Logo

बैशाखदेखि अत्यावश्यक औषधिको मूल्यवृद्धि हुँदै, कति बढ्ला मूल्य ?

बैशाखदेखि अत्यावश्यक औषधिको मूल्यवृद्धि हुँदै, कति बढ्ला मूल्य ?



काठमाडौं । विश्वबजारमा औषधिको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ताका रुपमा रहेको भारतले औषधिको मूल्यमा वृद्धि गर्ने भएको छ । मुद्रास्फीति निरन्तर बढिरहेको र महँगीको बोझले सर्वसाधारण मर्कामा परेकै समयमा भारत, नेपाल तथा विश्वबजारमै सर्वसाधारणले औषधिका लागि थप खर्च गर्नुपर्ने भएको छ ।

laxmi

भारतले अप्रिलदेखि अत्यावश्यक औषधिको मूल्यवृद्धि गर्ने भएको हो । यसमा पेनकिलरदेखि एन्टिबायोटिकसम्म सबै औषधिको मूल्यवृद्धि हुनेछ । जसले पहिल्यै मुद्रास्फीतिको मारमा परेका सर्वसाधारणको खल्तीमा भार थपिनेछ । अत्यावश्यक औषधिहरूको बारेमा कुरा गर्दा, यसमा पेनकिलर, एन्टिबायोटिक, मुटुको औषधि आदि समावेश छन् । यी सबै औषधिको मूल्य वैशाख १ गतेदेखि बढ्ने भएको हो । जसले सर्वसाधारणलाई महँगीको ठूलो झट्का पर्नेछ ।

भारत सरकारले वार्षिक थोक मूल्य सूचकांक (डब्लूपीआइ) अनुरूप औषधि कम्पनीहरूलाई मूल्यवृद्धि गर्न अनुमति दिने तयारी गरेको छ । भारतको औषधि मूल्य नियामक राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) ले सोमबार सरकारले २०२२ सम्म सूचित गरेको ध्डब्लूपीआइ मा वार्षिक परिवर्तनको आधारमा मूल्य वृद्धि हुने जानकारी दिएको छ ।

१२ प्रतिशतसम्म मूल्य बढने

एक प्रतिवेदनअनुसार औषधिको मूल्य १२ प्रतिशतभन्दा बढी बढ्न सक्छ । औषधिको मूल्य बढेको यो लगातार दोस्रो वर्ष हो । अर्कोतर्फ अनुसुचित औषधिको मूल्य करिब १० प्रतिशतले बढाउन सकिने नियम छ । अनुसूचित औषधिहरू ती औषधिहरू हुन् जसको सरकारले मूल्य नियन्त्रण गर्छ । नियमअनुसार सरकारको अनुमतिबिना निर्धारित औषधिको मूल्य बढाउन पाइँदैन । हालका वर्षहरुमा डब्लूपीआइमा वार्षिक परिवर्तनको कारण मूल्य वृद्धि वार्षिक १ % र २% को बीचमा सामान्य रहँदै आएको छ । स्रोतहरूका अनुसार एनपीपीएले निर्धारित औषधिहरुको अधिकतम मूल्यहरू आगामी केही दिनमा सूचित गर्नेछ ।

उद्योगलाई राहत

औषधिको मूल्य बढेपछि यस उद्योगमा आवद्ध व्यक्तिले आवश्यक राहत पाउनेछन् । केही समययता औषधिजन्य सामग्री, ढुवानी तथा प्लाष्टिक तथा प्याकेजिङ्गका सामानलगायत कच्चापदार्थको मूल्यमा भारी बृद्धि भएको छ । यसले गर्दा लागत प्रभावित भएको छ । जसका कारण औषधि उद्योगहरु प्रभावित भएका छन् । यो मूल्यवृद्धिबाट उद्योगहरुले राहत पाउने बताइएको छ ।

नेपाल पनि प्रभावित हुने

भारतमा औषधिको मूल्य बढ्दा त्यसको सीधा असर नेपाली उपभोक्तामाथि पनि पर्नेछ । अहिले पनि नेपालमा आयातित औषधिको हिस्सा ५० प्रतिशत हाराहारीमा रहेको छ भने त्यसको मुख्य स्रोत भारत रहँदै आएको छ । भारतबाट सामान्य सिटामोलदेखि विशेष गरी क्यान्सर, मृगौला र मुटुलगायत रोगका औषधी आयात हुने गरेको छ । जसका कारण नेपालमा आउने भारतीय कम्पनीको अत्यावश्यक औषधिको मूल्य पनि महँगिनेछ ।

भारतमा औषधिको मूल्यवृद्धिले नेपाली औषधिको मूल्य भने तत्काल वृद्धि नहुने नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताए । नेपालमा सरकारले उद्योगीले औषधिको मूल्यवृद्धिका लागि निरन्तर लविङ गरेपनि सुनुवाई गरेको छैन् । पाण्डेका अनुसार विस २०६४ देखि नेपाल सरकारले औषधिको मूल्य समायोजन गरेको छैन् ।

भारतले डब्लूपीआई अनुसार वार्षिक मूल्य समायोजन गर्दै आएपनि नेपाल सरकारले भने समायोजनमा ध्यान नदिदा औषधि उद्योगहरु समस्यामा पर्दै गएको अध्यक्ष पाण्डे बताउँछन् । पाण्डेका अनुसार कच्चापदार्थ, जनशक्ति तथा अन्य लागतमा निरन्तरको मूल्यवृद्धिका कारण अहिलेको मूल्यमा लगात पनि नउठने समस्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL