Logo

बढ्दो पुँजी र नाफामा गिरावट आउँदा बैंकको लाभांश क्षमता निरन्तर घट्दै, जोखिम बढ्दै

बढ्दो पुँजी र नाफामा गिरावट आउँदा बैंकको लाभांश क्षमता निरन्तर घट्दै, जोखिम बढ्दै



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको नाफामा निरन्तर गिरावट आउँदा उनीहरुले आफ्ना लगानीकर्तालाई दिने लाभांश क्षमतामा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष (२०७८/२०७९) मा वाणिज्य बैंकहरुले कर प्रयोजनसहित औसत ८.४८ प्रतिशतमात्र लाभांश बाँडेका थिए । पछिल्ला केहि वर्षयता बैंकको लाभांश क्षमतामा धेरै नै गिरावट आएको तथ्याकंले देखाउँछ ।

laxmi

बढ्दो चुक्तापुँजी र बजारमा सोहीअनुरुप प्रतिस्पर्धा बढ्दा बैंकहरुको लाभांश क्षमता निरन्तर ओरालो लाग्ने क्रम जारी छ । चुक्तापुँजी बढ्दा बैंकको रिटर्न अन अर्निङ घट्दा लाभांश पनि घटने देखिएको हो । सोहीअनुरुप गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण गर्ने लाभांश अझै घट्न सक्ने देखिन्छ । बैंकलेहरुले गत आर्थिक वर्षको अन्त्यसम्म सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लाभांश क्षमता यस वर्ष झन घट्न सक्ने सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष २० वाणिज्य बैंकले दिने लाभांश क्षमता ११.३९ प्रतिशतको हाराहारीमा रहेको छ । तर नियामकीय व्यवस्थाअनुसार बैंकहरुले आफ्ना लगानीकर्तालाई दिने लाभांशमा भने अझै गिरावट आउने देखिन्छ ।

तर, हालसम्म माछापुच्छ्रे बैंकलेमात्र गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । माछापुच्छ्रेले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । तर, अन्य १९ वटा वाणिज्य बैंकले भने हालसम्म गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कति लाभांश दिने भनेर घोषणा गरिसकेका छैनन् ।

पछिल्लो समय बैंकहरुमा बढ्दो खराब कर्जा, सोहीअनुरुपको प्रोभिजनलगायतका कारण बैंकको नाफामा गिरावट आउँदा सेयरधनीले पाउने लाभांशमा गिरावट आउने बैंकरहरु बताउँछन् । अघिल्लो आर्थिक वर्ष बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको थियो । बैंकहरुले कर्जाको मागअनुरुप लगानी गर्न पाएनन् । त्यसपछि आर्थिक मन्दीको कारण निजी क्षेत्र सिथिल हुँदा बैंकमा लगानीयोग्य रकम भएतापनि बैंकहरुले लगानी बढाउन नसक्ने अवस्थामा पुगेका छन् । जसले गर्दा बैंकको नाफामा अझै गिरावट आउन सक्ने सम्बद्ध विज्ञहरु बताउँछन् ।

तर, पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण बैंकहरुले गर्ने लगानीको जोखिम बढ्दै गएको छ । बैंकहरुको खराब कर्जा र गैर बैंकिङ सम्पत्तिलाई तुलना गर्ने हो भनेपनि अघिल्ला वर्षको तुलनामा उच्च देखिन्छ । एकातर्फ घट्दो नाफा र अर्कोतर्फ खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा आगामी दिनमा लगानीकर्ताले पाउने नाफामा उच्च गिरावट आउनुका साथै सोहीअनुरुप जोखिम बढ्ने सम्बद्ध बैंकहरु नै बताउँछन् ।

कुन वर्ष बैंकहरुको लाभांश क्षमता कति थियो ?

आजभन्दा १२ वर्ष अगाडि २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका थिए । आर्थिक वर्ष २०६७–०७८ मा २८ वटा वाणिज्य बैंकले औसत ९.७२ प्रतिशत रहेको लाभांश वितरण गरेका थिए । यसैगरी, त्यसपछिका केहि वर्षमा बैंकहरुको लाभांश क्षमता बढेको थियो । आर्थिक वर्ष २०७५–७६ सम्म आइपुग्दा वाणिज्य बैंकको लाभांश क्षमता औसतमा १२.५७ प्रतिशत रहेको थियो । तर त्यसपछिका वर्षहरुमा भने बैंकको लाभांश घट्दो अवस्थामा रहेको छ ।

बैंकको लाभांश क्षमतामा गिरावट आउनुको कारण तीव्र प्रतिस्पर्धा र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति रहेको बैंकर भुवन दाहाल बताउँछन । उनी भन्छन, ‘केही वर्ष अगाडिसम्म बैंकहरूबीचको तीव्र प्रतिस्पर्धा मुख्य सहरहरूमा सीमित थियो,’ उनी भन्छन, ‘हाल ७७ जिल्ला सदरमुकाममा पुगिसकेको छ भने कतिपय ठाउँमा हालको व्यवसायको अवस्था र सम्भावित व्यवसाय वृद्धिलाई ध्यान दिँदासमेत शाखाहरूको संख्या बढीजस्तो देखिन्छ ।’ यसैगरी, कतिपय बैंकले शाखा विस्तारसम्बन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने देखिएको दाहालको बुझाई छ  । आम्दानी बढाउने र खर्च घटाउन सकिने अन्य क्षेत्रको निरन्तर खोजी जारी राख्नुपर्ने दाहालको सुझाव छ ।

बैंकहरुको प्रतिफल तथा लाभांशमा गिरावट आउनुको कारण नेपाल राष्ट्र बैंकको नीतिले पनि मूख्य भुमिका खेलिरहेको उनले बताए । ‘डा.युवराज खतिवडाले गभर्नर हुँदा ५ प्रतिशतको स्प्रेडदर कामय राख्ने नीति ल्याएका थिए,’ उनले भने, ‘तर चिरञ्जीवी नेपाल गभर्नर हुँदा त्यसलाई घटाए ४.४ प्रतिशतमा झारिदिए भने आम्दानी गर्ने सम्पत्तिमा लगानीलाई जोड्न नपाउने नियम आयो जसको असर बैंकहरुले आर्जन गर्ने नाफामा पर्यो ।’

यसैगरी महाप्रसाद अधिकारी गभर्नर भएपछि देशमा औद्योगिक वातावरण निर्माण गर्न कर्जाको ब्याज घटाउने रणनीति अनुरुप स्प्रेडदरलाई अझै घटाए ४ प्रतिशतमा झारिदिए । एकातर्फ बढ्दो पुँजी र अर्कोतर्फ बैंकहरुले कमाउने कुसन नै घटाउँदै लगेका कारण नाफामा गिरावट आएको उनी बताउँछन । यसैगरी, राष्ट्र बैंकले बैंकहरूले लिने कर्जाको सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क आदिमा पनि कसिलो नीति ल्याएको र यसले बैंकको आम्दानीमा गिरावट आएको उनको बुझाई छ ।

बैंकहरुको १२ वर्षमा कति लाभांश वितरण गरे सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL