Logo

औद्योगिक सम्बन्ध र श्रम नीतिबारे गोष्ठी शुरु, असल श्रम सम्बन्ध विस्तार आवश्यक भएको जोड

औद्योगिक सम्बन्ध र श्रम नीतिबारे गोष्ठी शुरु, असल श्रम सम्बन्ध विस्तार आवश्यक भएको जोड



काठमाडौं । सुमधुर आद्यौगिक सम्बन्ध स्थापनामा देखिएका चुनौतीको अध्ययन गरी समस्या समाधानको मार्ग पहिल्याउने उद्देश्यले राजधानीमा आजदेखि ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयको दुईदिने गोष्ठी सुरु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस र जापानी अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानको संयुक्त आयोजना सुरु भएको गोष्ठीमा सरकार, रोजगारदाता र ट्रेड युनियनका गरी ८० बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

laxmi

सुमधुर औद्योगिक सम्बन्ध स्थापना गर्न नेपालमा रहेका मुख्य तीन पक्षसँग छलफल गरेर उचित निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले जानकारी दिए । गोष्ठीले सुमधुर औद्योगिक सम्बन्धलाई अझ कसरी राम्रो र स्थापित बनाउन सकिन्छ भन्ने दिशामा ठोस निष्कर्ष निकाल्ने उनले बताए ।

ट्रेड युनियन कांग्रेसले असल श्रम सम्बन्धको विकासमा टेवा पु¥याउने उद्देश्यले विगत १० वर्षदेखि यो कार्यक्रम गर्दै आइरहेको छ । सो कार्यक्रमका लागि जापान सरकार र त्यहाँको ट्रेड युनियनले सहयोग गरेको छ । नेपालको औद्योगिक सम्बन्ध अझ उन्नत बनाउन जापानी पक्षको सहयोगले ठूलो मद्दत मिलेको उनको भनाइ छ ।

गोष्ठीमा बदलिँदो परिस्थितिमा नेपालमा क्रियाशील कानुनका प्रभावकारितामा देखिएका कमीकमजोरी औँल्याउने, उद्योग र रोजगारदातालाई परेका अप्ठ्यारालगायत माथि पनि छलफल हुनेछ । “नेपाल सरकारलाई कानुन लागू गर्ने दिशामा कहाँ अप्ठ्यारो परेको छ वा कानुन कहाँ संशोधन गर्नुपर्छ, लागू गर्न जिम्मेवार निकायले कस्तो योगदान गर्नुपर्छ भन्ने बारेमा छलफल हुनेछ”, अध्यक्ष आचार्यले भने ।

असल श्रम सम्बन्धका आधारमा नै उद्योगी र सरकारको अवस्थामा सुधार आउने भएकाले नेपालका श्रमिकका हक र हितको संरक्षण गर्दै थप रोजगारीका अवसर सिर्जना, नेपाल सरकारलाई आर्थिक रुपमा अझ बलियो बनाउन मद्दत पुगोस् भन्ने नेपालका सबै ट्रेड युनियनको साझा धारणा रहेको उनको भनाइ छ । “सरकार, रोजगारदाता र ट्रेड युनियन तीनवटै पक्षलाई एकै स्थानमा राखेर अन्तरक्रिया गर्नेछौँ”, उनले भने, “छलफलबाट प्राप्त सुझाव कार्यान्वयनका लागि नेपाल सरकार र रोजगारदातालाई पठाइने र ट्रेड युनियनका बीचमा पनि सहकार्यका लागि पठाउँछौँ ।”

कार्यक्रमको उद्घाटन सत्रमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले असल श्रम सम्बन्ध विस्तारमा देखिएका समस्या समाधान गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता समन्वय गरेर जानुपर्ने बताए । “असल श्रम सम्बन्ध कायम हुन नसक्नाका कारण पत्ता लगाएर पूर्ण रुपमा समस्याको समाधान गरेर मुलुकको हित निमित्त काम गर्न सरकार तयार छ”, उनले भने ।

उचित औद्योगिक सम्बन्ध स्थापना गर्न सरकारले नीतिगत प्रस्टता, संरचनात्मक व्यवस्था र कानुनी व्यवस्था गरेको जानकारी दिँदै उनले नेपालको संविधानले श्रम र रोजगारसम्बन्धी अधिकारको सुनिश्चितता गरेको बताए । श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन जारी गरी असल औद्योगिक सम्बन्ध स्थापनाको पहल गरिएको उनको भनाइ थियो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाली श्रमिकलाई जापानमा थप रोजगारीका अवसर उपलब्ध गराउन आफूहरु तयार रहेको बताए । प्रतिष्ठानका अध्यक्ष यसुनोवु ऐहराले नेपालको ट्रेड युनियनलाई मानव संसाधन विकास, व्यवसायजन्य सुरक्षा सचेतना, तल्ला तहका श्रमिकको आर्थिक र राजनीतिक पुनरोत्थानका लागि आफूहरुले सहयोग गर्दै आइरहेको बताए ।

नेपाल उद्योग वाण्ज्यि महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले श्रम सम्बन्धलाई बिग्रन नदिई थप सुमधुर बनाएर लैजानुपर्ने बताउनुभयो । श्रमिकका हक अधिकार सुनिश्चितताका लागि रोजगारदाता र ट्रेड युनियनबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले सुरक्षित कार्यस्थलको वातावरण बनाउन र श्रमिकबीच विभेद अन्त्य गर्न तयार रहेको बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपाध्यक्ष विदुर कार्कीले सरकार, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहमतिका आधारमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भए पनि रोजगारदाता इमान्दार नहुँदा श्रमिकलाई चुनौती थपेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL