Logo

आम्दानीको स्रोत बन्न सक्छ तपाईँको कपाल, नेपालीको कपाल अमेरिकादेखि चीनसम्म माग

आम्दानीको स्रोत बन्न सक्छ तपाईँको कपाल, नेपालीको कपाल अमेरिकादेखि चीनसम्म माग



काठमाडौं । तपाईँको कपाल तपाईँको आम्दानीको स्रोत बन्न सक्छ भन्दा तपाईलाई अपत्यारिलो लाग्न सक्ला । तर, यो सत्य हो । तपाईले ब्युटीपार्लर, कपाल काट्ने ठाउँलगायतमा पैसा तिरेर काट्न लगाएको कपाल कहाँ जान्छ होला ख्याल गर्नुभएको छ ? पक्कै छैन । तर, तपाईले कुनै महत्व नदिने काटेको कपाल भने विश्वभर राम्रो मूल्यमा विक्रि हुने गरेको छ र करोडौ मानिसले आफ्नो कपाललाई आम्दानीको स्रोत बनाइरहेका छन् ।

laxmi

हामीललाई सामान्य लाग्ने हाम्रै कपाल कसैको मनग्य आम्दानीको स्रोत बनिरहेको छ । तपाई हामीले पैसा तिरेर काट्न लगाएको कपाल कोही अर्काे व्यक्तिको आम्दानी बनिरहेको छ । छिमेकी देश भारतका विकट र ग्रामीण भेगका धेरैजसो न्यून आय भएका महिलाहरुले आफ्नो कपाललाई ६ महिनाको एकपटक आम्दानी गर्नेगरी आम्दानीको स्रोत बनाएका छन् । यता मध्यपूर्वका ईरान, ईराकलगायत देशका त पुरुषहरु पनि यसलाई आम्दानीको स्रोत मान्छन् । त्यहाँ प्रतिबर्ष एकपटक मात्रै कपाल काट्ने प्रचलन छ । त्यसरी एक बर्षमा एकपटक काटिएको कपाल बेचिन्छ र मनग्य आम्दानी गरिन्छ । नेपालमै पनि कपाल बेचेर आम्दानी गर्नेहरु बढिरहेका छन् ।

आखिर के काम लाग्छ कपाल ?

मानिसको कपाल खासगरी कस्मेटिक क्षेत्रमा नक्कली कपाल ‘विग’, नक्कली आँखीभौं, दाह्री, जुँगा आदि बनाउन प्रयोग गरिन्छ । यसका साथै मानिसको कपाल औषधि क्षेत्रमा, कृषि क्षेत्रमा मलको रुपमा, किटाणु नष्ट गर्नलगायत कार्यमा पनि उपयोगी हुने बताइन्छ ।

विश्व बजारमा करिव साढे ३ अर्ब डलरको व्यापार हुने नक्कली कपाल धेरै व्यापार हुने उच्च १ सय वस्तुभित्र पर्छ । विश्वबजारमा खासगरी हंगकंग, इन्डोनेसिया, अमेरिका, जर्मनी, चीन, बंगलादेशलगायतका देशहरुले नक्कली कपालको आयात र निर्यात दुबै अत्याधिक गर्ने गरेका छन् । गत बर्ष चीन एक्लैले मात्रै ५ अर्ब ३६ करोड डलर बराबरको नक्कली कपाल निर्यात गरेको थियो । यस्तै अन्य विकसित देशहरुले पनि बर्षेनी करोडौं डलर बराबरको कपालको व्यापार गर्ने गरेका छन् ।

नेपालमा के छ ?

नेपालकै कुरा गर्दा पनि गत आर्थिक बर्ष २०७९/८० मा मात्रै करिव ११ करोड ७२ लाख रुपैयाँ बराबरको कपाल, आँखीभौँ, दाह्रीलगायत विक्री भएको छ । अर्थात गत आर्थिक बर्षमा मात्रै नेपालले १ लाख ९ हजार किलो कपाल विक्री गरेको छ । यता चालु आर्थिक बर्षको पहिलो साउन महिनामा भने नेपालले ६२ लाख रुपैयाँ बराबरको ५ हजार किलो कपाल विदेश निर्यात गरेको छ । नेपालले खासगरी अमेरिका, कोरिया, बंगलादेश, नेदरल्याण्ड, भारत, चीनलगायतका देशमा कपाल निर्यात गर्ने गरेको छ । यस्तै नेपालले अन्य विकसित देशहरु क्यानडा, अष्ट्रेलिया, बेलायतलगायतका देशमा पनि कपाल पठाउने गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक बर्ष नेपालबाट अमेरिकामा मात्रै ५ करोड ६ लाख रुपैयाँ बराबरको ८ हजार ८ सय किलो कपाल निर्यात भएको थियो । यस्तै यसै अवधिमा नेदरल्याण्डमा २ करोड ३० लाखको र कोरियामा १ करोड ६९ लाख रुपैयाँ बराबरको कपाल निर्यात भएको छ । पछिल्लो समय नेपालबाट विदेशमा निर्यात हुने मानव कपालको निर्यात बढ्दै गएको छ । विभागको तथ्यांलाई आधार मान्दा अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा गत आर्थिक बर्ष यस्तो निर्यात करिव ३ करोड रुपैयाँले बढेको छ ।

नेपालले कतिपय देशहरुबाट धेरैजसो वस्तुको कच्चापदार्थ आयात गरि त्यसमा केही भ्यालुएड गरेर वस्तुको निर्यात गर्ने गरेको छ । जस्तै खानेतेल, गरगहना, तयारी पोशाकलगायतका वस्तुहरु बाहिरबाट कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गर्दै भ्यालु एड गरेर निकासी हुने गरेका छन् । तर, शतप्रतिशत स्वदेशी उत्पादन भने कपाल मात्रै भएको व्यवसायी बताउँछन् । अर्थात नेपालबाट निर्यात हुने जतिपनि कपाल, विगहरु छन ती सबै शुद्ध नेपाली वस्तु हुन् ।

भारत चीनलगायतका देशहरुमा विभिन्न कपाल काट्ने पसलहरुबाट एकदमै कम मूल्यमा यस्तो कपाल जम्मा गरिन्छ । तर, कतिपय देशमा भने विभिन्न गरिव मानिसहरुले कपाल कोर्ने बेलामा काईँयोमा अड्किएको कपाल पनि बेच्ने गर्दछन् । जसलाई प्रशोधन गरी विभिन्न स्वरुपमा परिवर्तन गर्दै भ्यालु एड गरेर बेच्ने गरिन्छ । नेपालकै सन्दर्भमा पनि कपाल काट्ने पसलहरुले कपाल जम्मा गरेको देख्न पाइन्छ । यस्तै महिलाहरुले कपाल कोर्ने बेला झरेको कपाल पनि कपाल संकलकहरुले खरिद गरेर लिने गरेका छन् । तर, कतिपय स्थानमा भने कपाल पालन नै गरिन्छ । इरानलगायतका देशहरुमा बर्षमा एकपटक कपाल काट्ने परम्परा छ । जसअनुसार एक बर्षमा एकपटक कपाल काट्दा कपाललाई व्यवस्थित तरिकाले काटेर बेच्ने गरिन्छ । यस्तो काम भने त्यहाँका कपाल संकलकहरुले गर्दछन् । कपाल पाल्ने मानिसहरुले बार्षिक राम्रै आम्दानी पनि गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL