Logo

एक महिनामा तरकारीको मूल्य १२० प्रतिशतसम्मले बढ्यो, तोकिएको मूल्यमा कालिमाटीमै पाइदैन

एक महिनामा तरकारीको मूल्य १२० प्रतिशतसम्मले बढ्यो, तोकिएको मूल्यमा कालिमाटीमै पाइदैन



काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा तरकारीको मूल्य प्रतिकिलो १ सय २० प्रतिशतसम्मले बढेको छ । चालु आर्थिक बर्षको साउन १ गतेको तुलनामा साउन मसान्तमा तरकारीको मूल्य प्रतिकिलो १ सय २० प्रतिशतसम्मले बढेको हो । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीका अनुसार हरियो धनियाको मूल्य भने उक्त एक महिनाको अवधिमा ६०० प्रतिशतले बढेको छ । साउन १ गते प्रतिकिलो ६३ रुपैयाँमा विक्रि भएको हरियो धनिया साउन ३१ गते प्रतिकिलो ६ सय १० रुपैयाँमा विक्रि भइरहेको छ ।

दैनिक उपभोग गरिने तरकारीको मूल्यमा उक्त अवधिमा हरियो धनियाँ पछि सबैभन्दा बढि जिरीको साग १ सय २३ प्रतिशतले बढेको छ । साउन १ गते ८५ रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको जिरिको साग मसान्तमा १ सय ९० रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको छ । यस्तै कुरिलोको मूल्य एक महिनाको अवधिमा ७२ प्रतिशतले बढेको छ । साउन १ गते कुरिलो प्रतिकिलो २ सय ७५ रुपैयाँमा विक्रि भइरहेकोमा साउन ३१ गते ४ सय ७५ रुपैयाँमा विक्रि भइरहेको छ । हरियो खुर्सानी र बोडी ४५ रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेकोमा प्रतिकिलो ६६ प्रतिशतले बढ्दै प्रतिकिलो ७५ रुपैयाँमा विक्रि भइरहेको छ ।

यस्तै रायो सागको मूल्य यो अवधिमा दोब्बरले बढ्दै प्रतिकिलो १ सय ६५ रुपैयाँमा विक्रि भइरहेको छ । साउन १ गते को तुलनामा साउन ३१ गते अदुवा र हरियो खुर्सानी ३६ प्रतिशतले बढ्दै ७५ रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको छ । यस्तै आलु रातो, भिण्डी र सेतो मुलाको मूल्यमा पनि २० देखि ३० प्रतिशतले मूल्य बढेको छ । १ महिनाको अवधिमै ब्रोकाउली र रुख कटहरको मूल्य ३० देखि ३५ प्रतिशतले बढ्ेको छ ।

तरकारीको मूल्य निर्धारण कालीमाटी तरकारी बजार तथा विकास समितीले गर्ने गरेको छ । विकास समितिले तोकेकै मूल्यमा कालिमाटी तरकारी बजारमै पनि तरकारी किन्न पाईदैन । यसका साथै विकास समितिले तोकेको मूल्य भन्दा खुद्रा तरकारी व्याबसायीले बेच्ने तरकारीको मूल्यको अन्तर रहनुमा अनुगमन र कारवाही फितलो रहदा उपभोक्ता दैनिक रुपमा महंगो तरकारी किन्न बाध्य भएका छन ।

यस्तै एक महिनाको अवधिमा केहि तरकारीको मुल्य भने घटेको छ । उक्त समयमा घटेका तरकारीमध्ये भटमासकोसा भने प्रतिकिलो मूल्य दोब्बर बढीले घटेको हो । साउन १ गते १ सय ६५ रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको भटमासकोसाको मूल्य साउन मसान्तमा ७५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । सोही अवधिमा लौका प्रतिकिलो १९ रुपैयाँ, मकैवोडी प्रतिकिलो २० रुपैयाँले घटेको छ । स्कुस, सुकेको प्याज, परवर, हरियो प्याजको मूल्य ५ प्रतिशत सम्मले घटेको छ । यस्तै सोहि अवधिमा रातो मुला प्रतिकिलो १० रुपेयाँले घटेको छ भने कागती प्रतीकिलो ४५ रुपैयाँले घट्दै प्रतिकिलो २ सय ३० रुपैयाँमा विक्रि भइरहेको कालीमाटी तरकारी बजार तथा विकास समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL