Logo

सिद्धार्थ प्रिमियरले गर्यो डिजिटल बीमाको सुरुवात, अनलाइनबाटै बीमालेख जारी र दाबी फर्छ्यौट गर्न सकिने

सिद्धार्थ प्रिमियरले गर्यो डिजिटल बीमाको सुरुवात, अनलाइनबाटै बीमालेख जारी र दाबी फर्छ्यौट गर्न सकिने



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डिजिटल बीमाको सुरुवात गरेको छ । कम्पनीले अब बीमालेख जारीदेखि बीमा दाबीको फर्छ्यौटसमेत अनलाईनबाटै गर्न सकिने गरी ‘एसपीआइएल डिजी’ सेवाको सुरुवात गरेको हो । यसबाट बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले एक समारोहका बीच उक्त सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

laxmi

उक्त समारोहमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिएका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताएका छन् । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको बताए । उनले अब यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै उनले अहिलेको जमानामा प्रविधिमैत्री नभए पछि परिने भन्दै डिजिटल भुक्तानी प्रणाली ल्याएको बताए । ‘हामी बीमामा डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी हौं,’ उनले भने, ‘अब बीमामा डिजिटलाईजेसन अनिवार्य भैसकेको छ ।’
कम्पनीले यसमार्फत सेमी अटोमेशन सेवा दिने बताउँदै उनले यसमार्फत अनलाइनबाट पोलिसी जारी हुने र दावी भुक्तानी पनि अनलाइन बाट नै हुने बताए ।

एसपीआइएल डिजी एक डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना विमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसवाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL