Logo

GBIME

कपडा व्यापारी तनावमा : सहकारीमा जम्मा गरेको पैसा डुव्यो, ब्याजदर बढ्यो, व्यापार भएन

कपडा व्यापारी तनावमा : सहकारीमा जम्मा गरेको पैसा डुव्यो, ब्याजदर बढ्यो, व्यापार भएन



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उनीहरुको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् ।

गुल्मी स्थायी ठेगाना भई हाल महाराजगञ्ज बस्दै आएका नागमणि टेड्रसका रुद्र महत २५ वर्ष महाबौद्धमा व्यापार गर्दै आएकामा विस्थापित भएर एक वर्ष अघिदेखि भोटाहिटीमा सरेको बताउँछन् । उनले भने, ‘बैंकले १ करोड ऋणको साढे दुई करोडको कारोबार देखाउनुपर्ने हुनाले अहिलेको अवस्थामा कारोबार देखाउन असम्भव छ ।’

समयमा ऋण बुझाउन नसेकेका कारण १७ प्रतिशत ब्याजमा पनि थप दुई प्रतिशत जरिवाना बुझाउन परेको उनले बताए । महाबौद्धमा १ हजार २ सय रुपैयाँमा भाडा तिरेर सुरु गरेको व्यवसाय त्यहीँ ठाउँमा २५ वर्षको अन्तरालमा १ लाख १० हजारसम्म पुगेपछि छोड्न बाध्य भएको उनको भनाइ छ । आफू विस्थापित भएर भोटाहिटी सरेको महत बताउँछन् । ‘व्यापारीलाई जस्तो कष्ट अहिले कसैलाई छैन’, उनले भने ।

एनआइसी एसिया बैंकबाट लिएको ऋणको १७ प्रतिशत ब्याज बुझाउनुपर्छ । तर सरकारले खाद्यान्न, फलफूल लगायतका सामानलाई जसरी कपडा व्यापारीलाई प्राथमिकतामा नराख्दा, सहकारी डुब्नु, उधारोको पैसा नउठ्नु, पूँजीको परिचालन सही तरिकाले व्यवस्थापन गर्न नसक्दा व्यापारबाट विस्थापित हुने अवस्था आएको उनी बताउँछन् । व्यापारीले यतिसम्म असहज र कठिनाइ अघिल्ला दिनहरुमा खेप्नु नपरेको उनको भनाइ छ ।

महतले बच्चाका जाडोका सामान विशेषगरी चाइनाबाट मगाउँदै आएकामा कोभिडको समयमा १६ महिनासम्म सामान नआउँदा लगानी होल्ड भएपछि वित्तीय सङ्कट बेहोर्नुपरेको र चर्को ब्याज तिर्नुपरेको बताए । महाबौद्धमा घरबेटीलाई नयाँ व्यापारीले ५५ हजारभन्दा बढी भाडा दिने भएपछि घरबेटी पुराना व्यापारीलाई असहज वातावरण सिर्जना गरी भाडा वृद्धि गराएपछि चर्को भाडा र ब्याजदरका कारण विस्थापित हुनुपरेको उनले बताए ।

झापा स्थायी ठेगाना भई हाल महतसँगसँगै महाबौद्धबाट भोटाहिटी सरेर कपडा व्यापार गर्दै आएका मितेरी मनमाया मैनाली महँगीका कारण पहिलाको तुलनामा व्यापार निकै कम भएको बताउँछन् । २० वर्षअघि भृकुटीमण्डपबाट व्यापार सुरु गरेका उनी हाल भोटाहिटीमा व्यापार गर्छन् । उनी भन्छन्, ‘पहिला ७५ प्रतिशत व्यापार हुन्थ्यो भने अहिले २५ प्रतिशत भएको छ । सहकारीमा बचत गरेको लगानी डुब्दा, बैँकमा चर्को ब्याज बुझाउनुपर्दा, महँगो पसल भाडासहित बहाल करसमेत हामीले तिर्नुपर्दा आर्थिक समस्याकै कारण व्यापार खस्कँदो छ ।’ भूकम्प अगाडि व्यापारीले गरेको लगानी उठ्न नसक्दा र लिएको सामानको मूल्य चुक्ता ग्राहकले नगरी दिँदा व्यापारी मारमा परेको उनी बताउँछन् ।

कपडा व्यापारी कन्काई इन्टरप्राइजेजका अनिल प्रसाइँ विगत २५ वर्षदेखि भोटाहिटी, टुकेपमा कपडा व्यापार गर्दै आएका छन् । उनले जाडोयाममा बच्चा तथा लेडिजका स्वेटर, ज्याकेट, हाइनेक, ट्राउजर, ल्यागिन्स लगायतका सामान व्यापार गर्छन् । आजभोलि ग्राहकहरु टिकटकलगायत सामाजिक सञ्जालमा देखिएका कपडाको तस्बिर देखाएर सामान लिन आउँछन्, आफूसँग ती सामान हुँदैन, मगाउँदा समय बढी लाग्छ जसका कारण ग्राहकले चाहेको सामान दिन नसकेको प्रसाइँ बताउँछन् ।

चाइनाबाट सामान आयात गर्दै आएका उनले केरुङ नाका लामो समयसम्म बन्द हुँदा व्यापारमा समस्या भएको बताए। गर्मीयामको तुलनामा जाडोमा व्यापार बढी हुने भए तापनि पहिलेको तुलनामा अहिलेका वर्षमा सामान्य व्यापार हुने गरेको उनको भनाई छ ।

सरकारी जागिरबाट अवकाशपछि कपडा व्यापारमा संलग्न हुदैँ आएका कृष्णकुमार श्रेष्ठ तीन वर्षदेखि लेडिज तथा बच्चाका न्यानो कपडा व्यापार गर्दै आएका छन् । पुराना डिजाइनका कपडाभन्दा पनि नयाँ डिजाइनका कपडाको माग ह्वात्तै बढेकाले सोही अनुसारको सामान मगाउन व्यापारी बाध्य हुनुपर्ने श्रेष्ठ बताउँछन् ।

सिन्धुपाल्चोक स्थायी घर भएका शरद नेपाल दुई वर्षदेखि भोटाहिटीमा पछ्यौरी व्यापारमा संलग्न छन् । विश्वव्यापी रुपमा परेको आर्थिक प्रभावसँगै नेपालको अर्थतन्त्रमा देखिएको उतारचढावबाट आफ्नो व्यापारमा परेको असरले पाठ सिकाएको भन्दै पेसामा हार नमानेको बताउँछन् । ‘सुरुमा सिक्दै व्यापार गर्र्दैछु घाटा नाफालाई खासै हेरेको छैन, कहिले नाफा, कहिले घाटा बेहोर्नुपरे पनि हालसम्म औसत व्यापार भैरहेको छ’, उनले भने ।

जनताको आयस्तर कम हुनु, कोभिड–१९ पछि थलिएको आर्थिक अवस्था, रुस–युक्रेन युद्ध, वित्तीय सङ्कट, चर्को ब्याजदर, भन्सार मूल्य वृद्धि, लागतमा वृद्धिको कारणले अहिलेको व्यापार व्यवसायमा असहजता भएको व्यापारीहरुको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL