Logo

कर्जाको माग नहुँदा बैंकमा थुप्रियो ४ खर्ब लगानीयोग्य रकम, तर किन निक्षेपको ब्याज बढाउँदैछन बैंक ?

कर्जाको माग नहुँदा बैंकमा थुप्रियो ४ खर्ब लगानीयोग्य रकम, तर किन निक्षेपको ब्याज बढाउँदैछन बैंक ?



काठमाडौं । बजारमा कर्जाको माग नहुँदा पछिल्लो सयम बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम ४ खर्वभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बैंकमा लगानीयोग्य रकम भएपनि बाणिज्य बैंकहरुले भने सस्तोमा कर्जा लगानीको सट्टा महंगोमा निक्षेप उठाउन थालेका छन् ।

laxmi

कोरोना समयपछि देशमा आर्थिक गतिविधि नफस्टाउँदा बैंकहरुलाई पछिल्लो समय ऋण उठाउन कठिन भैरहेको छ । जसका कारण समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको अनुपात बढिरहेको छ । पछिल्लो समय बैंकहरुको प्राथमिकतामा कर्जा प्रबाहभन्दा पनि खराब कर्जालाई कम गर्न बैंकहरुले निक्षेपको ब्याज बढाएर कर्जा प्रवाहलाई निरुत्साहित गर्ने रणनीति लिएको देखिन्छ । जसका कारण आधारदरलाई घट्न नदिई कर्जाको ब्याज उच्च राखी कर्जा प्रबाहलाई न्यून गर्ने रणनीतिका साथ बैंकहरुले बढी ब्याजदरमा निक्षेप उठाएको हुन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

तलरता उच्च अएको अवस्थामा नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेसँगै निक्षेपको ब्याज घट्ने अनुमान थियो । तर ठिक त्यसको विपरित ५ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । जसका कारण कर्जाको ब्याजदर पनि तत्कालै घट्ने अवस्था नदेखिने बैंकिङ क्षेत्रका विज्ञहरु बताउँछन् । भद्र सहमति तोडेसँगै बैंक एनएमबी बैंक, नबिल बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएका छन् । यसमा १ वर्षको लागि ३ वटामात्र बैंक (कुमारी, एनआईसी र प्राईम) ले ब्याजदर बढाएका छन् ।

एनएमबी बैंकले १० वर्षको लागि राखिने निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने घोषणा गरेको कारण त्यसलाई बढाएको भन्न नमिल्ने एक बैंकर बताउँछन । ती बैंकर भन्छन, ‘एक वर्षको लागि ३ वटा बैंकले ब्याजदर बढाएका छन्, त्यसलाई बढाएको भन्न मिल्छ तर १० वर्षको लागि राखिने निक्षेपमा १०९३ प्रतिशत ब्याज दिने घोषणा गरेको कारण त्यसलाई बढाएको भन्न मिल्दैन ।’ लामो समयसम्म निक्षेप राख्न प्रोत्साहन गर्न बैंकहरुले धेरै ब्याज अफर गर्ने गरेको समेत ती बैंकर बताउँछन् ।

६ महिनामा सवा ४ खर्ब निक्षेप थपिदा १ खर्ब कर्जा प्रवाह

पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थामा हाल निक्षेप संकलन ह्वातै बढेको छ । तर, सो अवधिमा कर्जा लगानी भने धेरै नै सुस्त देन्खिन्छ । गत पुस १९ गतेसम्म ५२ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप भएको बैंक तथा वित्त कम्पनीमा हालसम्म बढेर ५७ खर्ब ६७ अर्ब रुपैयाँ बराबर निक्षेप पुगेको छ ।

बैंकहरुको निक्षेप लगभग ६ महिनाको अवधिमा ४ खर्ब ७२ अर्ब रुपैयाँ बराबरले बढेको देखिन्छ । यता पुस १९ गतेसम्म ४७ खर्ब ६७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले असार २९ गतेसम्म आउँदा ४८ खर्ब ७९ अर्ब रुपैयाँ बराबर कर्जा लगानी गरेका छन् । बैंकहरुको कर्जा लगानी ६ महिनाको अवधिमा १ खर्ब १२ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको १९ गतेसम्म ८६.६६ प्रतिशत रहेको बैंकहरको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) असार ३१ गतेसम्म आउँदा ८१.६५ मा झरेको छ । यसले पनि बैंकहरुमा लगानी योग्य रकम प्रसस्त भएको संकेत गर्छ ।

अन्तरबैंक ब्याजदर ६ महिनायताकै न्यून

असार मासन्तसम्म बैंकहरुको ब्याजदर ६ महिना यताकै न्यून बिन्दुमा आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ९ प्रतिशतसम्म पुगेको अन्तर बैंक ब्याजदर गत पुस १९ गतेसम्म आईपुग्दा ७.०७ प्रतिशतमा झरेको थियो । तर माघको १३ गते घटेर ४.०९ प्रतिशतमा आएको थियो । यो बेला घटेको अन्तरबैंक ब्याजदर माघ २९ गते फेरी बढेर ८.३८ प्रतिशत पुगेको थियो । यस्तो ब्याजदर फागुनको ९ गतेसम्म आईपुग्दा पुनः बढेर ८.५० पुग्यो ।

तर केही समयपछि अन्तरबैंक ब्याजदर घटेर ७ प्रतिशतको हाराहारीमा स्थिर रहेको थियो । तर, जेठ महिना सुरु भएदेखि बैंकको अन्तरबैंक ब्याजदर निरन्तर घट्दो क्रममा छ । जेठ १४ गते नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस दिन अन्तरबैंक ब्याजदर ५.७४ प्रतिशत रहेको छ । यसैगरी असार लागेसँगै यस्तो ब्याजदर निरन्तर ओरालो लागेको देखिन्छ । हाल अन्तर बैंक ब्याजदर घटेर न्यून विन्दू अर्थात ०.४४ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL