Logo

नेपाल राष्ट्र बैंकले भन्यो–मूल्यवृद्धिले सरकारले तय गरेको वाञ्छित सीमा नाघ्यो

नेपाल राष्ट्र बैंकले भन्यो–मूल्यवृद्धिले सरकारले तय गरेको वाञ्छित सीमा नाघ्यो



काठमाडौं । गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दुले बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ ।

laxmi

काठमाडौँ उपत्यकामा महँगी बढी

देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै आठ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो ।

यो अवधिमा तराई क्षेत्रमा सात दशमलव ६८, पहाडमा सात दशमलव एक र हिमालमा सात दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव २५ प्रतिशत मूल्यवृद्धि थियो । त्यस्तै, तराईमा सात दशमलव ६१ प्रतिशत, पहाडमा सात दशमलव ७९ प्रतिशत र हिमालमा आठ दशमलव २५ प्रतिशत मुद्रास्फीति थियो ।

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । अर्थात् सरकारले राखेको मूल्यवृद्धिको सीमाभन्दा बढी मूल्यवृद्धि देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखेको थियो तर चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २८ प्रतिशत बराबर थियो ।

यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि छ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ४२ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १४ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, मरमसलाको १४ दशमलव ६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १० दशमलव ३९ प्रतिशतले बढेको छ ।

घरायसी उपयोगका वस्तुमा नौ दशमलव ५४, मनोरञ्जन तथा संस्कृतिमा आठ दशमलव ८१, फर्निसिङ तथा घरायसी उपकरणमा आठ दशमलव ७४ र शिक्षा क्षेत्रमा आठ दशमलव ६७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने पाँच दमलव ५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४ दशमलव ४२ प्रतिशत थियो ।

समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च रू खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन रू छ खर्ब ८३ अर्ब ८१ करोड छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

नौ महिनामा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको छ । त्यस्तै, आयात १८ दशमलव एक प्रतिशतले तथा निर्यात २६ दशमलव तीन प्रतिशतले घट्दा कुल वस्तु व्यापार घाटा १७ दशमलव १ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL