Logo

दुई महिनामा चारपटक टेलिकमको मोबाइल सेवा अवरुद्ध, के गर्दैछ नेपाल टेलिकम ?

दुई महिनामा चारपटक टेलिकमको मोबाइल सेवा अवरुद्ध, के गर्दैछ नेपाल टेलिकम ?



काठमाडौं । नेपालकै प्रमुख दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको सेवामा निरन्तर समस्या उत्पन्न भइरहेको छ । मुख्यरुपमा सरकारी स्वामित्व रहेको टेलिकमको मोबाइल सेवामा प्रयोगकर्ताले दिनहुँ फोन नलाग्ने, फोन काटिने, स्पष्ट आवाज नसुनिनेलगायतका समस्या बेहोरिरहेका छन् । अझ पछिल्लो २ महिनामा मात्रै ४ पटक टेलिकमको भ्वाइस सेवा नै अवरुद्ध हुनेगरी सेवामा गम्भीर समस्या देखियो ।

कहिले फाइबर सेवामा समस्या, कहिले मोबाइल नेटवर्कमा समस्याका कारण सेवा नै अवरुद्ध हुँदै आएपनि टेलिकमले यसलाई प्राविधिक समस्या भनेर टार्दै आएको छ । टेलिकमका प्रयोगकर्ताका लागि समस्याहरु नौला नभएपनि गएको माघ ३ गते टेलिकमको सेवामा दिनभरजसो नै समस्या देखियो । नेपाल टेलिकमले त्यसलाई सामान्य समस्याका कारण केही समय सेवामा समस्या देखिएको बताएपनि सेवाग्राहीले भने दिनभर नै सास्ती खेप्नुपर्याे । त्यसैदिन माओवादी, एमाले, राप्रपालगायत ५ दलीय गठबन्धनका मन्त्रीहरुको छिनोफानो गरिँदै थियो । मन्त्रीहरुको छिनोफानो सुरु भएपछि नै अवरुद्ध भएको टेलिकमको सेवा साँझ संचार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त हुँदासम्म यथावतजस्तै थियो । त्यसदिन दिनभर नै सेवाग्राहीले फोन नलाग्ने, एसएमएस नजाने, डाटा नचल्नेगायतका समस्या झेल्नुपर्याे ।

टेलिकमको सेवामा देखिएको उक्त समस्याका लागि मन्त्रालयले अध्ययन समितिसमेत गठन गरेको थियो । समितिले टेलिकमका कर्मचारीहरुले मर्मतसम्भारमा गम्भीर लापरवाही गरेको औँल्याएको थियो । पुनः फागुन ३ गते नेपाल टेलिकमको समस्यामा त्यस्तै समस्या देखियो । त्यसदिन पनि टेलिकमले सामान्य समस्या भन्दै टारेपनि त्यसको भोलिपल्ट बिहानै अर्थात फागुन ४ गते पुनः टेलिकमको पोस्टपेड मोबाइल सेवामा समस्या निम्तियो ।

त्यसदिन टेलिकमले पोस्टपेड सेवाको बिलिङमा केहि समय लागेपछि बिहान ढिलोसम्म प्रणाली सुचारु हुन समय लागेको बताएको थियो । फागुन ३ गते सेवामा अवरोध आएर हैरान भएका सेवाग्राहीले भोलिपल्ट बिहानै पुनः समस्या भोग्नुपर्दा यता नियामक निकाय प्राधिकरणले भने थाहा नपाएझैं गर्याे । केही समयपछि टेलिकमले समस्या सल्टायो र त्यो कुरा सेलायो ।

संयोग भनौं या परिस्थीति पछिल्ला ३ महिनामा हरेक महिनाको पहिलो हप्ता टेलिकममा समस्या निम्तिईरहेको छ । त्यसैको प्रभाव आज अर्थात चैत ८ गते पनि टेलिकमको भिओएलटीई (भोल्टे) सेवामा समस्या आउँदा यो सेवा चलाउने सेवाग्राहीले भ्वाईस सेवा अवरुद्ध भएको समस्या व्यहोर्नुपर्याे । बुधबार बिहानैदेखि भोल्टे सेवामा समस्या देखियो । तर, उक्त समस्या करिव आधा घण्टामात्रै देखिएको टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । उनका अनुसार भोल्टे सेवामा पौने १० बजेतिर एकाएक समस्या आएपनि हाल प्राविधिकहरुले उक्त समस्याको समाधान गरिसकेका छन् ।

बेलाबेलामा टेलिकमको सेवामा समस्या देखिइनुलाई उनी सेवाको विविधतालाई मान्छन् । ‘टेलिकमले विभिन्न सेवाहरु विभिन्न प्रणालीमार्फत दिईरहेको छ,’ उनले भने, ‘प्राविधिक कुरा हो कुनबेला कहाँनेर समस्या आईपर्छ थाहा हुँदैन, तर हाम्रा प्राविधिकहरुले एकाएक आईपरेको समस्यालाई समयमै समाधान गर्नुहुन्छ ।’ उनी पछिल्ला समय देखिएका समस्याहरु एकआपसमा नजोडिएका भएपनि विभिन्न उपकरणमा समस्या देखिँदा ग्राहकवर्गमा समस्या देखिने बताउँछन् ।

यसरी हेर्दा माघ ३ यता ४ पटक सेवाग्राहीलाई मर्का पर्नेगरी भएको टेलिकमको सेवा अवरोध प्राय मंगलबार र बुधबार नै हुने गरेको देखिन्छ । यस अवधिको पहिलोपटक माघ ३ गते मंगलबार देखिएको समस्या टेलिकमको सबैजसो सेवामा देखिएको थियो । ठिक त्यस्तै समस्या फागुन ३ गते बुधबार पनि देखिएको हो ।

त्यसको भोलिपल्ट अर्थात फागुन ४ गते बिहीबार भने टेलिकमको पोस्टपेड सेवामा समस्या देखिएको थियो । आज भने टेलिकमले एचडी भ्वाइस सेवा उपलब्ध गराउन जडान गरेको भोल्टे सेवाको भ्वाइसमा मात्रै समस्या देखिएको हो । यसरी एकपल्ट टेलिकमको सेवामा अवरोध आउँदा टेलिकमलाई त करोडौं रुपैयाँको घाटा आउँछ नै त्यसमा पनि टेलिकमकै सेवामा निर्भर सेवाग्राहीको जीवन पद्दतिमै समस्या आउने गरेको एक टेलिकम विज्ञ बताउँछन् ।

‘नेपाल टेलिकमको सेवामा निरन्तर समस्या आउँदा स्वयं टेलिकमलाई मात्रै नभई सेवाग्राहीलाईसमेत ठूलो मर्का पर्दछ,’ उनले भने, ‘यसैका कारण कम्पनीका सेवाग्राहीहरु डाइभर्ट हुने समस्या पनि आइपर्न सक्छ ।’ नेपाल दूरसंचार प्राधिकरणका अनुसार हाल नेपालमा ३ करोड ७१ लाख ५२ हजार जना भ्वाइस सेवाग्राही छन् । त्यसमध्ये २ करोड १३ लाख अर्थात करिव ७० प्रतिशतले नेपाल टेलिकमको सेवा चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL