Logo

धेरै निर्यात हुने खानेतेलमै नेपाललाई ३० अर्बको व्यापारघाटा, भारतलक्षित उद्योग संकटउन्मुख

धेरै निर्यात हुने खानेतेलमै नेपाललाई ३० अर्बको व्यापारघाटा, भारतलक्षित उद्योग संकटउन्मुख



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालले खानेतेल निर्यातबाट उच्च व्यापारघाटा व्यहोरेको छ । पछिल्लो समय घटिरहेको खानेतेल निर्यातका कारण यसमार्फत हुने व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा पनि उच्च वृद्धि भएको भन्दार विभागको तथ्यांकमा उल्लेख छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालले खानेतेलको वैदेशिक व्यापारमार्फत ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । यसमार्फत हुने व्यापारघाटा यो बर्ष बढेर ३० अर्ब ७७ करोड १२ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक बर्ष नेपालले विभिन्न देशबाट ७८ अर्ब ९ करोड १९ लाख रुपैयाँ बराबरको कच्चा र प्रशोधित खानेतेल आयात गरी ६८ अर्ब ६७ करोड २३ लाख रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको थियो ।

तर, चालु आवमा भने नेपालमा आयात हुने र नेपालबाट निर्यात हुने खानेतेलको परिमाण घटेको छ । भन्सार विभागका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्म ५२ अर्ब १० करोड ९२ लाख रुपैयाँ बराबरको कच्चा खानेतेल आयात गर्दा जम्मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बराबरको मात्रै खानेतेल निर्यात भएको छ ।

नेपालमा पछिल्लो ४ बर्षदेखि धेरै आयात हुने वस्तुको सूचीको पहिलो स्थानमा रहँदै आएको प्रशोधित खानेतेलले चालु आवको ६ महिनामा सोही स्थान जमाईराखेको छ । चालू आवको ६ महिनामा कुल ८० अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले ८ अर्ब रुपैयाँ बराबरको २ करोड ९२ लाख ५६ हजार किलो त भटमासको तेल मात्रै निर्यात गरेको छ । यस्तै यसै अवधिमा नेपालले ७ अर्ब ३४ करोड बराबरको पाम तेल, ४ अर्ब ३ करोड बराबरको कच्चा पाम तेल, १ अर्ब ७० करोड बराबरको पामको गेडा र १ अर्ब ११ करोड बराबरको पिना निर्यात गरेको छ ।

नेपालका धेरै तेल उद्योगीहरुले अर्जेन्टिना, इन्डोनेसिया, ब्राजिल, युक्रेनलगायतका देशहरुबाट कच्चा सोयाविन, पाम, भटमासको तेल आयात गरी त्यसमा केहि भ्यालु एड गरेर विदेश निर्यात गर्ने गरेका छन् । हाल नेपालमा २१ उद्योगीहरु तेलसँग सम्बन्धित उद्योग संचालन गरी तेल निर्यात गर्दै आइरहेका छन् । जसले पाराग्वे, मलेसिया, रसिया, फिलिपिन्सलगायतका देशहरुबाट पनि कच्चा खानेतेलको आयात गर्ने गरेका छन् । यी उद्योगीहरुले विदेशबाट तेलजन्य वनस्पतिका बियाँ, कच्चा तेल, प्रशोधित तेल, बनस्पति घ्यु, जनावरजन्य बोसो, नरिवलको तेललगायत आयात गर्छन् । र सोही कच्चा पदार्थलाई प्रशोधन गरी भारत, जर्मनी र जापान पठाउँछन् ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालले भारतमा मात्रै २१ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ बराबरको प्रशोधित खानेतेल बेचेको छ । यसैगरी यसै अवधिमा नेपालले अष्ट्रेलियामा १ लाख ९६ हजार रुपैयाँ बराबरको ५ सय लिटर र जापानमा ३ लाख २५ हजार रुपैयाँ बराबरको ३४ लिटर तेल निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

भारतमै खानेतेलको मूल्यमा गिरावट आएसँगै नेपालबाट भारत निर्यात हुँदै आएको खानेतेलको परिणाम घट्दै गएको छ । जसका कारण विदेशबाट कच्चापदार्थ आयात गरेर नेपालमा प्रशोधन र प्याकेजिङ गरि भारत निर्यात गर्दै आएका उद्योगहरु संकटतर्फ उन्मुख हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL