Logo

भारतमा निर्यात हुन छाडेपछि नेपाली उपभोक्तालाई राहत, प्रतिलिटर ३० देखि ४० रुपैयाँले घट्यो खानेतेलको मूल्य

भारतमा निर्यात हुन छाडेपछि नेपाली उपभोक्तालाई राहत, प्रतिलिटर ३० देखि ४० रुपैयाँले घट्यो खानेतेलको मूल्य



काठमाडौं । भारतमा नेपाली खानेतेलको मूल्य प्रतिस्पर्धामा पछि परेसँगै नेपाली उपभोक्तालाई राहत भएको छ । तेस्रो मुलुकबाट कच्चा खानेतेल ल्याई नेपालमा प्रशोधन र प्याकिङ गरिरहेका उद्योगीहरुले नेपाली उपभोक्तासँग उच्च मूल्य असुलिरहेका थिए । नेपालमा प्रशोधन गरिएको तेल भारतमा महँगो मूल्यमा जाने भएपछि उद्योगी तथा प्रशोधनकर्ताहरुले नेपालीभन्दा भारतीय बजारलाई बढी प्राथमिकतामा राखेर खानेतेलको व्यापार गरिरहेक थिए ।

laxmi

तर, पछिल्लो समय भारतीय बजारमा तेल सस्तो भएसँगै नेपाली उद्योगीले भारतमा तेल निर्यात गर्न सकेका छैनन् । भारतमा तेल निर्यात नभएपछि दिनप्रतिदिन उद्योगमा तेलको भण्डारण बढ्दै गएका कारण सस्तो मूल्यमा नेपाली बजारमा उद्योगीहरुले तेल पठाउन थालेका हुन् । यसका कारण करिव १ हप्ता अघिको तुलनामा नेपाली उपभोक्ताले खानेतेल प्रतिलिटर ३० देखि ४० रुपैयाँ कममा खरिद गर्न पाईरहेका छन् ।

रुस र युक्रेनबीचको द्वन्द चर्किएका बेला अन्तरराष्ट्रिय बजारमै कच्चा खानेतेलको मूल्य बढेको भन्दै नेपाली प्रशोधनकर्ताहरुले बजारमा तेलको मूल्य बढाएर पठाएका थिए । जसका कारण नेपाली बजारमा खानेतेलको मूल्य एक वर्षकै अवधिमा १६० प्रतिशतसम्म बढ्दै औसतमा प्रतिलिटर ३ सय ४० रुपैयाँसम्म पुगेको थियो ।

यसै अवधिमा कच्चा तेल, सुर्यमुखी, भटमास र तोरीको गेडाको ठुलो निर्यातकर्ता रुस र युक्रेन नै युद्धमा होमिएपछि स्वभाविकैले खानेतेलको मूल्य विश्वबजारमा नै बढेको थियो । त्यसमाथि केही देशहरुले आफ्नो देशमा खानेतेलको अभाव नहोस र मूल्य नबढोस भन्नका लागि तेलको निर्यात बन्द गरेका थिए । जसका कारण भारत, नेपाललगायतका देशमा खानेतेलको मूल्य अत्याधिक वृद्धि भएको थियो । यही मौकामा नेपालका खानेतेल प्रशोधनकर्ताहरुले भारतमा तेल निर्यात गरेर मनग्य आम्दानी गर्न सफल भएका थिए ।

विश्वबजारमा खानेतेलको व्यापार सहज भएसँगै आन्तरिक बजारमा मुल्यवृद्धि सन्तुलनमा ल्याउनका लागि भारतले तेल आयातमा लाग्ने आयात शुल्क घटाएको थियो । यसको प्रत्यक्ष असर नेपालका तेल प्रशोधनकर्ताहरुलाई पररेको छ । भारतमा तेलको आयातशुल्क घट्नेवित्तिकै त्यहाँ तेलको मूल्यमा गिरावट आएको छ । नेपाली प्रशोधनकर्ताहरुले बेचिरहेको मूल्यभन्दा कम मूल्य पाइने भएपछि लागत मूल्य पनि उठ्ने सम्भावना नदेखिएपछि भारतामा निर्यात बन्द गरेका छन् । । अहिले त्यसैको फाईदा नेपाली उपभोक्तालाई परेको देखिन्छ । ‘भारतले नकिनिदिएको तेल भण्डारण भएर बसेको थियो’, एक उद्योगीले भने–‘सोही तेल नेपाली बजारमा कम मूल्यमा पठाईएको हो ।’

भारतमा नेपाली तेलको मूल्य उच्च भएपछि विक्री हुनै छोडेको करिव २ देखि ३ महिना भएको उनले बताए । हाल तेल प्रशोधनकर्ताहरुले नेपाली डिलरलाई प्रतिकार्टुन तेल औसतमा ६ देखि ७ सय रुपैयाँसम्म घटाएर पठाईरहेका छन् । यसरी उद्योगीहरुले डिलर र थोक तथा खुद्रा विक्रेताहरुलाई तेलको मूल्य घटाएर पठाएपछि बजारमा तेलको उपभोक्ता मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँले घटेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।

भारतले नकिनिदिएको तेल नेपाली बजारमा विक्री गर्नुपर्ने बाध्यताका बीच तेल प्रशोधनकर्ताहरुले तेलको मूल्य घटाएको हुनसक्ने उनको अनुमान छ । तर, प्रशोधनकर्ताहरुले तेलको मूल्य घटाएकै दिनसम्म पुरानो मूल्यमा बेचिरहेको तेल बजारमै भएका कारण केही खुद्रा व्यापारीहरु भने मर्कामा परेका छन् ।

‘बजारमा तेलको मूल्य घटिसकेको हल्ला फैलिईरहँदा बढेको मूल्यमा किनेको तेल पनि मूल्य घटाएर बेच्नुपर्ने बाध्यता व्यापारीलाई छ,’ उनले भने, ‘यस्तो बेलामा व्यापारीहरुले घाटा खाएरै उपभोक्तालाई सस्तो मूल्यमा तेल दिनुपर्ने हुन्छ, कतिपयले त पहिलेकै मूल्यमा पनि बेचिरहेका हुन्छन् ।’

नेपाली खानेतेल प्रशोधनकर्ताहरुले अर्जेन्टिना, ब्राजिल, रुस, युक्रेन, इन्डोनेसियालगायतका देशबाट कच्चा तेल र तेलहनका दाना ल्याएर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । भारतीय बजारमा उचित मूल्य पाएपछि लगातार पछिल्लो ३ बर्षदेखि नेपालको निर्यातमा प्रशोधित तेलको हिस्सा ८० प्रतिशतसम्मै पुग्ने गरेको छ । तर, भारतमा हुने तेलको निकासी रोकिएपनि नेपालको निर्यात व्यापार खुम्चिने जानकारहरु बताउँछन् । यता नेपाली बजारमा केहिदिन अघि प्रतिलिटर ३ सय ३० रुपैयाँसम्म पुगेको खानेतेलको मूल्य हाल घटेर २ सय ८५ रुपैयाँसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL