Logo

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा घट्दै, भोलिदेखि लागु हुने

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा घट्दै, भोलिदेखि लागु हुने



काठमाडौं । बागमती प्रदेश सरकारले सोमबारदेखि लागु हुनेगरी बागमती प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाउने भएको छ । संघीय सरकारले अन्तर प्रदेश चल्ने अर्थात लामो रुटका सार्वजनिक सवारीसाधनको भाडा घटाएसँगै अब काठमाडौंभित्रै चल्ने लोकल सवारीसाधनको पनि भाडा घटाउन लागिएको हो ।

laxmi

सरकारले सवारीभाडामा ३५ प्रतिशत योगदान रहेको इन्धनको मूल्य ५ प्रतिशतसम्मले घटी या बढी भएको खण्डमा गाडीभाडा पनि सोहीअनुसार समायोजन हुने व्यवस्था गरेको छ । यसै अनुरुप संघीय सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागले बैशाख ३ गते सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको थियो । विभागले त्यसको अघिल्लो दिन नेपाल आयल निगमले डिजेलको मूल्य १० रुपैयाँले घटाएर १ सय ५५ रुपैयाँ प्रतिलिटर पुर्याएपछि गाडीभाडा समायोजन गरेको हो ।

यसअघि विभागले गत बर्ष असारमा मात्रै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसबेला डिजेलको मूल्य नेपालमा प्रतिलिटर १ सय ७२ रुपैयाँ थियो । त्यसयता हालसम्म डिजेलको मूल्य प्रतिलिटर १७ रुपैयाँ अर्थात ९.८८ प्रतिशतले घटेपछि सार्वजनिक सवारीसाधनको भाडाघर घटाइएको हो । तर, यसरी इन्धनको मूल्य घट्दा पनि काठमाडौं उपत्यकालगायत नेपालभरका प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनको भाडादर भने समायोजन भएको थिएन ।

अब भने आजै निर्णय गरी भोलिदेखि लागु हुनेगरी भाडादर समायोजन गर्न लागेको बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले बताए । उनका अनुसार संघीय सरकारले भाडादर समायोजन गरेजसरी नै अर्थात त्यहि औसतमा प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनेछ ।

हाल काठमाडौंभित्र चल्ने सवारीसाधनहरुको भाडादर २० रुपैयाँदेखि ४० रुपैयाँसम्म छ । यसमा प्रदेश सरकारले ३.२० प्रतिशतले घटाउने उनले बताए ।
‘हामीले पनि संघीय सरकारकै सुत्र प्रयोग गरेर गाडीभाडा घटाउने निर्णय आजै गर्दैछौं,’ उनले भने, ‘यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनको भाडादर ३.२० रुपैयाँले घटाएको हामीले पनि त्यहि अनुसार घटाउने योजना बनाएका छौं ।’

यसअघि वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाका लागि प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ १० किलोमिटरसम्मको २७, १५ किलोमिटरसम्मको ३२ रुपैयाँ तोकेको थियो । यस्तै २० किलोमिटरसम्मको भाडा ३५ र २० किलोमिटरभन्दा माथिको गाडीभाडा ४० रुपैयाँ तोकेको थियो ।

अब यसमा ३.२० प्रतिशतले घट्दा ५ किलोमिटरसम्मको गाडीभाडा १९.३६ रुपैयाँ, १० किलोमिटरसम्मको २६.१३ रुपैयाँ, १५ किलोमिटरसम्मको ३०.९२ रुपैयाँ र २० किलोमिटरसम्मको भाडा ३३.८८ रुपैयाँ पुग्नेछ । यस अघि काठमाडौं उपत्यकाभित्र २० किलोमिटरभन्दा बढी यात्रा गरेका यात्रुबाट ४० रुपैयाँ लिँदै आएका सार्वजनिक सवारीसाधनले अब भाडा समायोजन भएपछि अब ३८.७२ रुपैयाँ लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL