Logo

उच्च आयात हुने वस्तुको नवौं स्थानमा पुग्यो स्मार्टफोन, ४ महिनामा ७ लाख २९ हजार थान आयात

उच्च आयात हुने वस्तुको नवौं स्थानमा पुग्यो स्मार्टफोन, ४ महिनामा ७ लाख २९ हजार थान आयात



काठमाडौं । वैदेशिक मुद्रा संचितिमा बढ्दो दबाब कम गर्न सरकारले जारी गरेको केही वस्तुमाथिको आयात प्रतिवन्धको असर स्मार्टफोन आयातमा देखिएको छ । गत आर्थिक बर्ष २०७७÷७८ मा धेरै आयात हुने वस्तुको तेस्रो स्थानमा रहेको स्मार्टफोन आयात चालु आवको सोही अवधिमा घटेर नवौं स्थानमा पुगेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गत बैशाखदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । जसमा महंगा मोबाइलको आयात पनि सामेल थियो । त्यसयता २ पटकसम्म आयात प्रतिवन्धको सूचना संशोधन गर्दा पनि महंगा मोबाईलको आयातमा लागेको प्रतिवन्ध कायमै छ । जसको प्रत्यक्ष असर मोबाइलको आयातमा देखिएको भन्सार विभागले जानकारी दिएको छ ।

विभागका अनुसार चालु आर्थिक बर्षको ४ महिना अर्थात गत साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा १० अर्ब १० करोड ९८ लाख ७३ हजार रुपैयाँ बराबरका ७ लाख २९ हजार ७ सय ९५ थान मोबाईल आयात भएका छन् ।

यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा रकममा ५०।३५ प्रतिशत र मोबाईलको थानमा ७२ प्रतिशतको कम हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको २६ लाख १ हजार ७ सय ८० थान मोबाईल आयात भएको थियो ।

कुन देशबाट कति आए मोबाईल

पछिल्लो ४ महिनामा मात्रै नेपालले विभिन्न ४८ मुलुकबाट नेपालमा स्मार्टफोन आयात गरेको छ । जसमध्ये सबैभन्दा बढि स्मार्टफोन चीनबाट ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ बराबरको ५ लाख ३५ हजार ७ सय ५० थान आयात भएको छ । यस्तै नेपालमा धेरै मोबाईल निर्यात गर्ने दोस्रो मुलुक भारत हो । यस अवधिमा भारतबाट नेपालमा २ अर्ब ६७ करोड ९३ लाख रुपैयाँ बराबरको १ लाख ८९ हजार ६ सय ४२ थान स्मार्टफोन मोबाई आयात भएको छ ।

यस्तै नेपालले दुवईबाट ७ सय ४३ थान, अमेरिकाबाट ६ सय १० थान, जापानबाट ६ सय ५९ थान, अष्ट्रेलियाबाट ३ सय २१ थान स्मार्टफोन आयात गरेको छ । यी विधिन्न देशबाट आयात गरिएका स्मार्टफोनबाट नेपालले ४ महिनामा १ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएको भन्सार विभागले जानकारी दिएको छ ।

सरकारले तरलतामा र वैदेशिक मुद्रा संचितिमा चाप परेको, व्यापारघाटा लगातार बढेको भन्दै महंगा मोबाईलको आयातमा प्रतिवन्ध लगाएको थियो । पछिल्लो समय विभिन्न वस्तुको आयातमा लगाएको प्रतिवन्धको असर समग्र व्यवसायमै देखिएसँगै सम्बन्धित व्यवसायीहरुले आयात प्रतिबन्ध हटाउन माग गर्दै आएका छन् ।

हाल महंगा मोबाईल, मदिरा, तास र गाडी आयातमा लगाईएको प्रतिवन्ध अझै जारी रहेपनि अवैध रुपमा नेपालमा अहिले पनि महँगा मोबाइल आयात हुने क्रम नरोकिएको र त्यसले नेपाली अर्थतन्त्रमा नै नकारात्मक असर पुगेको व्यवसायीले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL