Logo

देशको इन्धन भण्डारण क्षमता बढेन : ९० दिन पुर्याउने योजना अलपत्र, जुनसुकै बेला गम्भीर समस्या आउनसक्ने

देशको इन्धन भण्डारण क्षमता बढेन : ९० दिन पुर्याउने योजना अलपत्र, जुनसुकै बेला गम्भीर समस्या आउनसक्ने



काठमाडौं । विस २०७२ सालमा नेपालमा महाभूकम्प आएपछि भारतले विभिन्न निहुँमा अघोषित नाकाबन्दी गर्याे । पेट्रोलियम पदार्थ आयात गर्ने एकमात्रै बजार र बाटो पनि भारत नै भएपछि आयातित इन्धनबाट कलकारखानादेखि भान्सासम्म चलाएको नेपाललाई करिव ६ महिनासम्म निकै सकस पर्यो । जसका कारण नेपालीले निकै समस्या बेहोर्नुपर्यो ।

आवश्यक मात्रामा पेट्रोलियम भण्डारण र भारतबाहेकको वैकल्पिक बजार नभएका कारण दुख पाएको नेपालले यसको वैकल्पिक मार्ग र बजारको खोजी सुरु गर्याे । नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चिनियाँ नाका हुँदै केहि ट्यांक इन्धन आयात पनि गर्याे । त्यसपश्चात भारतले आफ्नो नाकामा केही खुकुलोपन ल्यायो र पुनः भारतबाट हुने आयात खुल्यो ।

त्यसैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा कम्ीतमा ९० दिन धान्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने, विभिन्न नाकाबाट पाइपलाईनमार्फत इन्धन आयात गर्ने घोषणा बजेट भाषणमार्फत गरेका थिए । करिव ८ बर्ष अघिनै गरिएको उक्त घोषणा हालसम्म अलपत्र छ । त्यसयता नेपाल आयल निगममै धेरै कार्यकारी निर्देशकहरु परिवर्तन भए भने धेरै सरकार आए । प्रत्येक बर्षको बजेट भाषणमा यो कुरा समेटिन्छ तर, बिडम्वना कार्यान्वयन हुँदैन ।

भूकम्पताका नेपालमा ७० हजार ७ सय किलोलिटर आसपास रहेको इन्धन भण्डारण क्षमता हालसम्म पनि विस्तार भएको देखिँदैन । अर्थमन्त्री प्रका शरण महतले आईतबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले पनि हालसम्म नेपालभरको इन्धन भण्डारण क्षमता जम्मा ६८ हजार ७ सय ९७ किलोलिटर रहेको उल्लेख गरेको छ । यो भण्डारण क्षमताले औसतमा नेपालको १० दिनका माग मात्रै धान्ने बताइएको छ । भूकम्प आएकै ८ बर्ष वितिसक्दासमेत हालसम्म सरकारले यसमा विशेष चासो नदिंदा नाकाबन्दीजस्तै समस्या पुनः दोहोरिए नेपाली जनता गम्भीर समस्यामा फस्ने निश्चित छ ।

हाल नेपालको इन्धन माग प्रतिमहिना साढे ३ लाख किलोलिटर आसपाससम्म पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक बर्षको फागुनसम्म मात्रै नेपालमा २६ लाख २९ हजार ९ सय ३४ किलोलिटर इन्धन विक्री भएको छ । यसमा सबैभन्दा बढी हिस्सा मधेश प्रदेशको छ । मधेश प्रदेशमा यसको भण्डारण क्षमता पनि २४ हजार ३ सय ६२ किलोलिटरको छ । जसले नेपालभरको कुल भण्डारण क्षमताको ३५ प्रतिशत धान्छ भने, मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्न सक्ने क्षमता राख्दछ । यता बागमती प्रदेशमा भएको भण्डारण क्षमताले भने यो प्रदेशको १३ दिनको माग धान्न सक्ने बताइएको छ ।

सबैभन्दा कम भण्डारण क्षमता कर्णाली प्रदेशको छ । यो प्रदेशमा जम्मा १ सय २६ किलोलिटर इन्धन भण्डारण क्षमता छ । जसको कर्णाली प्रदेशको २ दिनको मात्रै माग धान्छ । यस्तै गण्डकी प्रदेशमा ११ दिन, लुम्बिनीमा ५ दिन र सुदूरपश्चिम प्रदेशमा ५ दिन माग धान्ने इन्धन भण्डारण क्षमता रहेको बताइएको छ । यसरी मागअनुुसार इन्धनको भण्डारण क्षमता न्यून हुँदा बेलाबेलामा आईपर्ने सानातिना समस्यामा पनि नेपालमा इन्धनको हाहाकार हुने गरेको छ । बेलाबेलामा ढुवानी व्यवसायीले गर्ने हड्तालमा समेत नेपालमा इन्धनको हाहाकार मच्चिने गरेको छ । ८ बर्ष अघि नै ९० दिनलाई पुग्नेगरी भण्डारण क्षमता विस्तार र पाइपलाईनमार्फत इन्धन ल्याउने घोषणा गरिएपनि सो घोषणा हालसम्म कार्यान्वयन हुने छाँटकाँट देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL