Logo

छुर्पी निर्यातबाट नेपालले कमायो आठ महिनामा झण्डै दुई अर्ब, मास फार्मिङ नहुँदा गुणस्तरमा प्रश्न

छुर्पी निर्यातबाट नेपालले कमायो आठ महिनामा झण्डै दुई अर्ब, मास फार्मिङ नहुँदा गुणस्तरमा प्रश्न



काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालको निर्यात व्यापारमा छुर्पीले महत्वपूर्ण हिस्सा ओगटन थालेको छ । नेपालले धेरै निर्यात गर्ने बस्तुहरुमध्ये छुर्पी पनि सूचीमा समेटिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको तथ्यांकमा छुर्पीको आयात गत बर्षको तुलनामा २१ करोड रुपैयाँले बढेको देखिन्छ ।

laxmi

विभागको तथ्यांकअनुसार चालु आवको ८ महिनामा नेपालले १ अर्ब ९३ करोड २५ लाख २३ हजार रुपैयाँ बराबरको १० लाख २३ हजार ३ सय ३० किलो छुर्पी विदेशमा निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ करोड ७५ लाख ४३ हजार रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ८ महिनामा नेपालले १ अर्ब ७१ करोड ४९ लाख ८० हजार रुपैयाँ बराबरको १० लाख ६३ हजार ६ सय ९४ किलो छुर्पी विदेश निर्यात गरेको थियो ।

अमेरिकालगायत देशमा कुकुर र बिरालोको खानाको शीर्षकमा निर्यात हुने छुर्पी अघिल्लो आव अर्थात २०७७÷७८ को पहिलो ८ महिनामा भने १ अर्ब १९ करोड ९७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७४ हजार ८ सय १४ किलो मात्रै निर्यात भएको देखिन्छ । अर्थात, पछिल्ला ३ आर्थिक बर्षको पहिलो ८ महिनामा नेपालबाट हुने छुर्पीको निर्यात क्रमशः बढिरहेको विभागको तथ्यांकले देखाएको छ । गत आवमा छुर्पी निर्यात करिव ७० प्रतिशतसम्मले बढेको थियो ।

छुर्पी शुद्ध नेपाली उत्पादन हो । अर्थात, नेपालमा विदेशबाट दूध आयातमा प्रतिवन्ध लगाईएको छ । नेपालमा उत्पादन हुने छुर्पी नेपाली दूधकै हुने भएकाले यो शुद्ध नेपाली उत्पादन हुने नेपाल निर्यात परिषदका अध्यक्ष रेशम पोख्रेल बताउँछन् । नेपालबाट अमेरिकालगायतका देशमा शून्य भन्सारमा छुर्पी निर्यात हुँदै आएको छ । यसले नेपालको छुर्पी निर्यातको सम्भावना उच्च रहेको निर्यात परिषदका अध्यक्ष पोख्रेल बताउँछन् ।

नेपाल निर्यात परिषदका अध्यक्ष पोख्रेल मनोरम हिमालयन ह्यान्डीक्राफ्टका संचालक पनि हुन् । उनको कम्पनीले नेपालबाट सबैभन्दा बढी छुर्पी तेस्रो मुलुक निर्यात गर्ने गरेको उनी दावी गर्छन । चालु आर्थिक बर्षको ८ महिनामा मात्रै गत आवको तुलनामा उनको कम्पनीले विदेशमा छुर्पी निर्यात ३५ प्रतिशतले बढाएको उनले बताए । अमेरिका, क्यानडा, जापान, बेलायतलगायतका देशमा नेपालको छुर्पीको अत्याधिक माग भएका कारण नेपाली व्यवसायीलाई माग धान्नै मुस्किल पर्ने उनी बताउँछन् ।

यस्तै अमेरिकालगायतका बजारमा गुणस्तरीय छुर्पी निर्यातमा भने केही समस्या देखिएको पोख्रेल बताउँछन् । नेपालमा दुध उत्पादनका लागि मास फार्मिङ हुँदैन । मास फार्मिङ नहुँदा धेरै समुहबाट छुर्पी जम्मा गरेर विदेशमा निर्यात गर्नुपर्छ । यस्तो गरिँदा विदेशका बजारमा पुग्ने छुर्पीको गुणस्तर उनीहरुले भनेबमोजिम नहुँदा सकस भएको उनी बताउँछन् । ‘हामीले अमेरिकामा छुर्पी निर्यात गर्दा धेरैजसो कृषि समुहले उत्पादन गरेको छुर्पी संकलन गरेर पठाउने हो,’ उनले भने, ‘यसरी पठाउँदा सबै छुर्पीको गुणस्तर एकैनासको नहुनाले समस्या आईपरेको छ ।’

यस्तै उनी अमेरिकामा छुर्पीको उच्च मागसमेत धान्न अप्ठ्यारो भएको बताउँछन् । हुन त हाल नेपाली व्यवसायीहरुले उत्पादन गरेजतिको बजार पाइरहेपनि अमेरिकामा आवश्यकजति छुर्पी उत्पादन गर्नसके अझै यसको निर्यात बढाउन सकिने अवस्था रहेको उनको भनाई छ । उनका अनुसार नेपालमा दूधको भरपुर आपुर्ति गर्न सकिए छुर्पीको उत्पादन अत्याधिक बढाई व्यापारघाटा न्यूनीकरण गर्न सकिने अवसर छ । चीन, भारत कम्बोडियालगायतका देशले यसको उत्पादनका लागि प्रयास गरेपनि भनेबमोजिम उत्पादन गर्न सकिरहेका छैनन् ।

सन २०२१ सम्म विश्वभर छुर्पीलगायत कुकुर र बिरालोको खानाको निर्यात बजार २० अर्ब ७७ करोड २२ लाख डलर बराबरको छ । नेपालमा छुर्पी उत्पादन गरी विदेश निर्यात गर्ने ८ देखि १० ओटा उद्योग छन् । त्यसअघि नेपालमा छुर्पी उत्पादन गरी विदेशमा पठाउने २० ओटासम्म उद्योग भएपनि क्वालिटी मेन्टेन गर्न नसक्दा धेरै उद्योग पलायन भए ।

नेपालमा उत्पादन गरिएको छुर्पी अमेरिका, क्यानडा, जापान, बेलायतलगायत ३१ देशमा निर्यात हुन्छ । यी देशहरुमा लेबलिङ, प्याकेजिंग, हाईजीन मेन्टेनलगायतका गुणस्तरका कुराहरुमा भने बिशेष ध्यान दिनसके शुन्य भन्सारमै अमेरिका धेरैभन्दा धेरै छुर्पी निर्यात गर्न सकिने अवसर छ ।

अमेरिकामा मात्रै सन २०२२ भर ३ अर्ब २४ करोड ८४ लाख डलर बढीको कुकुर र बिरालोको खाना आयात भएको इन्टरनेशनल ट्रेड सेन्टरको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये अमेरिकामा यस्तो वस्तु धेरै पठाउने मुलुकको १५ औं स्थानमा नेपाल परेको छ । नेपालले सन २०२२ मा अमेरिकामा २ करोड डलर बराबरको छुर्पी निर्यात गरेको तथ्यांकमा उल्लेख छ । अमेरिकामा बर्षेनी २ देखि ४ करोड डलरले कुकुर र बिरालोको खानाको आयात बढिरहेको तथ्यांकमा देख्न सकिन्छ । यसले नेपालमा उत्पादन हुने छुर्पीको माग आगामी बर्षहरुमा पनि बढ्न सक्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL