Logo

नेपालीले कहिलेसम्म चलाउन पाउँछन विश्वव्यापी रुपमा उपयोग भइरहेको फाइभ-जी ?

नेपालीले कहिलेसम्म चलाउन पाउँछन विश्वव्यापी रुपमा उपयोग भइरहेको फाइभ-जी ?



काठमाडौं । सन २०१९ अर्थात आजभन्दा ४ बर्षअघि विश्वका केही देशबाट सुरु भएको पाँचौ पुस्ताको फाइभ–जी प्रविधि हाल धेरै देशका जनताले उपयोग गरिरहेका छन् । नेपालमा पनि यो प्रविधि जडान गरी संचालनमा ल्याउनका लागि सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमले अनुमति पाएको छ ।

laxmi

कम्पनीले जिम्मा पाएकै २ बर्ष वित्न लाग्दा पनि नेपालमा फाइभ–जी भने जडान भएर संचालमा आउन सकिरहेको छैन । विश्वका विकसित राष्ट्रहरुले फाईभजी प्रविधिको प्रयोग गरिरहँदा नेपालीले भने यसको अनुभव गर्न नपाएको अवस्था छ । हुन त नेपाल टेलिकमले गत बर्ष कात्तिकमा सरकारबाट फाइभ–जी परिक्षणको अनुमति पाएको थियो ।

सरकारले टेलिकमलाई नेपालभरका मुख्य ४ शहरमा फाइभ–जी परीक्षणको लागि अनुमति दिएको थियो । सोहीअनुसार टेलिकमले फाइभ–जीका लागि आवश्यक उपकरणहरु नेपालमा ल्याएर जडान गरी परीक्षण गरिरहेको जानकारी दिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परिक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परीक्षण गर्न निर्देशन दिएको थियो । तर, विभिन्न कारण देखाउँदै टेलिकमले हालसम्म पनि प्रभावकारी रुपमा फाइभ–जीको परिक्षण गर्न सकेको छैन । तर, बबरमहल र सुन्धारा केन्द्रबाट फाइभ–जीको परीक्षण सुरु भएको टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । उनका अनुसार विभिन्न कारणले फाइभ–जी प्रविधिका उपकरणको आयातमा ढिलाई हुँदा यसको परीक्षणको अवधि लम्बिएको हो । तर, अब भने टेलिकमले दुई स्थानबाट यसको परिक्षण गरिरहेको उनले बताए ।

नेपालमा हाल धेरैजसो मोबाइल सेटहरु ३३ सय मेगाहर्ज ब्याण्डमा उपलब्ध फाइभ–जी मात्रै सपोर्ट गर्ने भएकाले सर्वसाधारणले तत्काल फाइभ–जीको अनुभव गर्न नसक्ने उनले बताए । टेलिकमले प्राधिकरणबाट २६ सय मेगाहर्ज ब्याण्डमा फाइभ–जी परिक्षणको अनुमति पाएको छ । यता नेपालमा आउने धेरैजसो मोबाइल सेटहरु भारतीय मार्केट सेन्ट्रिक भएकाले सर्वसाधारणलाई फाइभ–जीको अनुभव गर्न अप्ठ्यारो भएको उनको भनाई छ ।

भारतले ३३ सय मेगाहर्ज ब्याण्डमा फाइभ–जी संचालनमा ल्याउन लागेपछि अन्तरराष्ट्रिय मोबाइल उत्पादकहरुले नेपाल र भारतमै ३३ सय मेगाहर्ज ब्याण्डको फाइभ–जी सपोर्ट गर्ने सेटहरु पठाउने गरेको उनले बताए । तर, नेपालमा पनि कुनै कुनै सेटहरु २६ सय मेगाहर्ज ब्याण्डको फाइभ–जी सपोर्ट गर्ने छन् । ति सेटमा भने सुन्धारा र बबरमहल वरीपरी फाइभ–जी नेटवर्क देखाउने उनले बताए ।

‘नेपालमा धेरैजसो मोबाइल सेटहरु भारतीय मार्केट सेन्ट्रिक अर्थात ३३ सय मेगाहर्ज ब्याण्डको फाइभ–जीमात्रै सपोर्ट गर्ने खालका छन्, जसका कारण सर्वसाधारणमा फाइभ–जी परिक्षणका लागि उपयुक्त देखिएन,’ उनले भने, ‘तर चाँडै सर्वसाधारणमै फाइभ–जीको परीक्षण गर्नका लागि टेलिकमले आन्तरिक कार्य गरिरहेको छ ।’

उनले फाइभ–जी खासगरी सर्वसाधारणका लागि भन्दा पनि ईन्डष्ट्रियल प्रणालीका लागि काम लाग्ने बताए । गत बर्षको कात्तिकमा परिक्षण अनुमति पाएको टेलिकमले नेपालका विभिन्न ४ स्थानबाट फाइभ–जी परीक्षणको तयारी गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएपछि नेपाल दूरसंचार प्राधिकरणले यसको कार्यविधिसमेत बनाएको थियो । जसमा कुनै दूरसंचार सेवाप्रदायक कम्पनीले फाइभ–जी परिक्षणको अनुमति लिएको ३ महिनामा उपकरण आयात गरी परीक्षण नै गरिसक्नुपर्ने उल्लेख छ ।

नेपाल टेलिकमले पनि सोही कार्यविधि अनुसार गत बर्ष माघभित्रै उपकरण आयात गरी परीक्षण गरिसक्नुपर्ने थियो । टेलिकमले फाइभ जी परीक्षणका लागि काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजलाई तोकेको छ । यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभ–जी परिक्षणका उपकरण ल्याएर जडान गर्दैछन् । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निःशुल्क फाइभ–जी परीक्षण गरिदिनुपर्ने उल्लेख छ । हीअनुसार नै जेडटीई र हुवावेले उपकरण ल्याएर परिक्षणको काम गरिरहेको टेलिकमले जानकारी दिएको छ ।

यता अर्को दूरसंचार सेवाप्रदायक एनसेलले भने अझै सरकारबाट फाइभ–जी परीक्षणको अनुमति पाइसकेको छैन । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले एक कार्यक्रममा एनसेल फाइभ–जी परिक्षणका लागि प्राविधिक रुपमा तयार भईसकेकाले सरकारले अनुमति दिनेवित्तिकै परीक्षण गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL