै अफर ल्याएको छ । विद्युतीय गाडीका लागि कर्जा लिँदा ३ देखि ५ वर्ष अवधिको कर्जा दिने जनाएको छ । अधिकतम ३ करोडसम्म यस्तो कर्जा पाइनेछ । इन्धनबाट चल्ने गाडीमा ३ देखि ८ वर्षका लागि कर्जा दिने जनाएको छ । कर्जा अधिकतम ३ करोडसम्म दिने जनाएको छ । विद्युतिय गाडीका लागि ८० प्रतिशत र इन्धनका लागि ५० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकले १२.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने योजना ल्याएको हो । बैंकको बेस रेट ११.२१ प्रतिशत छ । बैंकले अटो लोन लिँदा सेवा शुल्क बापत ०.७५ प्रतिशत लिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL