Logo

अब सुविधा र क्षमताअनुसार ट्याक्सीको वर्गीकरण, विशिष्ट श्रेणीको ट्याक्सीले दोब्बर भाडा लिन पाउने

अब सुविधा र क्षमताअनुसार ट्याक्सीको वर्गीकरण, विशिष्ट श्रेणीको ट्याक्सीले दोब्बर भाडा लिन पाउने



काठमाडौं । नेपालमा चल्ने ट्याक्सीहरुको वर्गीकरण गरिने भएको छ । सरकारले साधारण, विशेष र विशिष्ट गरी ३ तहमा ट्याक्सीको वर्गीकरण गर्न लागेको हो । यातायात व्यवस्था विभागले ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८० को मस्यौदामा यो व्यवस्था गरेको हो ।

laxmi

उक्त मापदण्डको मस्यौदा विभागले रायसुझावका लागि सार्वजनिक गरेको हो । मापदण्डमा सवारीभित्र दिईने सुविधा अनुसार ट्याक्सीको वर्गीकरण गरिने उल्लेख छ । जसअनुसार साधारण ट्याक्सीको भाडा सरकारले तोकेबमोजिम हुनेछ भने विशेष र विशिष्टको भाडा भने सरकारले तोकेको भाडामा क्रमशः २० प्रतिशत र १०० प्रतिशत बढी हुनेछ । अर्थात विशिष्ट बर्गमा परेको ट्याक्सीले यात्रुसँग साधारण ट्याक्सीको तुलनामा दोब्बर भाडा लिन पाउनेछ ।

मापदण्डले ट्याक्सीहरुको न्युनतम मापदण्डमा भने एन्टिलक ब्रेकिङ सिस्टम, ड्राइभर र ड्राईभरको साइडको सिटका लागि एयरब्याग, हाई स्पिड अलर्ट सिस्टम, पछाडीको ढोकामा चाइल्ड लक सिस्टम, सबै सिटमा सिटबेल्ट, पार्किङ सेन्सरलगायतका बिशेषता अनिवार्य गरिएको छ ।

यस्तै विशिष्ट ट्याक्सीका लागि मनोरञ्जनका लागि साउन्ड सिस्टम, कम्तीमा एउटा टचस्क्रिनसहितको डिस्प्ले स्क्रिन, झ्याल विद्युतीय स्विचबाट खुल्ने बन्द हुने सुविधा, एसी र रिडिङ ल्याम्प हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै विशिष्ट ट्याक्सीका लागि भने बिशेष ट्याक्सीमा थप सबैतिर समान रुपले हावा फाल्ने एसी, हेड र आर्म रेस्ट, अगाडी र पछाडी कप होल्डर, इन्टरनेटको सुविधा, सबै सिटमा टचस्क्रिनसहितका डिस्प्लेलगायतका सुविधाहरु हुनेछन् ।

यस्तै मापदण्डमा ३० किलोवाट वा सोभन्दा बढी इन्जिन वा मोटर शक्ति भएको गाडीलाई साधारण, ५० किलोवाट माथिको गाडीलाई विशेष र १ सय किलोवाट माथि क्षमताको मोटर भएको गाडीलाई विशिष्ट ट्याक्सीमा वर्गीकरण गरेको छ । यसका लागि टर्क क्षमता, व्हिल बेस र बुट स्पेश पनि छुट्टाछुट्टै तोकिएको छ ।

ट्याक्सी संचालनका लागि जुनसुकै प्रकारको ट्याक्सी भएपनि मान्य हुने बताईएको छ । तर, लिथियम आयन ब्याट्रीबाट संचालन हुने सवारीलाई मात्रै विद्युतीय ट्याक्सीको रुपमा प्रयोग गर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL