Logo

अमेरिकी बैंक संकटको प्रभाव सुनको मूल्यमा : विश्व बजारमा मूल्यमा उछाल, नेपालमा पनि प्रभाव

अमेरिकी बैंक संकटको प्रभाव सुनको मूल्यमा : विश्व बजारमा मूल्यमा उछाल, नेपालमा पनि प्रभाव



काठमाडौं । अमेरिकी बैंकहरु सिलिकन भ्याली र सिग्नेचरले एकपछि अर्काे गरी टाट पल्टिएको घोषणा गरेसँगै यसको प्रभाव विश्वबजारमा देखिएको छ । विश्वका धेरैजसो अर्थतन्त्रमा एकाएक शंका उत्पन्न भएको छ । त्यतिमात्रै होईन बैंकिङ क्षेत्रमा ठूलो निराशा पनि छाएको छ ।
विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाका २ वटा ठूला नाम चलेका बैंकहरु डुब्दै गर्दा यसले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पारेको छ । जसको प्रमुख उदाहरणको रुपमा सुनको मूल्यलाई लिन सकिन्छ । अन्तरराष्ट्रिय बजारमा शुक्रबार यता मात्रै सुनको मूल्य प्रतिऔंस १ सय २० डलरले बढिसकेको छ ।

laxmi

यता नेपालमा पनि अवस्था त्यस्तै छ । अन्तरराष्ट्रिय बजारको कुरा गर्दा अमेरिकी सरकारले सिलिकन भ्याली बैंक आफ्नो कब्जामा लिएको दिनको ३ दिनअघि मात्रै सुन प्रतिऔंस १८ सय १४ डलरमा कारोबार भइरहेको थियो । त्यसपछि हालसम्म लगातार बढेर सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा १९ सय १२ डलर प्रतिऔंससम्म पुग्यो । तर, आज भने सुनको मूल्य पुनः प्रतिऔंस ९ डलरले घटेको छ ।

यता नेपाली बजारमा भने शुक्रबार प्रतितोला १ लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य त्यसको पर्सिपल्टै अर्थात यो हप्ताको आइतबार एकैदिन प्रतितोला १३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुग्यो । त्यसयता लगातार बढिरहेको सुनको मूल्य आजसम्म आइपुग्दा प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ प्रतितोला पुगेको छ । अर्थात पछिल्लो हप्ता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढिसकेको छ ।

विश्वकै ठुलो अर्थतन्त्र भएको अमेरिकाको अर्थतन्त्रमा थोरै केहि असर देखिएसँगै विश्वभरको अर्थतन्त्रमा हलचल हुन्छ । अमेरिकी अर्थतन्त्रको प्रभावले विश्वभर अमेरिकी डलरको मूल्यमा प्रभाव पर्छ र त्यसको असर पहेँलो धातुमा देखिने विज्ञहरु बताउँछन् । जसका कारण पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्यको ग्राफ एकाएक उकालोतर्फ सोझियो ।

यतिमात्रै होईन यस अवधिमा चाँदीको मूल्यमा पनि त्यस्तै असर परेको देखिन्छ । पछिल्लो हप्ता विश्व बजारमा चाँदीको मूल्यमा प्रतिकिलो ५७ डलरको वृद्धि देखिन्छ । अर्थात एक हप्ता अघि विश्व बजारमा चाँदीको मूल्य प्रतिकिलो ६ सय ४४ डलरमा कारोबार भईरहेकोमा हाल यसको मूल्य बढेर ७ सय १ डलर प्रतिकिलो पुगेको छ । जसको असर नेपाली बजारमा पनि देखिँदा एक हप्तामै चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले बढेर १३ सय रुपैयाँ पुगेको छ । गएको हप्ता नेपाली बजारमा चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

यसरी विश्वकै उम्दा अमेरिकी अर्थतन्त्र चलाउने भुमिकामा मुख्य मानिएका दुई बैंक नै डुवेर सरकारले कब्जा गरेपछि त्यसको असर बहुमूल्य धातुमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । बैंक डुबेको असर लामो समयसम्म रहिरहने भएकाले अझै सुनको मूल्य बढ्ने उनको अनुमान छ ।

‘अमेरिकी बैंक रनको असर विश्व बजारको वस्तु विनिमय बजारमा पर्छ जसका कारण पछिल्लो समय सुनको मूल्य एकाएक उकालो लागेको छ,’ उनले भने, ‘यसको असर लामो समयसम्म रहने हुनाले अझै एकपटक सुनको मूल्यले नयाँ उचाई हाँसिल गर्ने निश्चित छ ।’ उनी यसैगरी सुनको मूल्य बढिरहे पुनः सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने बताउँछन् । केही समय अघि मात्रै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL