Logo

वैदेशिक लगानी प्रतिवद्धता ९५ प्रतिशतले घट्यो, तीन महिनामा १ अर्ब ३० करोडको मात्रै प्रतिबद्धता

वैदेशिक लगानी प्रतिवद्धता ९५ प्रतिशतले घट्यो, तीन महिनामा १ अर्ब ३० करोडको मात्रै प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक बर्षको सुरुवातमै वैदेशिक लगानी प्रतिवद्धतामा संकुचन आएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक लगानी प्रतिवद्धतामा उच्च गिरावट आएको हो ।

laxmi

चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोज मसान्तसम्म विभिन्न देशबाट नेपालमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो गत वर्ष सोही अवधिमा आएको कुल वैदेशिक लगानीको जम्मा साढे ५ प्रतिशत मात्रै हो । अर्थात नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता गत आवको पहिलो ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ९४.५४ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्ष २०७८÷७९ मा भने विभिन्न देशबाट नेपालमा २३ अर्ब ८२ करोड रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । जसमध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा १० अर्ब ३७ करोड र त्यसपछि पर्यटन क्षेत्रमा ९ अर्ब ३० करोड बढीको लगानी प्रतिवद्धता आएको थियो ।

गत आवको पहिलो ३ महिनाको अवधिमै १ सय १० परियोजनामार्फत आएको लगानी प्रतिवद्धतामार्फत ७ हजार २ सय ९० जनाले रोजगारी पाउने बताइएको थियो । चालु आवको पहिलो ३ महिनामा भने गत आवको तुलनामा क्षेत्रगत लगानी प्रतिवद्धतामा समेत ठुलो गिरावट आएको देखिन्छ । उद्योग विभागका अनुसार चालु आवको साउन, भदौ र असोज महिनामा सेवा क्षेत्रमा १ अर्ब १० करोड र पर्यटन क्षेत्रमा जम्मा ५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आवको तुलनामा झण्डै क्रमशः ९ अर्ब २७ करोड र ९ अर्ब २५ करोड रुपैयाँले कम हो ।

चालु आवको ३ महिनामा जम्मा ७ परियोजनामार्फत ४ सय ५४ जनाले रोजगारी पाउने बताइएको छ । यस अवधिमा आएको प्रस्तावहरुमध्ये २ ओटा कार्गाे ह्यान्डलिङसम्बन्धी परियोजना, एउटा सफ्टवेयर कम्पनी, एउटा होटल, एउटा आन्तरिक डिपो संचालन गर्ने, एउटा तयारी पोशाक उद्योग र एउटा विज्ञापन सेवा प्रदान गर्ने कम्पनी रहेका छन् । यी परियोजनामध्ये सबैभन्दा धेरै लगानी भने कार्गाे ह्यान्डलिङ सेवा प्रदान गर्ने परियोजनामा आएको देखिन्छ । साउन ३० गते उद्योग विभागमा दर्ता भएको उक्त परियोजनाले ९५ करोड रुपैयाँ लगानी ल्याई २ सय मेट्रिक टन कार्गाे ढुवानी सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

यस अवधिमा नेपालमा बंगलादेश र चीनबाट २÷२ परियोजना र भारत र सिंगापुरबाट १÷१ परियोजनामार्फत लगानी प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ । यी देशमध्ये सबैभन्दा बढी प्रस्ताव सिंगापुरले ९५ करोड रुपैयाँ बराबरको गरेको छ भने बंगलादेशबाट २० करोड, चीनबाट १० करोड र भारतबाट ५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL