Logo

प्रतिबद्धतामै सीमित बन्दै वैदेशिक लगानी : तीन महिनामा पौने दुई अर्बको प्रतिबद्धता, भित्रियो जम्मा ८ करोड

प्रतिबद्धतामै सीमित बन्दै वैदेशिक लगानी : तीन महिनामा पौने दुई अर्बको प्रतिबद्धता, भित्रियो जम्मा ८ करोड



काठमाडौं । पछिल्लो समय नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी घट्दो छ । उद्योग विभागमा आएको लगानीको प्रतिवद्धता र बैंकहरुमार्फत भित्रिएको रकमकै तुलना गर्दा पनि यसको अवस्था नाजुक देखिन्छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको तथ्यांकअनुसार यस अवधिमा नेपालमा खुद वैदेशिक लगानी जम्मा ८ करोड रुपैयाँ मात्रै भित्रिएको छ ।

laxmi

यो रकम उद्योग विभागमा आएको प्रतिवद्धताको तुलनामा १ अर्ब ७७ करोड रुपैयाँले कम हो । अर्थात, यही अवधिमा यता उद्योग विभागमार्फत भने कुल १ अर्ब ८५ करोड २७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको लगानी विदेशी कम्पनीहरुले लगानी फिर्ता लिएको लगानीको अन्तर हो ।

चालु आवको ३ महिनामा एक विदेशी कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ लगानी फिर्ता पनि लिएका कारण खुद वैदेशिक लगानी कम देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनका अनुसार चालु आवको पहिलो त्रैमासमा नेपालमा १ अर्ब ८८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । तर, एक कम्पनीले आफ्नो लगानी फिर्ता लिएपछि नेपालबाट फिर्ता भएको लगानीलाई आएको लगानीसँग घटाएर खुद वैदेशिक लगानी ८ करोड रुपैयाँ बचेको हो ।

गत आर्थिक बर्षको यहि अवधिमा भने प्रत्यक्ष वैदेशिक लगानीमार्फत भित्रिने खुद रकम ५ अर्ब ७ करोड रुपैयाँ बढी थियो । उक्त समयमा २३ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता उद्योग विभागमार्फत आएको थियो । अर्थात गत आर्थिक बर्षको पहिलो ३ महिनामा पनि कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताको तुलनामा भित्रिएको खुद रकम १८ अर्ब ७६ करोड रुपैयाँले कम थियो ।

यसरी हेर्दा गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता १२ गुणाले घट्दा भित्रिने रकम ७१ गुणाले घटेको छ । यसरी गत आवको तुलनामा खुद प्रत्यक्ष वैदेशिक लगानी घट्ने प्रक्रिया त छँदैछ त्यसमा पनि प्रतिवद्धता अनुसारको लगानी भने नभित्रिएको छर्लङ्गै देखिन्छ ।

यसका लागि केहिदिन अघि मात्रै उद्योग विभागले विनाकारण बसाई लम्ब्याउने विदेशीहरुको संख्या बढेको बताएको थियो । अर्थात्, तथ्यांकले नै देखाएको धेरैजसो विदेशी लगानीकर्ताहरु नक्कली लगानीकर्ता मात्रै हुन् । उनीहरु नेपालमा बसाई लम्ब्याउनका लागि उद्योग विभागमा लगानी प्रतिवद्धता ल्याउने र सोही अनुसार लगानी भने नभित्र्याउने परिपाटी बढ्दै गएको छ । त्यसैका लागि भन्दै विभागले विदेशी नागरिकहरुका लागि व्यवसायिक भिषा प्रणालीमा केहि कडाई गरिसकेको छ ।

यसअघिका तथ्यांकमा पनि जति लगानी उद्योग विभागमा प्रतिवद्धताका रुपमा आउँछ सोही अनुसार लगानी भने नभित्रिने गरेको विभागकै एक अधिकारीले बिजखबरलाई जानकारी दिए । ‘लगानी प्रतिवद्धता र भित्रिएको रकमको तुलना गर्दा अवस्था नाजुक देखिन्छ,’ उनले भने, ‘यसले लगानी प्रतिवद्धता गर्ने केहि विदेशी लगानीकर्ताहरु नक्कली लगानीकर्ता रहेको अनुमान गर्न सकिन्छ ।’

तर, धेरैजसो अवस्थामा भने लगानी प्रतिवद्धता आएकै समयमा लगानी नभित्रिनाले पनि भित्रिएको रकम केहि कम देखिएको हुनसक्ने उनले बताए । विदेशी लगानीकर्ताहरुले साउन भदौमा लगानी प्रतिवद्धता गरेको रकम मंसिर पुषसम्म पनि भित्रिने भएकाले सोही अवधिमा आएको प्रतिवद्धताको तुलना भित्रिएको रकमसँग गर्न नसकिने उनको भनाई छ ।

तर, धेरैजसो तथ्यांक अर्थात समायोजित तथ्यांकले पनि लगानी प्रतिवद्धताको तुलनामा आधामात्रै लगानी भित्रिने गरेको देखउने उनले बताए । विदेशी लगानीकर्ताहरुले साना लगानीका परियोजनाहरु दर्ता बढी गर्छन् । यसका लागि राजस्व पनि कम तिर्नुपर्ने र रकम नभित्र्याएपनि मतलव नहुने भएपछि धेरैजसो विदेशी लगानीकर्ताहरुले ५ करोडभन्दा कम पूँजी राखेर उद्योग विभागमा प्रतिवद्धता जाहेर गर्छन । जसको न अनुगमन हुन्थ्यो न नियमन । लगानीकर्ताले निश्चित अवधिका लागि व्यवसायीक भिषा लिने र लगानी नभित्र्याई उद्देश्यविपरित काम गर्ने गरेका थिए ।

त्यसैको नियमनका लागि भन्दै विभागले भिसा सिफारिस गर्दा ३ महिनापछि कम्पनी दर्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेलगायतका सर्तहरु राखिदिएको छ । यस्तै कम्पनी दर्ताको प्रमाणपत्र पेश भएको खण्डमा थप ३ महिनाका लागि भिसा रिन्युको रिफारिस गरिने नत्र नगर्नेसमेत निर्णय विभागले गरिसकेको छ । यस्ता सर्तले अब नक्कली विदेशी लगानीकर्ता नआउने आईहाले पनि सर्तबमोजिम काम नगरी भिषा नविकरण नहुने विभागको बुझाई छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म आएका कुल १२ विदेशी लगानीका परियोजनामध्ये ९ ओटा साना परियोजना छन् । यी ९ परियोजनामार्फत मात्रै ७० करोड २० लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएपनि यो प्रतिवद्धताको खास भर पर्न नहुने विभागको बुझाई छ । यस्तै यस अवधिमा १ ठुलो परियोजनामार्फत ९५ करोड र २ मझौला परियोजनामार्फत २० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL