Logo

नेपालमै इन्धन उत्पादनको सम्भावना बढ्दै, दैलेखपछि पाल्पा र बराहक्षेत्रमा पनि पेट्रोलियम अन्वेषण शुरू

नेपालमै इन्धन उत्पादनको सम्भावना बढ्दै, दैलेखपछि पाल्पा र बराहक्षेत्रमा पनि पेट्रोलियम अन्वेषण शुरू



काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार घाटाको सबैभन्दा मुख्य वस्तु इन्धन उत्पादनको सम्भावनाबारे नेपालमै थप खोज थालिएको छ । दैलेखको पादुकास्थान र श्रीस्थानमा पेट्रोलियम अन्वेषण अन्तिम चरणमा पुग्नै लाग्दा नेपालका अन्य सम्भावित क्षेत्रमा पनि पेट्रोलियम अन्वेषण सुरु गरिएको हो । सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको प्रारम्भिक सम्झौता अनुरुप पाल्पा र बराहक्षेत्रमा पेट्रोलियम अन्वेषण सुरु गरिएको थियो ।

laxmi

यसअघि सोही सम्झौताअनुसार दैलेखको पादुकास्थान र श्रीस्थानमा काम अन्तिम चरणमा पुर्याइसकेको चिनियाँ भूगर्भविदको टोलीले पाल्पा र सुनसरीको बराहक्षेत्रमा अन्वेषणको काम अघि बढाएको हो । ५ जना चिनियाँ भूगर्भविद्को टोली गएको जेठमा नेपाल आएर उक्त दुई क्षेत्रमा केहि अध्ययन गरेर फर्किएको खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना प्रमुख दिनेश कुमार नापितले जानकारी दिए ।

‘करिव २ महिना अघि नै चिनियाँ टोलीले पाल्पा र बराह क्षेत्रमा पनि केहि अध्ययन गरी चट्टानका स्याम्पल लिएर गएको छ,’ उनले भने, ‘उक्त अध्ययन र चट्टानको विश्लेषणपछि उक्त क्षत्रेमा पेट्रोलियमको भण्डारणको अवस्था थाहा हुनेछ ।’ चिनियाँ टोलीले उक्त क्षेत्रसम्म पुग्नका लागि आवश्यक बाटोको नक्सा (रुटम्याप), उक्त क्षेत्रमा चट्टानको स्याम्पललगायत संकलन गरेको हो । उक्त क्षेत्रको भौगोलिक अवस्था र चट्टानको स्याम्पलबाट जमिनमुनी रहेको पेट्रोलियम पदार्थ भण्डारणको अवस्था र भण्डारण हुनसक्ने सम्भावनाका बारेमा पत्ता लगाउन उक्त नमुना संकलन गरेर चिनियाँ टोली चीन फर्केको परियोजना प्रमुख नापितले बताए ।

अर्थात चट्टानको नमुना विश्लेषणबाटै जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने क्षमता रहेन–रहेको एकिन हुन्छ । सोही चट्टानको अध्ययन र विश्लेषणपछि चिनियाँ टोली थप अध्ययनका लागि नेपाल आउने खानी विभागले जानकारी दिएको छ । उक्त क्षेत्रमा अब पेट्रोलियम भण्डारणको सम्भाव्यता अध्ययनका लागि म्याग्नेटो टेल्युरिक सर्भे भने गर्न बाँकी छ । यो सर्भे जमिनमुनी विद्युत चुम्बकीय फ्रिक्वेन्सी पठाएर गरिने सर्भे हो । यसपश्चात यी क्षेत्रमा पेट्रोलियम पदार्थको भरपुर स्रोत रहेको अवस्थामा अन्य अध्ययनका क्रियाकलापहरु अघि बढ्ने बताइएको छ ।

नेपालको चुरे पर्वत क्षेत्रमा पेट्रोलियमको खानी रहेको सम्भावना देखिएको सयौं बर्ष भएपनि हालसम्म अन्वेषणका नाममा बेलाबेलामा सामान्य अध्ययन मात्रै हुँदै आएको छ । विस २०७२ सालमा भारतले अघोषित नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालमा पेट्रोलियम अन्वेषणसम्बन्धी द्विपक्षिय सम्झौता गरेका थिए । सम्झोता भएपनि सोही अनुसार काम भने अघि बढ्न सकेको थिएन । तर, पुनः २३ अगस्ट, २०१७ मा नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब रुपैयाँ सहयोगको घोषणासमेत गरेको थियो । जसको सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो ।

त्यसपश्चात चिनियाँ भूगर्भविदहरुको टोलीले नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो । उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोलीले दैलेखमा भने यसको गहन अध्ययन गरेको थियो । हाल दैलेखमा पेट्रोलियम खानी रहेको प्रवल सम्भावना रहेको भन्दै सबै सर्भे सकिएर अन्वेषणको अन्तिमतिर आइपुगेको छ । अन्तिम अन्वेषणका अर्थात ड्रिलिङ सर्भे गर्नका लागि उपकरण ल्याउन सडकको चौडाईले रोकेको खानी विभागले जानकारी दिएको छ । उक्त उपकरणको चौडाई र तौल नै दैलेखसम्म पुग्ने सडकले धान्न नसक्ने भएकाले खानी विभागले सडक विभागलाई सडक चौडा गरिदिन अनुरोध गरेको छ ।

चिनियाँ टोलीको नेपालमा पेट्रोलियम अन्वेषण गर्नका लागि छुट्र्याएको म्याद आगामी चैतमा सकिँदैछ । यता सडक विभागले दैलेखको उक्त क्षेत्रसम्म पुग्ने सडक नबनाइदिँदा एक बर्षमा करिव ४ हजार मिटर ड्रिल गर्न सकिने अवस्था नरहेको देखिन्छ । यसका लागि दैलेखमै पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोलीलाई थप समय दिनुपर्ने अवस्था आउने देखिन्छ । यता पाल्पा र बराहक्षेत्रमा भने चट्टानको नमूनाबाट सकारात्मक परिणाम आए यत्तिकै पनि चिनियाँ भूगर्भविद्हरुका लागि समय थप्नुपर्ने बाध्यता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL